रवि पाण्डेयको मुक्तक सङ्ग्रह ‘सङ्घर्षको मैदानबाट’मा दृष्टिप्रक्षेप

रवि पाण्डेयको मुक्तक सङ्ग्रह ‘सङ्घर्षको मैदानबाट’मा दृष्टिप्रक्षेप

समीक्षा

पत्रकारितासँग सम्बद्ध रवि पाण्डेलाई म पहिलेदेखि नै राम्रोसँग चिन्दछु । यी मूलतः वामपन्थी विचारबाट प्रेरित पत्रकार हुन् । बर्दघाट नगरपालिकामा रहेर पत्रकारिता गर्दै आएका रवि अहिले छापा पत्रकारितामा आबद्ध छन् । म स्वयम् पनि पत्रकारितासँग कुनै न कुनै ढङ्गले जोडिँदै आएको व्यक्ति भएकाले यिनीसँग निकटता रहनु स्वाभाविकै हो ।

एकदिन रविले मलाई फोन गरेर भेट्ने समय मागेका थिए । पत्रिकाबारे केही सरसल्लाह गर्न चाहेर होला भन्ने मलाई लागेको थियो । नजिकै भएर पनि भेटघाटको अनुकूलता नमिलेपछि यिनले मलाई आफूले केही मुक्तकहरु लेखेको, तर यी सिद्धान्ततः मुक्तक बने नबनेको हेरिदिनका लागि भेट्न चाहेको पनि बताए । केही दिनपछि मुक्तक भनेर लेखिएका र कम्प्युटरीकरण गरी प्रिन्ट गरिएका यी रचना मेरो घरमा ल्याएर छोडिदिए । यतिखेर मसँग यिनै पत्रकार रविको ‘सङघर्षको मैदानबाट’भनेर नाम जुराइएको मुक्तकसङ्ग्रहको पाण्डुलिपि छ । यसमा लेखकको नाम रवि ‘विकल्प’ भनिएको छ । पत्रकार रवि पाण्डे अब भने साहित्यिक मञ्चमा पनि प्रवेश गर्दै छन् रवि ‘विकल्प’ नामबाट । यस जानकारीले मलाई खुसी तुल्याएको छ । यस कृतिमा जम्मा ४० थान मुक्तक रहेका छन् । मैले फुर्सदको समय मिलाएर यी सबै मुक्तकमा दृष्टिप्रक्षेपण गरेँ । आवश्यकता अनुसार कतिपय ठाउँमा व्याकरण, कतिपय ठाउँमा शब्दविन्यास र भाषा मिलाइदिने काम पनि गरेँ । मुक्तकहरुको सङ्ख्या अत्यन्त न्यून भएकाले मैले यसमा खासै बौद्धिक कसरत वा श्रम गर्नु परेन । भूमिका लेख्ने व्यक्तिले कृति प्रकाशित भएर पाठकलोकमा नपुग्दै त्यसमाथि दृष्टिप्रक्षेपण गर्ने अवसर पाएको हुन्छ । यस्ता धेरै अवसर मैले पनि पाएको छु, केही अग्रज र केही अनुज तथा केही समवयी स्रष्टा मित्रका कृतिमा भूमिका लेख्ने सन्दर्भमा । रवि उमेरले मेरा पुत्रवत् वयका स्रष्टा हुन् ।

आरम्भमा मुक्तकको छोटोछरितो परिचय दिनु उचित होला जस्तो लाग्यो मलाई । मुक्तक नेपाली शब्दकोशमा समाहित मौलिक स्रोत अन्तर्गतको तत्सम शब्द हो । संस्कृतको मुच् धातुमा क्तिन् (त)प्रत्यय योग भएर मुक्त शब्द बनेको हो भने यसमा कन्(क) प्रत्यय जोडिएपछि मात्र मुक्तक शब्दको व्युत्पत्ति भएको हो । यद्यपि मुक्तकको कोशीय अर्थात् अभिधा अर्थले स्वतन्त्र रूपको सानो भन्ने अर्थलाई द्योतन गर्दछ । यसको पदगत अर्थ आफैमा पूर्ण, स्वतन्त्र वा निरपेक्ष भन्ने हुन्छ । संस्कृत काव्य परम्परामा मुक्तक शब्दको प्रयोग प्राचीन कालदेखि नै हुदै आएको पाइन्छ । प्रबन्धविहीन काव्यलाई संस्कृतका विद्वान्ले मुक्तक काव्य भनेका छन् । अग्निपुराणमा मुक्तकः श्लोक एवैकश्चमत्कारक्षमः सताम् भनिएको छ । यसो भनेर अग्निपुराणकारले मुक्तकलाई एकश्लोकी चमत्कारपूर्ण अभिव्यक्तिका रूपमा लिएका छन् । आचार्य विश्वनाथले आफ्नो साहित्य दर्पण नामक सिद्धान्त ग्रन्थमा छन्दोबद्ध पदम् पद्यम् तेन मुक्तेन मुक्तकम् भनेका छन् । यिनको भनाइ अनुसार मुक्तक त्यस्तो प्रकृतिको रचना हो जुन छन्दमुक्त हुन्छ । अर्थात् छन्दको बन्धनबाट मुक्त भएर लेखिएको रचना नै आचार्य विश्वनाथको कथनानुसार मुक्तक हो । संस्कृतका आचार्य भामह, वामन, दण्डी, आनन्द वर्धन, अभिनव गुप्त, राजशेखर प्रभृतिले पनि मुक्तक शब्दको आआफ्नै ढङ्गले लक्षण बताएका छन् । वस्तुतः अग्निपुराणकारदेखि साहित्यदर्पणकारसम्मका संस्कृतका विद्वान् आचार्यले चर्चा गरेको मुक्तक र अहिले नेपाली साहित्यमा व्यापक रूपमा प्रयुक्त मुक्तकका बिचमा तादात्म्य पाइदैन । आधुनिक नेपाली साहित्यमा प्रचलित मुक्तक मूलतः इस्लामिक (अरबी, फारसी, उर्दू) साहित्यिक जगत्बाट आगमन भएको कविताको एउटा प्रभेद यद्वा लघुतम रूप हो । वस्तुतः कविता लघुतम विन्दुबाट बृहत्तम स्वरूपसम्म विस्तार हुन सक्ने साहित्यको एउटा सशक्त विधा हो । जापानी भाषामा हाइकु, सेन्यु, तान्का, चोकाजस्ता निर्दिष्ट आक्षरिक र पङ्क्तिका संरचनामा वर्गीकरण गरिएका छोटाछरिता कविता प्रचलनमा छन् । यस्तै चतुष्पदीय शैलीको रचना इस्लामिक काव्यजगत्मा रूबाई नामले प्रसिद्ध छ । दुई हरफे सायरी वा सेर पनि हिन्दी र उर्दूमा प्रशस्तै भेटिन्छन् । अङ्ग्रेजीमा पनि एकपदी (Onliner poem), द्विपदी(Couplet), त्रिपदी ( Tripple\Tercet ), चतुष्पदी (Quatrain)जस्ता छोटा कविता पाइन्छन् । यही कविताको लघुतम भेद मुक्तक रूबाई शैलीलाई अवलम्बन गर्दै नेपाली काव्यपरम्परामा चतुष्पदी स्वरूपमा मुक्तक विकसित भएको हो । आफ्नो मुक्तक सिर्जनमा यही शैली र स्वरूपलाई आजका अधिकतर मुक्तककारले अवलम्बन गरेका छन् । रविका यस कृतिभित्रका मुक्तक पनि यही विधिलाई अवलम्बन गरेर लेखिएका छन् ।

मुक्तक खासगरी कथ्यगत संरचनाका दृष्टिले आह्लादात्मक वा प्रहारात्मक गरी दुई प्रकारका हुन्छन् । आह्लादात्मक अन्तर्गत प्रणयभावजन्य विषयवस्तु रहन्छ भने प्रहारात्मक अन्तर्गत व्यङ्ग्य, सामाजिक, राजनीतिक तथा अन्य विभिन्न खालका विकृति, विसङ्गति, विद्रूपता, रुढिवादी परम्परा आदिमाथि प्रहार गरेर लेखिएको हुन्छ । मुक्तककार रवि ‘विकल्प’ प्रगतिशील विचारधाराबाट प्रभावित र प्रहारात्मक देखिन्छन् । यस कृतिभित्रका सबै मुक्तकमा प्रगतिशील चेतना मुखरित भएको देखिन्छ । मूलतः १० वर्षे माओवादी जनयुद्ध र २०६२/६३को जनआन्दोलनपछि मुलुकमा लागु भएको गणतन्त्रप्रति पनि असन्तुष्टि जनाएर लेखिएका मुक्तकहरु यसभित्र समाविष्ट छन् । परिवर्तनको आकांक्षा यी मुक्तकमा मुख्य कथ्य रहेको पाइन्छ ।

यी मुक्तक भावप्रधान नभएर विचारप्रधान देखिन्छन् । यसर्थ यिनमा कलाको सौन्दर्य न्यून हुनु स्वाभाविकै हो । अर्कोतिर यी आभ्यासिक चरणका मुक्तक भएकाले पनि यिनमा कला र गहन भावको रङ पातलो हुनुलाई सामान्य रुपमा लिनुपर्ने हुन्छ । पत्रकार जब माथि उठ्छ, ऊ बिस्तारै सिर्जनाको चुलीतिर आरोहण गर्न थाल्दछ । यसका कृतिकार रवि ‘विकल्प’ अब साहित्यमा पनि रमाउन सुरु गरेका छन् । यिनी यतातिर पनि निरन्तर लागेमा भोलिका दिनमा सिर्जनाका क्षेत्रमा पनि आफ्नो पहिचान बनाउन सक्नेछन् । यस अवसरमा म कृतिकार रवि ‘विकल्प’लाई हार्दिक बधाई ज्ञापन गर्दै साहित्यिक जीवनको सफल यात्राका लागि शुभकामना दिन्छु ।

–यो पुस्तकको भुमिकाबाट लिइएको हो–सं