आजकाल भेटिँदैनन् देखिँदैनन् गाउँतिर
घामले धापिएर
एक अञ्जुली पानी पिएकाहरू
जीवनका अप्ठ्यारामा
भलाकुसारी गर्दै बसेकाहरू
आजकल भेटिँदैनन् गोरेटाहरूमा
सत्यको बाटो बनाउँछ भन्दै
आवश्वासन बाँड्ने पुराना अनुहारहरू
मुक्तियुद्धका गीत गाउनेहरू
उतिबेलका नयाँ मान्छेहरू
आजभोलि भेटिँदैनन्
यताउता आफ्नो
आश्रय स्थलहरूमा
कसम बाँडेकाहरू
बाचा गरेकाहरू
उन्मादमा छन् आजभोलि
सुन्दैनन् दुखेसो कसैका
चिन्दैनन् सहपाठीहरूलाई
आलिप्त छन् विलासितामा
त्यसैले फर्किदैनन् गाउँमा
परन्तु
सेते दाइ भने पर्खिरहेका छन्
तिनीहरूलाई नै विश्वासको खादा लिएर
यातनाले थिचेको मन ब्युझएर
माइली भाउजू झ्निो आशाको
तान्द्रो लिएर अझ्ैसम्म उकाली ओराली गर्दैछिन्
हेर्दैछिन् घाम ल्याउनेहरूलाई
वीरे दाइ थलिएको धेरै भइसक्यो
आँखामा बादलका धर्सा बसिसके
मनमा भने नयाँ दिन
पर्खिरहेका छन्
तर फर्किन्नन् तिनीहरू
गोलीको छर्राले गहिरिएको घाउ सुम्सुम्याउन ।
सानुमाया बर्बराउछिन् ओछ्यानमा
र तिनै मुक्तियुद्धमा
लामबद्ध गाएका गीतले
जीवन बदल्छु भन्छिन्
देश बनाउछु भन्नेहरू
हिँड्दैनन् गोरेटाहरूमा
तिनीहरू उतै लठ्ठ छन्
सिंहदरबारका भित्ताहरूमा
खै फर्किएनन् गाउँघरमा
चिच्चाउँछन् चर्को स्वरमा
संसद भवनभित्र
गर्छन् कटाक्ष
फेरिन्छन् कुर्सी ओगट्नेहरू
आलोपालो गरि गरि
देश बनाउने निहुँले
ताली बजाउँछन्
बाँडफाँड गर्छन्
बिला बिलामा
टन्न अघाउँछन्
लठ्ठीन्छन् र बर्बराउँछन्
जीवनभर नभएर
छोरा–नातिलाईसम्म
पुग्ने भो
त्यसैले तिनीहरू
उतै अस्ताए फर्किएनन् गाउँमा ।
अब गाँउ अझ्ै जाग्नुपर्छ
जीवन बदल्न यात्रामा
गाँउका अझ्ै लाग्नुपर्छ
सेते दाइ, सानुमाया र माइली भाउजूहरू
अझ्ै लाग्नुपर्छ ।
(इच्छुक अङ्क १२ बाट)































