आखिर कास्मिरबाट के चाहन्छ भारत ?

आखिर कास्मिरबाट के चाहन्छ भारत ?

काठमाडौं । भारत प्रशासित कास्मिरमा चरमपन्थी संगठन हिज्बुल मुजाहिद्दिनका कमान्डर बुरहान बानीको हत्यापछि कास्मिर घाटीमा भइको प्रदर्शनका क्रममा हालसम्म ५० भन्दा बढी कास्मिरी निहत्था जनताको ज्यान गइसकेको छ भने यो प्रदर्शनका क्रममा हालसम्म ३४ सय भन्दा बढी मानिसहरु घाइते भएका छन् ।

यिनीहरुमध्ये सबैभन्दा दर्दनाक अवस्था तिनीहरुको भएको छ, जसको आँखा र अनुहारमा गोली, बारुदका छर्रा लागेर अझै अस्पतालको बेडमा छटपटाइरहेका छन् र पर्याप्त औषधी उपचार पाइरहेका छैनन् । सुरक्षाकर्मीको हातबाट यति ठूलो संख्यामा कास्मिरी युवाको मृत्यु र घाइते हुँदा समेत भारत सरकार मौन छ ।

केही समाचारपत्रमा सम्पादकीय र लेख प्रकाशित भए र सुरक्षाकर्मीको ज्यादतीको उल्लेख भयो । कास्मिरका सम्बन्धमा अधिकांश टिभी च्यानलले आक्रामक राष्ट्रवादको खोक्रो नारा दिए । उनीहरुको चर्चामा कास्मिरी युवाको मृत्यु त्यति ठूलो विषय बनेन बरु उनीहरुले कास्मिरमा प्रदर्शनमा उत्रिने सबैलाई आतंकवादी र आतंकवादीको समर्थक देखे ।

सामाजिक सञ्जालमा समेत ठूलो संख्यामा यस्तो सन्देश प्रवाह गरियो कि प्रदर्शन गर्ने युवाहरु देशद्रोही हुन् र उनीहरुको मृत्यु सही थियो । तर कास्मिर यस्तो अवस्थाबाट गुज्रिएको छ, जहाँ भारत सरकार र कास्मिरबीच संवाद पूर्ण रुपमा टुट्दै गएको छ । कास्मिरमा प्रदर्शन, सभा, बैठक र विरोध/प्रतिरोधका सबै लोकतान्त्रिक तरिकामाथि प्रतिबन्ध लगाइएको छ अथवा यसो भनौं कि कास्मिरका विद्रोहीका सबै गतिविधि गैरकानुनी छन् ।

भारत–पाकिस्तान कन्ट्रोल लाईनमाथिको उच्च निगरानी तथा पाकिस्तानको नीतिमा आएको परिवर्तनका कारण लोकतान्त्रिक आन्दोलनको बाटो लगभग बन्द भइसकेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अहिलेसम्म उनको कास्मिरबारे नीति के हो भन्ने बारेमा कुनै कदम अघि बढाएको छैन ।

मनमोहन सिंहको सरकारका पालमा पनि यस्तै अवस्था थियो । अटल बिहारी वाजपेयी बाहेक कुनैपनि नेताले कास्मिरको समस्या समाधान गर्नेबारेमा कुनै गम्भीर कोशिश गरेनन् । केन्द्रमा भाजपा सरकार छ र कास्मिरमा पनि भाजपा संयुक्त सरकारमा नै छ ।

यो सबैलाई थाहा छ कि कास्मिर समस्या समाधान पाकिस्तानसँग सम्बन्ध सुधार गर्नसँग सम्बन्धित पनि छ । तर १० वर्षसम्म मनमोहन सिंहको सरकारलाई पाकिस्तानसँग सम्बन्ध राम्रो बनाउन कुनै काम गरेन । पछिल्ला दुई वर्षमा जुन सम्बन्ध बचेको थियो त्यो पनि सकिदै गएको छ र १५–२० वर्ष यत्तिकै बर्बाद भएको छ । यो अवधिमा कास्मिरमा एक नयाँ पिढी जन्मेर किशोरअवस्थाबाट युवाअवस्थातिर प्रवेश गरिसक्यो । यो सबै हेरिरहेको यो पुस्ता भारतको सौतेनी व्यवहारबाट आजित छ ।

उनीहरुलाई विश्वास दिलाउने कुनै काम गर्न नसकेका कारण युवा पुस्तामा भारतप्रतिको आशावादिता हराउँदै गएको छ । पछिल्ल ७० वर्ष कास्मिर घाटीका जनता भारतसँग कहिल्यै यति आक्रोशित भएका थिएनन्, जति अहिले चिढिएका छन् । भारतमा कास्मिरीका लागि कुनै प्रकारको सहानुभूतिको भाव नदेखिनु अहिले चर्किएको आन्दोलनको प्रमुख कारण मध्ये एक हो ।

भारतका कथित राष्ट्रवादी अहिलेको पुस्तामा कास्मिरी युवा आतंकवादी, सम्प्रदायिकतावादी, पाकिस्तानका समर्थक र देशका दुस्मन भन्दा बढी केही होइनन् । उनीहरुको मृत्यु हुनु, अंन्धो बन्नु र अपांग हुनुमा कुनै सहानुभूति छैन बरु कास्मिरी जनतामाथि गोली बर्साउने सेनाले कठिन अवस्थामा पनि काम गरेको भन्दै प्रशंसा भइरहेको छ । यसले नै कास्मिरी जनतामाथि भारत र भारतीयको दृष्टिकोण झल्किन्छ ।

यो एक पूर्ण गतिरोधको अवस्था मात्रै नभई कास्मिरी जनतामाथि अन्यायको उपज पनि हो । कास्मिरी जनताका लागि सारा अभिव्यक्तिको बाटो छेकिएपछि सिर्जित परिणाम हो कास्मिरको आन्दोलन । बुरहान बानी यस्तै बाध्यताका एक प्रतिबिम्ब थिए र भारतीय सुरक्षाकर्मीको गोलीबाट उनी मारिए ।

उनको समर्थनमा निस्किएका लाखौं युवाको आवाज त्यसको प्रतिबिम्ब हो । त्यसलाई सम्बोधन गर्ने र कास्मिरमा दीर्घकालीन शान्ति र भारतप्रति आशावादिता कायम राख्न भारत सरकार पूर्णतः असफल भइरहेको छ । यसकारण भारतलाई कास्मिर र त्यहाँको प्राकृतिक सम्पदा चाहिएको छ । त्यो प्राकृतिक सम्पदाका लागि कास्मिरको जमिन चाहिएको छ, कास्मिरी जनता होइन । (एजेन्सीको सहयोगमा)