आजको अन्तर्राष्ट्रिय राजनीतिमा ग्लोबल साउथ अर्थात नयाँ तेश्रो बिश्वको भूमिकालाई लिएर निकै चर्चा परिचर्चा बिश्वभरी नै जारी रहेको छ । शीतयुद्धको कालखण्डमा तेश्रो बिश्वकोरुपमा ती देशहरु सामेल रहेका थिए जो अमेरिका र तत्कालीन सोभियत संघ इतरका देशहरु दुबै गठबन्धनभन्दा बाहिरका देश थिए । तर सोभियत संघले भने मूलतः साम्राज्यबाद बिरोधी ती तेश्रो बिश्वका देशहरुलाई आफ्नो स्वभाविक मित्रकोरुपमा अथ्र्याउने र औंल्याउने गर्दै आअएको थियो । तर सोभियत संघको बिघटन पछि भने यो तेश्रो बिश्व शब्दकै प्रयोगको प्रासांगिकता हराएर गएको स्थिति बिकसित भएको थियो ।
त्यसपछि त पश्चिमा देशका बिश्लेषकहरुले के दाबी गर्न थालेका थिए भने बिश्व अब एक ध्रुबीय भइसक्यो । केवल अमेरिका अबको बिश्वको एक मात्र शक्ति केन्द्र रह्यो । तर अब यता बितेका दुइ तीन दशकको कालखण्डमा बिश्वमा आएको परिबर्तनको परिणास्वरुप एक ध्रुबीय बिश्व ब्यवस्थाको त्यो बिचार खोक्रो साबित भइसकेको या भइरहेको छ । चीन आफ्नो आर्थिक र सैनिक शक्तिकासाथ एउटा बैकल्पिक ध्रुबकारुपमा उदाइरहेको आज प्रष्टै देखिन्छ ।
हुन त योभन्दा दशकौं पहिला तेश्रो बिश्वको अगुवाई भारतले गर्न थालेको पनि मानिन्थ्यो । त्यतिबेला भारतका प्रधानमन्त्री रहेका जवाहरलाल नेहरुलाई असंलग्न आन्दोलनको एउटा चमत्कारिक नेताकोरुपमा पनि प्रस्तुत गर्न खोजेको देखिन्थ्यो ।बर्तमान समयमा भने तेश्रो बिश्वको स्थानमा अब ‘ग्लोबल सााउथ’ शब्द प्रचलनमा ल्याउन थालेको देखिदैछ । यसको आधार मूख्यतः आर्थिक बिकासको स्तरमा आधारित भएर निर्धारण गरिदैछ । यो बिकसित या सम्पन्न देशहरुको बिपरीत बिकासशील र गरीब देशहरुको समूह मानिने गरेको छ ।
यो ‘ग्लोबल साउथ’को नेतृत्वका लागि यतिबेलाा चीन र भारतका बीचमा प्रतिस्पद्र्धा भइरहेको एकथरीको बिश्लेषण छ । भारतले आफुलाई एक लोकतान्त्रिक र स्वतन्त्र समाजकोरुपमा आफ्नो दाबेदारी गर्न खोजेको देखिन्छ । तर चीन भने आफ्नो आर्थिक बिकासको अपूर्ब र चामत्कारिक सबलताले गर्दा अहिले नै ग्लोबल साउथको केन्द्र बनिसकेको र बनिरहेको छ । यसकासाथै बिश्वमा ठूलो दक्षिण अमेरिकी देश ब्राजिल र ठूलो अफ्रिकी देश साउथ अफ्रिका जस्ता देशहरुले पनि चीनलाई नै समर्थन गरिरहेका छन् । त्यति मात्रै होइन, युक्रेन संकटमा चीनका बिरुद्ध उभ्भिएका र चीनलाई अंकुश लगाउने अमेरिकाको रणनीतिमा सहभागी भइरहेका फ्रान्स र जर्मनी जस्ता देशहरु समेत यतिबेला चीनसँग सम्बन्ध सामान्य र सहज बनाउन र कायम राखिराख्न बढी इच्छुक देखिएर अघि सरेका देखिदैछन् ।
यसका अतिरिक्त पछिल्लो समय साऊदी अरब र ईरानका बीच राजनीतिक मेलमिलाप गराउने महत्वपूर्ण भूमिकामा चीन सफल भएकाले पनि यतिबेला चीनको कद बिश्वमा अझ माथि उठेर बढ्न गएको देखिएको छ । हालै चीनले यूक्रेन युद्धलाई समाप्त पार्न पनि पहल गरिरहेको देखिएको छ र यस सम्वन्धमा शान्तिका लागि चीनले महत्वपूर्ण १२ बूँदे प्रस्ताव पनि अघि सारिसकेको छ । यी सबै महत्वपूर्ण कारक र कारणले गर्दा चीन धेरै अगाडि बढिसकेको छ । तर भारत भने यस मामिलामा निकै नै पछि परेको प्रष्टै देखिएको छ । भारत पछि पर्नुका ठोस कारणहरु पनि रहेका छन् । पहिलो त बिकास यात्रामा भारत चीनभन्दा अझै केही दशक पछाडि नै छ । चीनको बराबरीमा पुग्न उसलाई अझै लामो समय लाग्ने भारतीय र गैर भारतीय धेरै बिश्लेषकहरुले बिश्लेषण गरिरहेका छन् ।
हुन त २०२३ अप्रिल महिनामा नै भारत बिश्वको सबैभन्दा ठूलो जनसंख्या भएको देश अबश्य बनेको हो । तर यस जनसंख्या बृद्धिले मात्र भारतको अन्तर्राष्ट्रिय उच्चाई बढ्ने कुरा मानिदैन । यस जनसंख्या बृद्धिको सम्वन्धमा चीनको बिदेश मन्त्रालयले कुनै देशको जनसंख्या कति छ भन्दा पनि त्यो जनसंख्याको गुणस्तरीयता के कस्तो छ भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ भन्ने धारणा पनि ब्यक्त गरिसकेको छ । यस परिप्रेक्षमा जर्मनीको एउटा प्रमुख समाचार माध्यमले एउटा कार्टुन प्रकाशित पनि गरेको छ । त्यसमा एकातिर चीनको बुलेट ट्रेन देखाइएको छ भने अर्कोति भारतको गए गुज्रेको रेल छ, जुन रेलको छतमा सयकडौं यात्री सवार छन् । भारतमा त्यस कार्टुनको निकै आलोचना भए पनि बिश्लेषकहरु के भनिरहेका छन् भने त्यसको आलोचना गरेर तीतो पोख्नु भन्दा आवश्यक र सोचनीय कुरा के छ भने यो स्थितिलाई कसरी परिबर्तन गर्ने हो त्यतातिर भारतको गम्भीर ध्यान जानु पर्दछ, आफु बिकासको गति र प्रगतिमा पछि परेर आक्रोश पोख्नुले कुनै अर्थ राख्दैन भन्ने पनि औंल्याइदैछ ।
भारतले युक्रेन युद्ध अझ लम्बियो र थप पश्चिमा सहयोगमा त्यो युद्ध तीब्र हुन पुग्यो भने भारतमाथि कुनै एउटा पक्षको साथमा खुलेर लाग्ने दबाब अझ बढ्ने कुरा पनि ज्ञाता बिश्लेष्कहरु अहिले उल्लेख गरिरहेका छन् । यस सम्वन्धमा गएको मई महिना र यो चालु जून महिना महत्वपूर्ण हुन सक्ने आकलन पनि गरिदैछ । त्यसैले अमेरिका र पश्चिमा देशहरुको थप सैनिक सहयोगका कारण युक्रेनले रुसमाथि जबाफी हमला गर्न पुग्यो भने त्यसका बिरुद्ध रुसले ठूलो र अझ प्रभावी प्रतिकार गर्नसक्ने कुरा पनि त्यत्तिकै सम्भावित छ । अनि त्यो संघर्ष अझ तीब्र हुन र अझ फैलिन सक्छ । यो क्रम बढ्दै गएर रुस र नाटो देशहरुका बीच अन्तिम शक्ति परीक्षणको स्थिति आउन पनि सक्छ भन्ने सम्मको आकलन पनि गरिदैछ । केही अघि यस्तै युद्धजन्य परिस्थितिका बीचमा यता भारतका प्रधानमन्त्रीले जी – ७ शीखर बार्ता र अष्ट्रेलियामा ‘क्वाड’ शीखर बार्तामा भाग लिन गए । बास्तवमा बर्तमान बिश्वमा सर्बत्र यूक्रेन युद्धको छायाँ परिरहेको अबस्थमा भएका ती शीखर सम्मेलनहरुमा भारतको स्वतन्त्र बिदेश नीति कत्तिको स्वतन्त्र रहेको मानिने हो त्यसको पनि कडा परीक्षा हुने र भइरहेको देखिन्छ । यी सबै कारणले भारत ग्लोबल साउथको नेतृत्व गर्न चीनभन्दा पछि परिरहेको र अझै लामो समयसम्म परिरहने कुरा नै उजागर गर्दछन् भन्ने निष्कर्श निस्कन्छ ।
त्यसमा पनि मूलतः अझ महत्वपूर्ण कुरा के देखिन्छ भने यो ग्लोबल साउथलाई संगठित गर्ने, उठाउने र अघि बढाउने दीगो र भरपर्दो नीति कसले दिनसक्छ र सक्ने सम्भावना छ त्यसमा नै यसको नेतृत्व कसले लिन्छ भन्ने कुरा भरपर्छ । प्रष्ट मार्ग चित्र र तदनुकूलको तत्परता बिना बिश्वको यो दक्षिण – दक्षिण सहयोगको ठोस अस्तित्व र सक्रियता पनि बिकसित हुन सक्तैन र यो पनि बिगतमा सार्क जस्तै एउटा गफ गर्ने थलोमै सीमित हुन पुग्ने कुरा मात्र भएर रहन सक्छ भन्ने पनि बिगतका यस्तै अनुभवहरुले प्रष्ट पार्दछन् ।
यद्यपि आज बिश्व बहुध्रुबीय दिशातिर अघि बढ्ने जुन अन्तर्राष्ट्रिय स्थिति बनेको छ त्यसलाई मूर्तरुप दिन प्राय सबैले चीनकै मुख मूलतः ताकिरहेको देखिन्छ । त्यसैले आजको बिज्ञान र प्रबिधिले समते गतिमान बिश्व निर्माण गर्न र सही दिशामा अघि बढ्न जुन परिबेश बनाइरहेको छ त्यसलाई चीनले निकै सही किसिमले बुझेको र समानता, न्याय, शान्ति र समुन्नतिका निम्ति चीनको भूमिका अग्रगण्य र प्रभावकारी हुने नै बढी सम्भाबना रहेको प्रतीत हुन्छ ।































