‘पूर्व हल्ला पश्चिम हमला’ यस्तै चर्चा थियो । बि.स. २०६२ मंसिर ०७ गते हुनुपर्छ । त्यो बेला जनआन्दोलनको पृष्ठभुमि तयार गर्ने बेला पनि थियो । अघिल्लो दिन पाल्पा श्रीनगर जाने हो जानुपर्छ है भनेर जानकारी आएको थियो । स्ववियुको प्रतिनिधि समेत रहनुभएको मेरो सहकर्मी रमेश बस्याल (क.सुरज)ले क्याम्पसमा मलाई जानकारी पनि दिनुभएको थियो । उहाँ रुपन्देही तिर केही समय आन्दोलनमा समेत जोडिएर यता नवलपरासी आउनुभएको थियो । अघिल्लो पटक स्ववियुमा अखिलबाट निर्वाचित उहाँ आन्तरिक रुपमा अखिल(क्रान्तिकारी)मा आबद्ध हुनुहुन्थ्यो ।
हामी बिहानै क्याम्पसको दोस्रो पिरयड छोडेर पार्टी सम्पर्कमा गयौ । दुईवटा महिन्द्रा जीपमा मान्छेहरु खचाखच भरिए । जीपमा केही परिचित धेरै अपरिचित मान्छेहरु थिए । परिचय गर्ने चलन पनि थिएन । त्यहाँ आ–आफ्ना जिम्मेवारीहरु थिए । हामी चढेको जीपले त्यो गाउँ परिक्रमा ग¥यो । तिलकपुरको मगरमुडा हुदै जीप हाईवे तर्फ पुग्यो । हामी पाल्पा भनेर निस्किएका मान्छेहरु त्यहाँबाट पश्चिम जानुपर्नेमा पूर्व तिर गाडी हुइँकियो । जीपमा एकजना महिला कमरेडहरुले ब्यवस्थापनको भुमिका गरिरहेको देखिन्थ्यो । धेरै पछि देखेकोले होला उहाँलाई मैले ठम्याउन सकेको थिईन् । उहाँ खीमा रिजाल (क.रिता) हुनुहुदों रहेछ । कपाल काटेको पाईन्ट र सर्ट लगाएको उहाँलाई मैले धेरै पटक देखेको पनि थिएँ । सहकार्य गर्ने मौका नमिले पनि उहाँ हाम्रो गाउँ ठाँउको एउटा योद्धा नै मानिनुहुन्थ्यो । रिता हामीले अध्ययन गरिरहेको दिब्यज्योति बहुमुखी क्याम्पसको स्ववियुमा निर्वाचित भएको पूर्व बिद्यार्थी नेता समेत हुनुहुन्थ्यो । उहाँको सांगठनिक जिम्मेवारी नवलपरासी परेको रहेछ ।
जब दाउन्ने हुदै दुम्किवास पुगेर जीप उत्तर तर्फ लाग्यो । अलि पर झरेर खोला तरियो । त्यस पछि मैदानै मैदान जीप अझ उत्तर तर्फ दगु¥यो । मनोरम दृश्यहरु विस्तारै हट्दै गयो । सम्साँझै हामी हाम्रो प्रिय गाउँ सर्दी उपत्यका पुग्यौ । अझ चार घण्टा जति लाग्छ कमरेडहरु यस्तै भन्दै हुनुहुन्थो । गाउँघरमा पुगेर हामीले थोरै खाजा र पानी खायौं । अर्काे टोली पनि आइसकेपछि हामी ८ बजे तिर त्यहाँबाट पैदल पूर्व तर्फ हानियौ । अगाडी रुट गाइड जिम्मा कमरेड प्रतिमाको थियो जस्तो लाग्छ मलाई । टोलीमा देखेजानेका तर नाम थाहा नभएका धेरै मान्छेहरु थिए । हाम्रो टोली परासी क्षेत्रको भएको हुदाँ अधिकाँश थारु तथा मधेशी मुलका साथीहरु सहभागी भएको म सम्झन्छु । धेरैका हातमा लाइटर थियो केहीको हातमा टर्चलाइट पनि थियो । टर्च बाल्ने अनुमति भने थिएन् । यो समयमा शाही नेपाली सेनाले अमेरिकी साम्राज्यवादको इशारामा नाइट भिजन हेलिकप्टर सहित सर्च अभियान जारी राखेर दमन गरिरहेको थियो । टर्च बालेपनि हत्केलाले छेकेर औलाबाट सानो उज्यालो हुने गरेर बाल्न पाइन्थो । मधेशमै जन्मे हुर्केको म जस्तै अरु सहयात्रीहरु पनि पहाडमा हिड्ने अभ्यास नभएकाहरु धेरै जना हुनुहुन्थ्यो । लाइनै हिडनुपर्दा हामीले बोकेका चामल, चिउरा, दालमोठ , तरकारी,फलफूल र मट्टीतेलका जरकिनले हामीलाई भारी भइरहेको थियो । मैले सायद चिउराको सानो बोरा बोकेको थिए । त्यतिकैमा मेरो चप्पल काठको छेस्कामा अल्झिएर म लड्न पुगे । तुनावाला चप्पल थियो । बाटोमा देब्रे साईड तर्फ ओरालो र दाहिने तर्फ केही समाउने सक्ने बुट्यान पनि थियो । अल्झिदाँ मेरो दाहिने खुट्टाको बुढीऔलामा चोट लागेछ । औलाको माँझबाट रगत बगिरहेको थियो । एक जना जेष्ठ कमरेड आएर मेरो खुट्टमा मट्टीतेल खन्याईदिनुभयो । उहाँ छेदी थारु हुनुहुदो रहेछ पछि थाहा भयो । यसपछि कसैले रुमाल दियो र त्यही रुमाल औलामा बाधेर मैले यात्रा जारी राखे । मेरो हातको बोरा पनि अर्कै कसैले बोक्यो । सामान्य घाइते भएको मैले बोरा बोक्नु परेन् ।
रात छिप्पिई सकेकोले होला जुनले बाटोका पात पतिङगर प्रष्ट देखिए पनि सुकेका पातले ढाकेको ढुंगाहरु भने देखिन्थेन । जुनेली रात नै भएर होला अबेर रातमा भने जुनको लालीले केही सहज बनाउदै गयो । अलि पर पुगेपछि ठुला ठुला ढुंगाले भरिएको खोला आइपुग्यो । माथि पहाड तिरबाट कसैले हे¥यो भने पनि जुनको उज्यालोले मान्छेहरु सायद देखिन्थ्यो । रातको बाह्र बजिसकेछ । भोकले लखतरान भएका हामीले चिउरा र चिनी भएपनि खाएर बाटो लाग्ने प्रस्ताव कमरेडहरुसंग ग¥यौ । उहाँहरु मानिरहनुभएको थिएन । तर बिद्यार्थीहरुले भनिसकेपछि उहाँहरुले अस्विकार गर्न सक्नुभएन । किनभने शहर बजारमा उहाँहरुलाई सेल्टर दिलाउने काममा हामी निकै अगाडी हुन्थ्यौ । सायद त्यही भएर वा अरु कुनै कारणले हो अग्रजहरुले हामीलाई निकै मान्दथे । हामीले ठुलो ढुंगामा रुमालमा राखेर चिउरा,चिनी, दालमोठ, भुजा खायौ । कमरेड छेदी थारु र अर्काे एकजना अग्रज कमरेड लगायतले ‘भोक मिठो की भोजन’ भन्ने उक्ति सु्नाएर निकै हसाउनुभयो । हसाउने अर्काे कमरेड बृजदेव पाण्डे हुनुहुदो रहेछ । उहाँहरु दुवैजना पार्टीको सल्लाहकार हुनुहुदो रहेछ मैले अर्काे दिन मात्र थाहा पाए ।
हाम्रो कार्यक्रमस्थलको सुरक्षार्थ जनसेनाका कमरेडहरु हुनुहुन्थ्यो । खाना खाएर हामी पुरुष लेखिएको सेल्टर तर्फ गयौ । बिद्यार्थी संगठनको भएर होला हामीले भने सुरक्षार्थ सेन्ट्री बस्नु परेन् । जुनेलो र मकैको पोस्करको सिरानी र कम्मल ओडेर साढे दुई बजे हामी सुत्यौ । साढे पाँच बजे उठ्नुपर्ने समय तालिका थियो ।
मंसिरे जाडो । मधेश तिर कुहिरो लाग्दथ्यो । त्यो राकाँचुलीको केरावारी हाम्रो लागि निकै नौलो र रमणीय थियो । त्यहाँबाट उत्तरमा पाल्पा पर्दथ्यो । कार्यक्रमस्थलमा महिला र पुरुषका लागि छुटाछुट्टै चर्पी थियो । खाना खाएर कार्यक्रम शुरु हुने जानकारी दिइएको थियो । ठुलो देप्चीमा कालो चिया पाकिरहेको थियो । हामीले चिया पियौं । हामीले लाइनमा बसेर खाना खायौ । अनि, पाल टाँगेर बनाइएको वरिपरिबाट स्याउलाले बारेको हलभित्र राता झण्डा र ब्यानरले साजसज्जा गरिएको सानदार हलमा विचार सुन्न प्रबेश ग¥यौ ।