सहिदको सपना

सहिदको सपना

कविता

बोकेर आँखाभरिका सपना
पछ्याउनु पछ्याइरह्यो उसले
जीवनका सुदूर क्षितिजहरू
चढिरह्यो उल्लाससाथ
सङ्घर्षको एकपछि अर्को टाकुरी
गरेर अथाह प्रेम माटोलाई
छरिरह्यो पसिनाको मिठो आभा ।

अपसोच !
जब माग्यो उसले
त्यही पसिनाको मूल्य, श्रमको कदर
उन्मुक्ति दासताका जञ्जीरहरूबाट
महल ओगटेका विकृत आकृतिहरूले
हाँसे अपमानको ठूलो अट्टहास
र समातेर मैलिएको कमिजको कठालो
च्यात्दै सोधे
उसलाई ‘उसको औकात’ !
हो, त्यही दिन
घिनाएर समाजको कुरूपतासँग
खाएको हो उसले
व्यवस्था परिवर्तनको सपथ ।

ती अक्करे भीरहरू साक्षी छन्
साक्षी छन्
ती डाँडा, भञ्ज्याङ र खोल्चीहरू
गएर सोध्नु तल्सिङ र मुनाहरूलाई
मुछेर सिस्नु र ढिँडोसँग
सुनौलो भविष्यको सपना
कोरेकै हो ‘ब्लुप्रिन्ट’ नयाँ नेपालको
हो निसर्त स्वीकारेको
उसले क्रान्तिको जोखिमयुक्त गोरेटो
कोट्याइ हेर्नु अभिलेख भेटिन्छन्
कमेरो पोतिएका ती भित्ताहरूमा
लड्दै गर्दा
उन्मुक्तिको अविश्राम युद्ध
अनायासै ढलेको हो ऊ
रणभूिममा एक महान् योद्धाझ्ैँ
दिएको हो सहादत
ल्याउन परिवर्तनको रातो सूर्योदय ।

सहिदलाई के थाहा ?
कुनै दिन
बिछ्याएर उसको बलिदानमाथि
भव्य रेड कार्पेट
कुटिल मुस्कानसहित
चढ्नेछन् उसका सहयात्रीहरूले
दरबारका भर्याङ्ग ।
बेचेर स्वाभिमान
कुनै बहुराष्ट्रिय कम्पनीलाई
खडा गर्नेछन्
नवधनाढ्यहरूको अर्को जमात
जसको बङ्गलाहरूमा
एक एक गरि
मातेर ढल्नेछन् आस्था र सिद्धान्त ।
यही अस्तव्यस्तताबाट
भएर आजित मूलबाटोमा
गर्नेछ निष्ठाले आत्मदाह !

परिवर्तनको नाममा फेरिन्छन्
केबल मुहारहरू
जो उत्तिकै घृणा गर्छन्
भुँइमान्छेहरूलाई ।
साँच्चै ल्याउनुछ भने
सुनौलो बिहानी
त्याग्नैपर्छ औपचारिकताको लाचार खास्टो
मुक्त गरेर सहिदलाई
मात्र कागज र शिलाहरूको गन्जागोलबाट
हुन नदिन मुकदर्शक
लाग्नैपर्छ एकजुट भई
साकार गर्न
सहिदका सपना !

(इच्छुक अङ्क १२ बाट)