तीन कविताहरू

तीन कविताहरू

१. इच्छुकहरू
तिमी सर्जकहरूलाई गिरफ्तार गर
जनताको गीत लेख्ने उनका हातहरूमा
हत्कडी पच्काउ वा नङमा किला ठोकेर रक्त मुछेल पार
तर पनि उनीहरू निरन्तर जनताको गीत लेखिरहने छन्
मुखमा ताल्चा झुण्डाएर
कालो पट्टीले आवरण गर
वा निर्जन काल कोठरीमा थुनेर एक्लो पार
तर पनि उनीहरू जनताको गीत गाइरहने छन्
मुटुमा आक्रोसको ज्वाला दन्काएर
इन्कलाबको नारा जोडतोडले घन्काइरहने छन् ।
खुट्टामा नेल ठोकेर
घाटीमा गलफन्दी पहि¥याऊ
तिमी जति सुकै
उनीहरूको अनन्त यात्रा अवरूद्ध गर्ने धृष्टता गर
तर पनि नेलका सिक्रिहरू चुडाल्दै
समरका अथक यात्री बनेर निरन्तर लम्किरहने छन्
तिमी जतिसुकै क्रूर बनेर
उनीहरूको शरीर चिरेर नुनचुक दल
या टूक्रा–टूक्रा पार
तर पनि उनीहरू
अविचलित योद्धा बनेर
तिम्रो मुटुमा छुरा धसिरहने छन् ।

तिमी एक मार्छौ
हजार जन्मन्छन्
तिमी एक समात्छौ
लाख भएर ओइरिन्छन्
जति टूक्रा पार्छौ
त्यति नै शक्ति भएर फैलिन्छ
ऊ क्रान्ति हो ÷ विद्रोह हो
तिम्रो सत्ता उथलपुथल पार्ने ऊ आँधी हो ।

खै कहाँ सके ?
हिटलर, मूसोलिनी र इदिअमिन
अथवा बुकासो, फूजीमोरी र च्याङकाई सेकले
क्रान्तिको आगो निभाउन,
छातीमा नोक तेर्साएर
वकपत्रमा ल्याप्चे ठोक्न लगाएर के भो ?
क्रान्तिको आगो दन्किएकै छ

सगरमाथाको शिखरमा उक्लेर
राष्ट्रिय स्वाधीनताको निम्ति
धर्ती हल्लाउँदै र आकाश थर्काउँदै
विश्व क्रान्तिको सन्देश फैलाएकै छ,
ऊ त नयाँ विचार हो, नयाँ इतिहास हो ।
२०६१–०७–२०

२. धर्तीको माया
राता मान्छेहरूले रगत पोखेर आर्जेको
राता वस्तीहरूले सौर्यवान योद्धा गुमाएको
यो धर्ती हाम्रो हो आकाश हाम्रो हो
यो वस्ती हाम्रो हो मगरात हाम्रो हो
यो मुुलुक हाम्रो हो सगरमाथा हाम्रो हो
जा छिट्टै फर्की जा
ओ याँकी तुरुन्तै जा
यो धर्तीमा टेक्न तँलाई कुनै अनुमती छैन
यो आकाशमा उड्ने तेरो कुनै अधिकार हैन ।

यो जलजला हाम्रो हो, यो सिस्ने हाम्रो हो
यो जङ्गल र भिरपाखा हाम्रो हो
खोलानाला हाम्रै हो
यो पहाड हाम्रो हो, यो तराई हाम्रै हो
जा छिटै फर्की जा
ओ चुच्चे टोपी दिल्ली जा
यहाँ वस्ने तेरो कुनै हक छैन
यहाँ टेक्ने तेरो कुनै जग छैन ।

यो गाउँ हाम्रो हो
सहर हाम्रो हो
मेचीकाली हाम्रो हो
सिङ्गो नेपाल हाम्रो हो
हामी श्रमिक, सर्वहारा र राष्ट्रप्रेमीको हो
हातमा ठेला जमाउनेको हो
होइन यो मुलुक रक्त पिपासुको
होइन यो धर्ती नरभक्षकको ।
२०६१–०२–०१

३. जीबन
कहिले काहीँ
आँखाबाट दुई थोपा आँसू खस्दा
त्यसलाई मन रोएको मात्र ठान्नु हुँदैन
किनकि
आँसू भित्र मन रमाउने खुसी पनि लुकेको हुन्छ
कहिले काहीँ
अधरमा आएको मुस्कान देख्दा
त्यसलाई दिल हाँसेको मात्र ठान्नु हुँदैन
किनकि
हाँसो भित्र मुटु चुडाउने पीडा पनि लुकेको हुन्छ
कहिले काहीँ
कसैसँग सँगै हिँडेको देख्दैमा
तन–मन मिलेको ठान्नु हुँदैन
त्यहाँ मान्छे खाने दाउ पनि लुकेको हुन्छ
वर्गीय समाजमा
आफैभित्र पनि खतरनाक वर्ग छिपेको हुन्छ
जिन्दगी भन्ने यस्तै हो हजुर
हाँस्दा हाँस्दै डाँको छोडेर रोएको पनि हुन्छ
रुँदा–रुदै खित्का छोडेर हाँसेको पनि हुन्छ ।
२०६१–०१–२५