बागी स्त्रीको आत्मकथामा उत्पीडनका स्वरहरु

बागी स्त्रीको आत्मकथामा उत्पीडनका स्वरहरु

समीक्षा

नेपाली साहित्यमा कलम चलाइरहेका पछिल्लो समयका साहित्यिक व्यक्तित्वहरुमध्ये सुमिना एक हुन् । विशेष गरी नारी÷महिला मुक्तिका लागि नारीमाथि हुने अन्याय, अत्याचार, हिंसा, उत्पीडन र शोषणका विरुद्ध सुमिनाले सशक्त रुपमा कलम चलाउँदै आइरहेकी छन् भने श्रमजीवी वर्गको पक्षमा दृढताका साथ उनको आवाज बुलन्द रहेको पनि पाइन्छ ।

सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’ महिलाहरुप्रति विद्रोहको आह्वान हो । यस कवितासङ्ग्रहभित्र महिला मुक्ति र स्वतन्त्रता सम्बन्धि कवि सुमिनाका कविताका धेरै विषयवस्तु रहेका छन् । पितृसत्ताले निर्माण गरेका र क्रूरतापुर्वक महिला विरुद्ध लागु गरेका सबै किसिमका भाष्यहरुको बर्खिलापमा उभिनु कवि सुमिनाका कविताहरुको मुख्य स्वर र वैचारिक पक्ष रहेको छ ।

समकालीन साहित्य जगतमा कवि सुमिनालाई एक वैचारिक हस्तक्षेपमा कटिबद्ध साहित्यिक व्यक्तित्वका रुपमा चिनाउन अब कुनै भारी टीकाको आवश्यकता छैन । उनले जे लेखिरहेकी छन्, त्यही नै काफी छ । कवि सुमिनाका कविता सही विचार सम्प्रेषणका धारिला औजार हुन् । सुमिनाका कविताहरुले बिद्रोह रोज्नु गज्जबको कुरा हो । सही विचार र धारणलाई अँगाल्दै विद्रोह रोज्नु झै खुसीको कुरा हो ।

सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’ शीर्षकलाई केलाएर हेर्दा र यसभित्र रहेका कविताहरुलाई नियाल्दा देश र राज्यका विरुद्ध विद्रोह गर्ने विप्लवी नारीहरुको उद्घोष देख्न सकिन्छ । बागी स्त्रीको आत्मकथा महिलाहरुको प्रसवको पीडाको कथा हो । र, यी कविताहरु महिलाको पीडा, वेदना र सकसको प्रतिबिम्ब पनि हो ।

हाम्रो समाजमा महिललाई लैङ्गिक विभेद मात्र गरिएको छैन । महिला भएकै आधारमा अन्याय, अत्याचार, शोषण र दमन गरिएको छ । समान काम गर्दा पनि महिला भएकै कारणले श्रम शोषण वा पुरुषले पाएको जति पारिश्रमिक महिलालाई दिइदैन । महिला भएकै आधारमा महिलामाथि कथित पुरुषत्वको व्यवहार देखाउने पुरुष भनाउँदाहरुले जुन किसिमको विभेदपूर्ण अन्याय, अत्याचार, शोषण र दमन गरेका छन् त्यसको विरुद्धमा र नारीहरुलाई आफ्नो हक, अधिकार प्राप्तिको लागि सङ्घर्षमा आउनको लागि आह्वान गर्दै राज्यसत्ता र पुरुषसत्ताको विरुद्ध लेखिएका सकसको कथा हो बागी स्त्रीको आत्मकथाभित्र रहेका कविताहरु ।

राज्यद्वारा जतिसुकै महिला मुक्तिका भाषण, नारा र कुराहरु संविधानका धाराहरुमा लेखिएको भएपनि यथार्थमा महिलाहरुले पूर्णरुपमा स्वतन्त्र भएर बाँच्न पाउने अधिकार प्राप्त गर्न सकेका छैनन् ।

आज साँच्चै नै महिला मुक्ति वा महिला स्वतन्त्रता भएको भए किन महिलाहरु माइतीघरबाट दाइजो नल्याएको निहुँमा जिउँदै पोलिनु पर्दथ्यो ? किन आफ्नो लोग्नेको घरबाट लखेटिनु पर्दथ्यो ? महिलाहरु बोक्सीको आरोपमा किन ज्युँदै खाडल खनेर पुरिनु पर्दथ्यो ? किन घर, समाज र गाउँबाट लखेटिएका घटनाहरु हामीले विभिन्न पत्रपत्रिकाहरुमा पढ्नु परिरहेको छ ? किन टेलिभिजनहरुमा हेर्न र सुन्न परेको छ ? महिलाहरुले छोरी जन्माएकै कारण उनीहरुलाई अवहेलना र तिरस्कारमा पारिएका छन् ? घरबाट गलहत्याएर निकालिएका छन् ? त्यति मात्र होइन, छोरा पाउनकै लागि जेठी श्रीमतीलाई छाडेर कान्छी श्रीमती ल्याउने, मानसिक यातना दिने, गर्भमा छोरी रहे तुहाउने जस्ता लिङ्ग भेदी कार्यहरु सामाजिक रुपमा व्याप्त बनेका छन् । के यी सबै महिला मुक्ति वा महिला स्वतन्त्रता भएका उदाहरण हुन् ?

कवि सुमिना समाज वा पुरुषले खडा गरेका यस्ता विभेदका पर्खालहरु भत्काउनको लागि उनी आफू र आफूजस्तै महिलाहरु अभ्यस्त भएको कुरा ‘म भत्काउनमा अभ्यस्त छु’ कवितामा लेख्छिन्ः

चुल्याउँदै गर ए समय !
म हिँड्ने बाटोमा अवरोधका पर्खालहरु
म भत्काउनमा अभ्यस्त छु
निरन्तर भत्काएर निर्माण गरेकी हुँ मैले
आफ्नो स्वतन्त्र मार्ग
जहाँ म
निस्फिक्री देखिरहेकी छु
आफ्नै सपनाका पदचापहरु ।
(पृष्ठ ३०)

हामीले राणा शासनको विरुद्धमा आवाज मात्र उठाएनौंं, मुठ्ठी कसेर आन्दोलनमा सरिक भयौं र त प्रजातन्त्रको स्थापना भयौ । पञ्चायतको विरुद्धमा हामी साहना प्रधान भयौं । हामीले पञ्चायतको विरुद्धमा आवाज उठायौं, मुठ्ठी कस्यौं र सङ्घर्षमा लामबद्ध भयौं । क्रान्तिमा होमियौं र त पञ्चायतको अन्त्य र बहुदलीय व्यवस्थाको आगमन भयो । हामीहरु लोकतन्त्र र गणतन्त्रको पक्षमा उभिँदै २०५२ साल फागुन १ गते शसस्त्र जनयुद्धमा सरिक भयौं । हजारौं महिलाहरुले यस युद्धमा आफ्नो प्राण आहुति गरे र ०६२÷०६३ सालको दोस्रो जनआन्दोलन सफल भयो । हामी महिलाहरु हरेक आन्दोलनमा पुरुषसँग होस्टेमा हैसे गर्दै साथसाथै थियौं र त हरेक आन्दोलनहरु सफल भएका थिए । यही महिलाको मस्तिष्कले कुविचारका महलहरु भत्काएर नयाँ चेतनाको घर निर्माण गरेका छन् भन्दै सुमिना कविताका हरफहरुको माध्यमबाट लेख्छिन्ः

यही मस्तिष्कले भत्काएर
कुविचारको महल
निर्माण गरेकी हुँ आफूभित्र
नयाँ चेतनाको घर ।
(पृष्ठ ३०)

महिलाहरुलाई स्वतन्त्रता प्राप्त भएको घोषणा गरिएको छ तर त्यो स्वतन्त्रता भनेको नदीमा स्वतन्त्र रुपमा पौडिन पाउने माछालाई पोखरी र अक्वेरियममा कैद गर्नु जत्तिकै हो । यो स्वतन्त्रता र मुक्तिको नाममा रचिएको अर्को दमन र हिँसा हो । सुन्दर अक्वेरियममा राख्दैमा माछाहरुको दुनिया बदलिन्न र तिनीहरुको जीवन स्वतन्त्र रहन्न । फोस्रा भाषण र संविधानका धारा र किताबका पानामा महिला मुक्ति र स्वतन्त्रताको कुरा गरिए पनि व्यवहारमा रत्तिभर लागु हुन नसक्ने हो भने त्यो महिला मुक्तिको कुनै अर्थ नरहने कुरा कवि सुमिनाको कविताले प्रस्तुत गरेका छन् ।

मलाई मञ्जुर छैन
माछा बनेर
सुन्दर अक्वेरियमभित्र सजिन ।
(पृष्ठ ३१)

शासकहरुले मजदुर र किसानको समस्यालाई बुझ्न सक्दैनन् । मजदुरहरुले आफूले पाउनुपर्ने पारिश्रमिक पाउन सकेका छैनन् । मजदुरहरु सडकमा रात गुजार्न बाध्य भएका छन् । मजदुर र गरिबहरुको समस्यालाई शासकहरुले चुनावको समयमा मात्रै सम्झन्छन् । चुनाव जितेर गएपछि उनीहरुले आफ्नो धरातललाई बिर्सन्छ र आफ्नै देशको माटोको सुगन्धबाट उनीहरु अत्तालिन्छन् भन्ने कुरालाई शासकहरु कवितामा यसरी व्यक्त गरेकी छन् ।

जहाँ मजदुरहरु
सडकमा रात गुजार्छन्
जहाँ गरिबहरु
चुहिएको छानोमुनि भिजेको जिन्दगी बाँच्छन्
जहाँका जनता
बाढी, डुबान र पहिरोको त्रासले महिनों
सन्तोषको निद्रा निदाउँदैनन्
हो, त्यो देश
जहाँ शासक हिँड्ने बाटोमा
बिछ्याइन्छन् राता कार्पेटहरु
उनीहरु उभिने जमिनमा
ओछ्याइन्छन् कुर्सी र पिर्काहरु
किनकि
शासकहरु आफ्नो धरातल बिर्सन्छन्
र अत्तालिन्छन् माटोको गन्धसँग
सायद, देशको सुगन्धसँग
(पृष्ठ ४१)

हरेक क्षेत्रबाट महिलाहरु उत्पीडित भइरहेपछि उन्मुक्तिको बाटो रोज्न र खोज्नको लागि अक्षरहरुको माध्यमबाट चाहना व्यक्त गरिएको कविताको सङ्ग्रह हो ‘बागी स्त्रीको आत्मकथा’ । कवितामा महिलाहरुले पुरुष सरह पाउनुपर्ने हक, अधिकार नपाएको र अब लैङ्गिक समानताको लागि आवाज उठाउनु पर्ने बेला गइसकेको भाव ‘समुन्नत यात्रा’ शीर्षकको कवितामा कवि सुमिनाले व्यक्त गरेकी छन् । नेपालको लगभग आधा धर्ती र आधा आकाशभन्दा बढी भू–भाग ओगटेको महिलाहरु अझै पनि पुरुषसरह अधिकार खोज्न क्रान्ति गर्नुपर्ने अवस्था छ । साँच्चै महिला र पुरुष एउटा साइकलका दुई पाङ्ग्रा हुन् । एउटा पाङ्ग्रा बिग्रे साइकल गुड्न नसके जस्तै महिला नहुने हो भने यो सृष्टि नै बन्द हुन सक्छ । महिला पनि यस धर्तीका अभिन्न अङ्ग हुन् । काम, कर्तव्य र अधिकारहरुमा पुरुषसरह महिलाहरुको पनि समान दायित्व र अधिकार छ भन्ने कुरालाई कवि सुमिनाले ‘समुन्नत यात्रा’ मा यसरी व्यक्त गरेकी छन् ।

यो धर्ती
मैले आधा टेकेकी छु
तिमीले आधा टेकेकी छौ
यो आकाश
तिमीले आधा टेकेका छौ
मैले आधा टेकेकी छु
यो सृष्टि
मैले आधा धानेकी छु
तिमीले आधा धानेका छौ
तिमी आधा, म आधा
आधा आधा मिलेर
तिमी भएका छौ पूरा
म पनि भएकी छु पूरा
(पृष्ठ १५८)

बरु आऊ
तिम्रा केही सहुलियत र सुविधाहरु
मेरा केही कठिनाइ र जटिलताहरु
आधा–आधा बाँडेर हाम्रा कार्यभारहरु
पुरा गरौं एउटा
समानताको समुन्नत यात्रा ।
(पृष्ठ १५९)

महिलाहरु आफ्नो अधिकार लिनका लागि आफै अघि बढ्नुपर्छ । अरुले दिएको स्वतन्त्रता वास्तवमा त्यो स्वतन्त्रता होइन । महिलालाई लैङ्गिक विभेद गरेर नै हरेक क्षेत्रहरुमा महिला आरक्षणको कोटा राखिएको छ । वास्तवमा त्यो महिला स्वतन्त्रता होइन त्यो महिलामाथि भएको विभेदपूर्ण व्यवहार हो भन्ने भाव उनका धेरै जसो कविताहरुमा आएका छन् ।

यो समय मानवतावादी मूल्य र मान्यताको चर्को रुपमा खोजी भइरहेको युग हो । किनभने यो युग ती कुराहरुमा तीब्र गतिमा क्षय भइरहेको युग पनि हो । मानवले मानवप्रति गर्ने उचित व्यवहारको खोजीका सन्दर्भमा मानवतावादी मूल्य र मान्यताको सन्दर्भ प्रकाशन हुन पुग्छ । मानव समुदाय विविध पृष्ठभूमिका आधारमा, विविध सन्दर्भमा वर्ग र समुदायमा विभाजित छ । मानवका तिनै वर्ग पनि जाति, धर्म, आर्थिक स्थिति, शैक्षिक स्थिति आदिका आधारमा अवसर र सुविधा पाउने र नपाउने अझ अर्को वर्गमा विभाजित छ । अवसर र सुविधा पाउनेहरु अरु माथि सधैं अमानवीय व्यवहार गर्नुलाई आफ्नो नैसर्गिक अधिकार सम्झन्छन् । अवसर र सुविधाहीन मानिसहरु अरु मानिसको आफूप्रतिको दृष्टिकोणलाई सहज रुपमा स्वीकार गर्न सक्दैनन् र जन्मन्छन् अनेकन नवीन मान्यता, सिद्धान्त, आन्दोलन र द्वन्द्वका कुराहरु ।

हरेक मानवीय पर्यावरण पुरुषवादबाट आक्रान्त बन्न पुगेपछि हरेक अवसर र सुविधाबाट बञ्चित महिला समुदाय पनि सतर्क हुन थाल्यो । जीव वैज्ञानिक भिन्नताले मात्र फरक फरक र अन्य सम्पूर्ण कुरामा पुरुषसमान रहेकी महिला र पुरुषका बिचमा रहेको असमानता यति चरम अवस्थामा पुग्यो कि त्यसले दास र मालिकको स्वरुप समेत ग्रहण गर्न पुग्यो । जसको फलस्वरुप महिला र पुरुष सेवक र सेवितका रुपमा रुपान्तरित वा परिभाषित हुन पुग्यो । यही पुरुषवादले एकातिर नारीवादको जन्म गरायो भने अर्कोतिर लैङ्गिक समानताको खोज गरायो । पश्चिमी मुलुकभन्दा पूर्वी एसिया मुलुक र विशेषगरी भारत र नेपालमा यो समस्या अझै ज्युँदो छ ।

सामन्तवादले छिया छिया भएको नेपाली महिला अस्मिता अब लैङ्गिक समानताको प्रश्नमार्फत् आफ्नो ब्युँझाइलाई सार्वजनिक गर्दै आइरहेको छ र नेपाली समाजका विविध सन्दर्भमा लैङ्गिक समानताको अवधारणा अगाडि बढिरहेको छ । अनेकन सामाजिक सन्दर्भहरु मध्येकै एक हो साहित्यिक सन्दर्भ पनि जुन लैङ्गिक समानताको सन्दर्भबाछ अछुतो रहन सकेको छैन । र, सक्दैन पनि । त्यसकै उपजको वा विद्रोहको रुपमा देखा परेको कृति हो ‘बागी स्त्रीको आत्मकथा ।’ कवि सुमिनाले यस कृतिमा महिलाहरुले स्वतन्त्र रुपमा आफूहरुले पाउनुपर्ने विभिन्न किसिमका अधिकार र स्वतन्त्रताको मागको फेहरिस्त नै पेश गरेकी हुन् भन्दा उपयुक्त नहोला । ‘बागी स्त्रीको आत्मकथा’ यो समयको पहिचानको प्रतिनिधिमूलक आवाज बोकेर आएको कविताहरुको सङ्ग्रह हो ।
०००