काठमाडौं । महानगरको प्रहरीसँग विवादपछि शरीरमा आगो लगाउँदा मृत्यु भएका गणेश नेपालीलाई सहिद घोषणा गर्न उनको परिवारले माग गरेको छ। सरकारी प्रतिनिधिहरूसँग भएको छलफलमा परिवारका सदस्यले सहिद घोषणालगायत माग राखेका छन्।
नेपालीका आमा–बुबासमेत शुक्रबार मुगुबाट काठमाडौं आइपुगेका छन्। आमा–बुबालगायत परिवारका सदस्यसँग शुक्रबार जिल्ला प्रशासन कार्यालयमा छलफल भएको थियो। छलफलमा सहिद घोषणा, दोषीलाई कारबाही, राहत, रोजगारीलगायतका विषयमा छलफल भएको स्रोत बताउँछ। मागमा सरकारी पक्ष सकारात्मक भएपछि सहमति नहुँदा परिवारले शनिबारसम्म शव बुझेका छैनन्।

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। परिवारको सहमति नभएकाले पोस्टमार्टम पनि हुन नसकेको स्रोत बताउँछ।
यसैबिच, स्रोतका अनुसार सरकार पक्षले गणेशको शव बुझ्न दबाब दिएको भन्दै शोकमा रहेका उनका बुबाले पनि आफ्नै घाँटी न्याकेर आत्महत्याको प्रयास गरेका थिए । घटनास्थलमा रहेका आफन्तले तत्काल सम्झाएर उनलाई त्यसो गर्नबाट रोकेका थिए।
गणेशका परिवार र सरकार पक्षबीच शुक्रबारदेखि शनिबारसम्म पटक–पटक वार्ता भए पनि सहमति जुट्न सकेको थिएन । गणेशको परिवारलाई सिडिओ कार्यालयभित्र वार्ताका लागि लगिए पनि त्यहाँ अन्य व्यक्तिलाई प्रवेश गर्न दिइएको थिएन ।
गणेश नेपालीको मृत्युपछि उनको न्याय र राज्यबाट हुने अन्यायविरुद्ध देशव्यापी आवाज उठिरहेको छ।





























