चैत्र १५ गतेको घटना सम्वन्धमा संयुक्त किसान संघर्ष समितिको वक्तव्य

चैत्र १५ गतेको घटना सम्वन्धमा संयुक्त किसान संघर्ष समितिको वक्तव्य

घटनाको छानबिन गरी त्यसमा संलग्न तथा मतियारहरूलाई कडा कारबाही गर ः संयुक्त किसान संघर्ष समिति

६ वटै किसान संगठनका प्रमुख नेताहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा चैत्र १५ गतेको घटनामा जीवन गुमाउने सबिन महर्जन र श्रमजीवी पत्रकार सुरेश रजकप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै “चैत्र १५ गतेका सम्पूर्ण घटनाको गम्भीर छानबिन गर्न, घटनामा संलग्न र तिनका मतियारहरूलाई कडा कारबाही गर्न, सम्पूर्ण घाइतेहरूको निःशुल्क उपचार गर्न तथा आगामी दिनमा यस्ता घटना घट्न नदिन“ नेपाल सरकारसँग जोडदार माग गरिएको छ ।
चैत्र २१ गते काठमाडौँ । कथित राजावादी, प्रतिगामी, धार्मिक अतिवादी तथा दक्षिणपन्थी शक्तिले २०८१ चैत्र १५ गते घटाएका उदण्ड, विध्वंशात्मक तथा आततायी घटनाहरूको तीव्र निन्दा तथा भत्र्सना गर्दै सो दिनका सम्पूर्ण घटनाको गम्भीर छानबिन गर्न, घटनामा संलग्न र तिनका मतियारहरूलाई कडा कारबाही गर्न माग गरिएको छ । नेपालका ६ वटा कम्युनिस्ट पार्टीहरू निकट किसान संगठनहरू आबद्ध संयुक्त किसान संघर्ष समिति, नेपालद्वारा आज एक विज्ञप्ति जारी गर्दै सो माग गरिएको हो ।
संयुक्त किसान संघर्ष समिति, नेपालद्वारा जारी संयुक्त प्रेस वक्तव्यमा “विभिन्न स्वार्थ बोकेका पूर्वपञ्चहरू र कथित राजावादीहरूले यही २०८१ चैत्र १५ गते काठमाडौँको तीनकुने, जडिबुटी, कोटेश्वरसहित विभिन्न स्थानमा २ जना निर्दोष नागरिकको ज्यान जाने गरी घटाएका विध्वंसात्मक गतिविधिहरू, रक्तपातपूर्ण घटनाहरू र तिनबाट उत्पन्न परिस्थितिबारे नेपालका ६ वटा कम्युनिस्ट पार्टीहरू निकट किसान संगठनहरू आबद्ध संयुक्त किसान संघर्ष समिति, नेपालको गम्भीर ध्यानाकर्षण भएको” बताउँदै, “२०८१ चैत्र १५ गते काठमाडौँको तीनकुने, कोटेश्वर र जडीबुटी लगायतका क्षेत्रमा भएका ढुङ्गामुढा, नागरिकका घर, पसल, सुपर मार्केट, कार्यस्थल, सार्वजनिक सम्पत्ति, पार्टी कार्यालय, राष्ट्रिय औद्योगिक प्रतिष्ठान र यातायातका साधनहरूमा आगजनी, तोडफोड, लुटपाटसहित राष्ट्रिय झण्डाको दुरुपयोग गर्ने, कथित धर्मगुरूहरू गेरुवश्त्र धारण गरेर हिन्दु धर्मावलम्बीहरूकै बेइज्जत हुने गरी प्रहरी र नागरिकमाथि ढुङ्गामुढा गर्ने र टलिभिजनकर्मी सुरेश रजकलाई आगो लगाएर जिउँदै जलाउने लगायतका कथित राजावादी, प्रतिगामी, धार्मिक अतिवादी तथा दक्षिणपन्थी शक्तिका उदण्ड, विध्वंशात्मक तथा आततायी घटनाहरूको तीव्र निन्दा तथा भत्र्सना गर्दछौँ”, भनिएको छ ।

संयुक्त किसान संघर्ष समिति, नेपालमा नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघ (अन्फा), नेकपा (मसाल) निकट अखिल नेपाल किसान महासंघ (अप्फा), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी किसान महासंघ नेपाल, नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान यूनियन र नेकपा (माले) निकट अखिल नेपाल प्रगतिशील किसान संघ सहित ६ प्रभावशाली किसान संगठनहरू आबद्ध रहेका छन् ।
६ वटै किसान संगठनका प्रमुख नेताहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा चैत्र १५ गतेको घटनामा जीवन गुमाउने सबिन महर्जन र श्रमजीवी पत्रकार सुरेश रजकप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै “चैत्र १५ गतेका सम्पूर्ण घटनाको गम्भीर छानबिन गर्न, घटनामा संलग्न र तिनका मतियारहरूलाई कडा कारबाही गर्न, सम्पूर्ण घाइतेहरूको निःशुल्क उपचार गर्न तथा आगामी दिनमा यस्ता घटना घट्न नदिन” नेपाल सरकारसँग जोडदार माग गरिएको छ ।

संयुक्त किसान संघर्ष समिति, नेपालद्वारा जारी प्रेस वक्तव्यको पूर्णपाठः