० तपाईको स्वास्थ्य अवस्था अहिले कस्तो छ ?
–लामो समयसम्म अस्पतालमा बस्नु प¥यो । म अहिले अस्पतालबाट घर फर्किएको छु । स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएको छ ।
० तपाईको उपचारमा संलग्न डाक्टरहरुले के सल्लाह दिनु भएको छ ?
– खाना नियमित खाने दिनमा ४ पटक खाने, बरु थोरै थोरै खाने । नियमित औषधि सेवन गर्ने । नियमित एक्सरसाइज पनि गर्ने । यस्तै सल्लाह डाक्टरहरुले दिनु भएको छ ।
० तपाईका इस्टमित्र, शुभचिन्तकहरु र पार्टीका साथीहरुले वैद्यजीको दिन चर्या कसरी चलेको होला भनेर चासो राख्नुहुन्छ । यहाँको दिनचर्या कसरी चलेको छ ?
–विहान उठेर एक्सरसाइज गर्छु ।मलाई डाक्टरहरुले थेरापी गर्न भन्नुभएको छ । थेरापीतिर लागिरहेको छु । दिनमा थोरै थोरै चार पटक खाने कुरा खान भन्नुभएको छ । विहान ९÷१० बजेतिर खाना खाएपछि केही समय आराम गर्छु । त्यसपछि दिउँसो १२÷१ बजेतिर साथीहरु, इष्टमित्र भेटघाट गर्न आउनुहुन्छ ।उहाँहरुसित कुराकानी गर्छु साथीहरु आउनु भएन भने म लेख पढ गर्ने काममा लाग्छु । बेलुकी १० बजेतिर सुत्छु । यसरी नै मेरो दिनचर्या चलिरहेको छ ।
० अध्ययन लेखनमा स्वास्थ्यले साथ दिएको छ ?
–स्वाथ्यले साथ दिएसम्म सकभर लेख्ने पढ्ने काम गरिरहेकै छु ।
० रातिमा निन्द्रा लाग्छ ?
–निन्द्राको समस्या छैन । लाग्छ । अलिबढी व्यक्तिगत कुराकानी गरिनेछ । यो अन्तर्वार्तालाई त्यसअनुसार नै बुझ्नु होला । बाल्यकालमा यहाँले के बन्ने सपना बोक्नु भएको थियो ? सपना के थियो के हुनुभयो ?
बाल्यकालमा मेरो सपना शिक्षक बन्ने थियो । सुरुमा म शिक्षक पनि भएँ । करिब ५÷६ वर्ष शिक्षक भएँ । दाङमा मैले तीन ठाउँमा पढाएँ। सुरुमा दाङको हलुवार भन्ने ठाउँको प्रा.वि.मा पढाएँ । त्यसपछि केही महिना तुलसीपुर भन्दा माथि अम्बास भन्ने ठाउँको निम्न माध्यमिक विद्यालयमा पढाइयो । त्यसपछि तुलसीपुर भन्दा दक्षिण पश्चिम तिरको बेलगनाथतिर निमाविमा केही महिना पढाएँ । प्यूठानको जनता मावि बाग्दुलामा पढाएँ । त्यसपछि प्यूठानमा स्वर्गद्वारी क्याम्पस स्थापना गर्नतिर लागियो र त्यहाँ पढाइयो । राजीतिक जिम्मेवारी पूरा गर्नेपर्ने भएपछि शिक्षक रहिरहन सकिएन ।
० शिक्षक आन्दोलनमा पनि लाग्नु भयो कि ?
–म शिक्षक हुने बेला नेपालमा शिक्षक संगठन थिएन । आन्दोलन पनि भएन । आन्दोलन र संगठन नभएपछि शिक्षक आन्दोलनमा पनि लागिएन ।
० यहाँले आफूले आफैलाई मूल्यांकन गर्नुपर्दा मेरो सवल पक्ष यो हो, मेरो दुर्वल पक्ष यो हो भन्ने लाग्छ होला नि ?
– त्यस कुराप्रति मैले त्यति ध्यान दिएको छैन । तैपनि कुनै काममा लागेपछि निरन्तर त्यो काममा खटिरहने, इमान्दारपूर्वक नै काममा लाग्ने, कुनै पनि चीज पढ्नु लेख्नु प¥यो भने त्यसमा पनि गहिरिएरै लाग्ने, पार्टीको जिम्मेवारीको काममा पनि दिलोज्यानले नै लाग्ने मेरो बानी छ । यो मेरो सवल पक्ष हो जस्तो लाग्छ । देश र जनताको हितप्रति समर्पण मेरो सवल पक्ष हो जस्तो लाग्छ । कतिपय अवस्थामा उदारवादी कमजोरी पनि छ जस्तो लाग्छ । अर्को मेरो अलि रिसाउने बानी छ । त्यो पनि मेरो दुर्वल पक्ष हो जस्तो छ ।
० यहाँको जीवनको दुःखद क्षण के छ ?
–व्यक्तिगत वा पारिवारिक पक्षबाट जीवनको दुःखद क्षण के छ भने कपिल नाम गरेको एउटा सानो छोरा थियो, ऊ दुई वर्षकै उमेरमा बित्यो । त्यो घटना धेरै दुःखद घटना हो । यता पार्टी संगठनमा जनयुद्ध कालमा धेरै राम्रा र होनहार कामरेडहरुले सहादत प्राप्त गर्नुभयो । ती साथीहरुको मृत्युका घटना अत्यन्त दुःखद क्षणहरु हुन् ।
० यहाँको जीवनको खुसीको सुखद क्षण के छ ?
–त्यसप्रति धेरै सोचेको छैन । तैपनि जनयुद्ध वा आन्दोलनका क्रममा सफलताहरु प्राप्त हुँदा वा संघर्षका सफलता, संगठनको प्रगतिको घटनाले मलाई खुशी लाग्थ्यो । अध्ययन लेखनमा रुची भएकाले प्रकाशनका कार्यबाट पनि मलाई खुशी लाग्छ ।
० तपाईलाई कस्तो गुण ÷चरित्र भएको मान्छे मन पर्छ ?
–म आफू आन्दोलनमा लागेको हुनाले आन्दोलनप्रति निष्ठावान, इमान्दार, लगनशील मान्छे मलाई मन पर्छ । अध्ययनशील, मिहेनती साथीहरु मन पर्छ ।
० तपाईको जीवनको रुचीका क्षेत्रहरु के के हुन् ?
–अध्ययन, लेखन र पार्टी काम मेरो जीवनको रुचीका क्षेत्र हुन् ।
० यहाँले धेरै पटक पढेको पुस्तक कुन हो ?
– आवश्यकता अनुसार एउटै पुस्तकलाई धेरै पटक पढ्न सकिन्छ र पढ्नुपर्ने हुन्छ । तर मैले अलि बढी दोहो¥याएर पढेको पुस्तक मेक्सिम गोर्कीको “आमा” हो । लेनिन र माओका दर्शनसम्बन्धी रचनाहरु मैले धेरै पटक दोहो¥याएर पढेको पुस्तकहरु हुन् । लेनिनको अंग्रेजी संस्करणको भोलुम ३८ धेरै उत्कृष्ट लाग्छ । त्यहाँ लेनिनले हेगेलको द्वन्द्ववाद माथि राम्रैसित चर्चा गरेका छन् ।
० तपाईलाई मन परेका गीत, कविता ?
–गीत सुन्दा राम्रै लाग्छ । आफूलाई गाउन आउँदैन । प्रगतिशील गीतहरु मन पर्छ । पहिले मलाई लेखनाथ पौडेल, गोपाल रिमाल र लक्ष्मीप्रसाद देवकोटाका कविता मन पथ्र्यो । पछिल्लो अवधिमा इच्छुकका कविताहरु मन पथ्र्यो ।
० मन परेको फिल्म ?
–पहिले पहिले हेरियो कहिले कांही । तर फिल्मतिर मेरो खासै रुची भएन ।
० युवाकालमा खेल खेल्नु भयो कि ?
–कहिलेकांही खेलिन्थ्यो । चेस, भोलिवल, फुटवल र व्याडमिन्टन म युवा छँदा खेलेको थिएँ ।
० यहाँको विवाह ?
–२०३१ सालमा जेलबाट छुटेपछि अर्घाखाँचीबाट सुष्मा आचार्यसित विवाह भयो । मोटामोटी प्रगतिशील खालको विवाह भएको थियो ।
० यहाँको जेलजीवनबारे ?
–म ४ पटक जेल परें । सुरुमा दाङमा शान्ति सुरक्षा ऐन अन्तर्गत राखेको थियो । ५÷६ महिना राख्यो । दोस्रो पटक प्यूठानमा पक्रियो । त्यतिखेर पनि ६÷७ महिना राख्यो । तेस्रो पटक २०२९ सालतिर पोखराबाट पक्राउ ग¥यो । पोखराबाट हुलाक सार गर्दै प्यूठान हुँदै सल्यान पु¥यायो । चौथो पटक, २०६० सालमा भारतको सिलगुढीबाट पक्रियो । ०६३ सालसम्म त्यहाँ राख्यो । म आँखा अपरेशन गर्न सिलगुडी गएको थिएँ । सुष्माहरु कोठामै थिए । उपचार गर्न गएको दोस्रो दिन म र प्रचण्डका ज्वाई नारायणलाई पक्रियो र फरक फरक ठाउँमा राख्यो ।
० युद्धकालमा सुष्मा मेडमले के गर्नु भयो ?
–मसित सँगै पार्टी काममा ।
० नानीहरु छोरीहरु नि ?
–छोरीहरुले स्कूल फेर्दै पढ्दै गरें । मेरो नाम जानकारी नगराइकन भर्ना गरिएको थियो त्यो कुरा सीमित मान्छेलाई बाहेक अरुलाई थाहा भएन ।
० यहाँले पार्टी सदस्यता कहिले प्राप्त गर्नुभयो ?
–२०२२ सालमा । २०२१ सालमा निवेदन दिएको थिएँ । म पार्टीको दाङको जिल्ला स्तरीय सम्मेलनमा प्रतिनिधि भएँ । म पार्टीका विद्यार्थी युनिटमा थिएँ ।
० चीनको सर्वहारा सांस्कृतिक क्रान्तिको नेपालमा प्रभावबारे यहाँलाई के जानकारी छ ? जेलमा पनि सांस्कृतिक क्रान्तिबारे छलफल हुन्थ्यो कि ?
–म त्यतिबेला पार्टीमा आबद्ध भइसकेको थिएँ । खोजी खोजी पेकिङ रेडियो सुनिन्थ्यो । चीनबाट आएका पुस्तकहरु, अनुवादित कृतिहरु पढ्न पाइन्थ्यो । म जेलमा छँदा सांस्कृतिक क्रान्तिबारे छलफल हुन्न थियो । पछिल्लो पटक दाङ र सल्यानमा जेलमा बस्दा धेरै जसो कांग्रेसीहरु थिए । कम्युनिस्ट म मात्रै थिएँ । काँग्रेसहरुले कम्युनिस्टहरुलाई आलोचना गर्थे । जेलमा वैचारिक भिन्नता भए पनि फेरि मिलेरै बस्नु पर्दथ्यो ।
० ०६९ मा पार्टी विभाजनपछि पनि त चीन भ्रमण जानुभयो नि ? उनीहरुको मुख्य चासो के थियो ?
–उनीहरुले पार्टी विभाजन भएकोमा चिन्ता गरेका थिए । नफुट्नु पर्ने भन्थे । चीन भ्रमणमा उनीहरुले चीनको विकास, त्यहाँको प्रशासन संचालनको तौर तरिका देखाउने, बताउने गरेका थिए ।
० पुराना पुस्ताका नेताहरुको के स्मरण छ ।
– पुष्पलाललाई देख्न मात्र पाइयो । तर संगत गर्न पाइएन । केशरजंगसँग भेट भइएन । शम्भुराम श्रेष्ठसँग राम्रै सित भेटघाट भयो । मनमोहन अधिकारीसित सबभन्दा पहिले विराटनगरमा भेट भयो । पछि काठमाडौंमा भेटियो । मोहन विक्रम सिंहजीसित त लामो समय एउटै पार्टीमा सँगै काम गरियो ।
भरतमोहन अधिकारीसँग पनि संगत भयो । तुलसीलालजी दिल्लीमा बस्नुहुन्थ्यो । डेरा खोज्दै गएर भेटेको थिएँ, पार्टी काम गर्दा खेरी । डिपी अधिकारीलाई धेरैपछि मात्र भेट भएको थियो ।
० सुरुमा के चीजले तपाई राजनीति प्रति आकर्षित हुनुभयो ?
–विद्यार्थीकालमा भूमिगत समय थियो । जनता महाविद्यालय विजौरीमा पढ्दाखेरी विद्यार्थी साथीहरुको संगतले म कम्युनिस्ट राजनीतिमा लागेको हुँ । त्यसबेला त्यहाँ छात्र संघ थियो । छात्रसंघको तल्लो कमिटीमा बसें । तर त्यो अलि बढी कांग्रेस पक्षधर रहेछ तर अरु पनि बस्न पाउने खालको विद्यार्थी संगठन थियो । अनेरास्ववियु गठन हुँदा मेरा विद्यार्थी जीवन पनि सकियो । प्यूठानका खड्गबहादुर जि.सी.ले अनेरास्ववियुकोबारेमा धेरै कुरा गर्नुहुन्थ्यो । तर उहाँपछि पञ्च हुनुभयो ।
० पार्टीका साथीभाइहरुलाई अहिलेको अवस्थामा सल्लाह दिनु पर्ने कुरा के छ ?
–क्रान्तिकारी कम्युनिस्ट आन्दोलन कमजोर अवस्थामा छ । यो स्थितिमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन र क्रान्ति गर्न योग्य पार्टी बनाउन साथीहरुले पूरै मिहेनत गर्नुपर्नेछ । चौतर्फी रुपमा दक्षिणपन्थी संशोधनवादले कम्युनिस्ट आन्दोलनलाई घेराबन्दीमा पारेको छ । दक्षिणपन्थी संशोधनवादका विरुद्ध लड्दै क्रान्तिकारी धारालाई मजबुत बनाउनु पर्दछ । (हाँक टुडेबाट)
































