१८ वर्ष पहिले भूपू राजा ज्ञानेन्द्रलाई जनयुद्धको आडमा जनसंघर्षको बलले गद्दीबाट फालिसकेपछि ९८ प्रतिशत जनता खुशीले गद्गद् भएका थिए । कसैलाई चित्त दुखेको थिएन । ज्ञानेन्द्रका भरि भरौटे, दाजुभाइ, नातेदार, तलुवाचटुवाहरु मात्र अत्यन्त दुःखी भएका थिए । तर अहिले त्यही राजाले टाउको उठाउन खोजेको भरौटेद्वारा आयोजित जनप्रदर्शनमा सडिसकेका हात जोड्दै हात हल्लाउँदै सत्ता फर्काई दिन जनतासँग अपिल गरेको दृश्य देख्दा दिलैदेखि घृणा नगर्ने नेपाली को होला ? २५० वर्ष त्यसमा पनि ०१७ सालमा राजा महेन्द्रले जनताबाट सम्पूर्ण अधिकार खोसी तिनलाई दिएको दुःख, कष्ट, यातना, बन्धन, निर्वासन, हत्या, जेल, नेल र बलात्कारका घटनाहरु बिर्सिन खोज्दा पनि सम्झना आइरहन्छ । आखिरमा काल आइसकेको रहेछ, जनता धेरै अगाडि बढिसकेका रहेछन्, राजा ज्ञानेन्द्रको आजसम्ममा भएका दमन मध्ये सबभन्दा सहन नसकिने अवस्था देख्दा जनतारुपी कालले ज्ञानेन्द्रलाई टप्प टिप्यो लग्यो । सारै अधर्म अपराध गरेकोले उनी निर्मल निवासको नरकमा गई बसेका थिए अहिले स्वर्ग जाने चेष्टा गर्दैछन् । ज्ञानेन्द्रको स्वर्ग नारायणहिटी दरबार हो । अन्धो मान्छेलाई कसरी डोराएर त्यहाँ पुराउन सकिन्छ र ? जो भीड त्यहाँ देखियो त्यो त ज्ञानेन्द्रका पूर्खादेखि संग्रह गर्दै आएको अरु बढी आफ्नैले नै थपेको खरबौं रुपैयाँ मध्ये केही भारे भरौटेलाई खर्च गर्न दिएको र तिनैले साम,दाम, दण्डभेद गरी जुटाएको जनताको भीड हो । जनयुद्धको बल र जनआन्दोलनको संघर्षले गर्दा राजगद्दीबाट हटाइयो । जनयुद्धकारी शक्तिको एउटा भाग र पुँजीवादी प्रजातान्त्रिकहरुको लचकताले गर्दा उसै बेला टुंगो लगाउनु पर्ने, कडा कार्वाही गरिनु पर्नेमा गरिएन । नरमपना देखाइयो , लोकतन्त्रमा सबैले बस्न, खान आफ्नो विचार व्यक्त गर्न पाउँछ भन्ने प्रचार गरियो । राजाको पार्टी राप्रपालाई पार्टी गठन गर्न दिइयो, संविधान गणतन्त्रात्मक लेखिए पनि राजा आउ, देश बचाउ, आजको आवश्यकता राजतन्त्र हो भन्ने छुट राप्रपाका सांसदलाई दिइयो । यो सरासर असंवैधानिक भएको छ । यो हल्ला बाहिर होइन, कानुन नियम संविधान संशोधन, फेरबदल गर्न सक्ने संस्था संसदभित्र भइरहेको छ । यी दलहरुको समझ्दारी अभाव भएको मात्र हो । भित्र छुट बाहिर हल्ला गरेर के गर्ने ? राजा ज्ञानेन्द्रले टाउको उठाएको पनि यस्तै यस्तै कारण हो ।
दलहरुको वनावट पनि अचम्म लाग्दो छ । मुख्य पार्टी त कम्युनिस्ट, कांग्रेस नै हुन् । कांग्रेसले विपीको समय देखिनै संवैधानिक राजतन्त्र मान्दै आएको हो । यसले राजासँग संगत ग¥यो, राजालाई राजासँग उचाल्यो । राजा संसदबाट धेरै अधिकार लिन चाहन्थे । २०४६ सालमा राजा विरेन्द्रले हडपेको संसद फिर्ता गर्ने काम गरे । ०४६ सालको परिवर्तनलाई पनि ने.काले स्वीकार ग¥यो सन्तुष्ट भयो । तर ज्ञानेन्द्र शाह त्यति पनि प्रदान गर्न इच्छुक थिएनन् । ०४६ को सम्झौता असफल भयो । त्यसैले तत्कालीन कांग्रेस नेता गिरिजाप्रसाद कोइराला जनयुद्धकारी शक्तिसँग हात मिलाउन पुगे, बाध्य भएर गणतन्त्र स्वीकार गरे । अर्कोतिर प्रचण्ड पनि कांग्रेस लगायतका ७ दललाई गणतन्त्र स्वीकार गर्न मञ्जुर गराउन सकेकोमा गद्गद् भएका थिए । उनले यसलाई ठूलो उपलब्धि मान्दछन् । जनसभाहरुमा प्रचण्ड गिरिजाबाबुको नाम बारम्बार लिन्छन् । बधाई दिन्छन् । कांग्रेससँग उनको गठबन्धन बेलाबेलामा हुने कारण पनि यही नै हो भनेमा केही फरक पर्दैन । प्रचण्ड संसदवाद बलियो बनाएमा समाजवाद प्राप्त गर्न सकिनेमा उनको दृढ विश्वास छ । तर नेका, गणतन्त्र, ससमाजवादसँग उति गहिरो सम्बन्ध राख्दैन । संवैधानिक राजतन्त्र नै उसलाई काफी छ । यसको प्रमाण ८.१० दिन पहिले कांग्रेसका प्रकाशशरण महतले दिएको विज्ञप्ति पर्याप्त छ । उनी भन्छन् संविधानबारे राजासँग सम्झौता हुन नसकेकोकारणले मात्र हामी गणतन्त्रका तिर मोडिएका छौं । तर बेलायती संवैधानिक राजतन्त्र त्यहाँका जनता कुन अवस्थामा थिए, त्यहाँका जनताको चेतना कस्तो थियो । आर्थिक अवस्था कुन रुपमा थियो त्यो पनि हेक्का राख्नुपर्छ । राजनैतिक रुपले राजा संविधानसित बाधिएको थियो । संसदको प्रभुत्व थियो । आर्थिक दृष्टिले त्यहाँ औद्योगिक क्रान्ति भइसकेको थियो । एकपटक त्यहाँका जनताले राजा हेनरी अष्टम नामका राजाको टाउको समेत काटिदिएका थिए । तर नेपालको अवस्था बेग्लै छ, निरंकुशताको गन्ध राम्ररी समाप्त भएको छैन–आर्थिक स्थिति सामन्तवादी अवस्था पार गर्न सकेको छैन–पुँजीवादमा प्रवेश गरेको छ, त्यो पनि राष्ट्रिय पुँजीपतिद्वारा संचालित छैन, दलाल पुँजीपतिवर्ग जताकतै प्रमुत्वशाली छ । सामन्तवादी राजतन्त्र उठ्न खोज्नुको एउटा कारण यो पनि हो । प्रचण्डले जताकतै होस पु¥याएनन् । अहिले बल्ल आँखा खुलेको बताउँछन् । लचकता देखाएर गाली गरिएको महशुस गर्न खोज्दछन् । जले जे गरे पनि ९० प्रतिशत चेतनाको लहरले वंशीय राजालाई टाउको उठाउन दिने छैन । सदाको लागि सत्यानास पारी छोडिने छ । त्यसमा फरक पर्दैन । धन दौलत अथाह भएको अर्को एउटा पार्टी जहाँ इमान्दरिता शुन्य छ, अवसरवादी चरित्र जताकतै फैलिएको जसको नाम हो – कम्युनिष्ट पार्टी माक्र्सवादी–लेनिनवादी, छोटकरीमा (एमाले) । तर कम्युनिस्ट पार्टी माक्र्सवादी लेनिनवादीताको त्यहाँ गन्ध पनि पाइँदैन । त्यसले काम कर्तव्य पहिलेको परित्याग गरिसकेको छ । नाम मात्रले आफ्ना कार्यकर्ता र जनतालाई भ्रमित गरिरहेको छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय हेराइ कांग्रेस समान छ । त्यसमा नेता ओलीले जन युद्ध र आन्दोलन चर्किरहेकोबेला बयल गाडा चढेर अमेरिका पुग्न सकिंदैन अर्थात् राजतन्त्रका अहिले नष्ट गर्न सकिंदैन भनेका थिए् । उनी कुनै वस्तु मानिसलाई आइतबार सही भन्छन् बुधबार त्यही वस्तु उनी अनुकूल भएन भने बेठीक भन्छन् । त्यस्ता अदुरदर्शी, समझ्दारीको अभाव भएकाको के आशा भरोसा गर्नु ? सामाजिक परिवर्तन, क्रान्ति फकाई फुलाई गरेर हुने कुरा होइन यो त समझ्दारी भएमा मात्र सम्भव हुन्छ । फकाएर, दम्काएर, धन पेलेर मात्र पाउन सकिन्छ ।
अर्को पार्टी रवि लामिछानेको जन्मनै अवैध भएको रहेछ । कर्मकाण्ड त्यस्तै छन् । उनी जे पनि गर्न सक्छन्, कहिले यता कहिले उता । उता रेशम चौधरीको पार्टी पनि छ जातीयताको हिसावले ऊ उठ्न चाहन्छ । समाजमा वर्ग पनि हुन्छन् यस्ता ऊ ध्यान दिन असमर्थ छ । मधेशवादी पार्टी यस पार्टीका धेरै जसो उपल्लो वर्गका नेता, गणतन्त्र–प्रजातन्त्र चाहन्छन्–तर भारतको इसारामा चल्छन् । भारतले जे इसारा ग¥यो, त्यही हुन्छ तर त्यहाँ पनि निम्न वर्गको नेतृत्व गर्ने दृष्टिकोण भएका नेताहरु–जनताहरु यसको विपरीत छन् । त्यहाँ देशभक्त राष्ट्रभक्त प्रशस्त छन्–यिनले भारतको मिचाहा, हेपाहा, हस्तक्षेपकारी नीतिको विरोध गर्दछन् । तर ज्ञानेन्द्र शाह राष्ट्रघाती, देशद्रोही हुन–सबै उनको व्यवहारले यही देखाउँदै आएको छ–अहिले राजा ज्ञानेन्द्र सत्ता फर्काई देऊ भन्दै हात जोड्दै भारतमा प्रशस्त भरौटे मध्येका व्यक्तिहरु पठाई रहेका छन् । भू.पू. राजा नांगिएको यो भन्दा ठूलो प्रमाण के हुन सक्छ ? भारत नेपालको भुटान जस्तै आज्ञापालक आफ्नो इसारामा चल्ने राष्ट्र बनाउन चाहन्छ ।
२५० वर्षको वंशीय राजतन्त्र र त्यसको प्रतिनिधित्व गर्ने राजाहरुद्वारा घटाइएका अप्रिय घटनाहरुको इतिहास ठूलाठूला ग्रन्थहरुमा पनि पूरा गर्न सकिंदैन । अहिले अन्तिम सामन्तवादी निरंकुश राजा ज्ञानेन्द्रले आफ्ना पाल्तु कुकुरहरुलाई सडकमा प्रदर्शन गर्न, अस्थिरता सिर्जना गर्न लगाएर आफू तिनैको बीचमा हात जोड्दै हात हल्लाउँदै हिंडेका छन् । उनले बल्ल थाहा पाएछन्–अब जनतालाई हिजोको जस्तो मुद्दा लगाएर हुदो रहेनछ । ती जसरी तसरी जम्मा गरिएका प्रदर्शनकारीहरुको नारा छन् – “राजा आउ देश बचाउ” “हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ” । भन्न त के पथ्र्यो भने तिम्रो कारण देश सत्यानासभयो । नारायणहिटीको सपना देख्न छोडिदेउ, बरु निर्मल निवास छोडेर झट्टपट्ट विदेशमा गई बस नत्र देश सिक्किम,भुटान बनाउन बेर लाग्ने छैन, देशका जनता विदेशीको दास बन्ने छन् । अर्को नारा हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, त्यसमा पनि त तिम्रो प्राणलाई देशभन्दा ठूलो मानेका छौं । त्यसैले हेर पाल्तु जनावर हो, तिमी पनि पछि पछि लागेर भूपूसँग बाहिर जाऊ । अहिले सबै नेपाली जनतालाई भन्नु परेको छ–“राजसंस्था चाहिंदैन,” देश जनता जिन्दावाद !” “समस्त दासी शोषित, पीडित जनता एक होऔं” !