आफैँसङ्ग मौन संवाद

शनिवारीय साहित्य ः निबन्ध
८८८

शहरका छापाहरू बिलाउँदै गए । प्रकृति र विज्ञानमा जन्मने र बिलाउने क्रम निरन्तर चलिरहन्छ । पुरानाहरू सिद्धिनु जो स्वभाविक हो । नागरिकता वा विद्यालयको चारित्रिक प्रमाणपत्रले उल्लेख गरेको उमेर छ दशक पूरा भएको दिनदेखि सरकारी निकायले खास क्षेत्र बाहेक अन्य निकायबाट अनिवार्य अवकास दिन्छ । अहिलेको संहिताले साठी बर्ष उमेर पुगेपछि जेष्ठ नागरिकको प्रमाण पत्र पनि दिन्छ । म त्यही अनुरूप उमेरको उकालो चढिरहेको छु कि ओह्रालो झरिरहेको छु आफैँले भेउ पाउन्न । आफैँले आफुलाई हेर्छु । आफ्नै घरभित्र छु बाहिर चिसो बढेपनि घरभित्र लामखुट्टेको राइँदाइँ गर्मियाम जस्तै भएकोले झुलभित्र गुट्मुटिएको छु । लगातारको हाच्छिउँले नासिकाका प्वालबाट पानी झर्छ । सानो हाते रुमाल ऊ पर पाइन्टको गोजीमा कैद छ । पाइन्ट डोरिमा कतै झुण्डिएको छ । म हतपत उठेर बाहिर निस्कन्छु । नाक निचोरेर बेसिनको धारोमा पखाल्न धारो खोल्छु धारोमा पानी झर्दैन, लघुसङ्काले च्यापेको अनुभव गर्छु र बाथरुम पसेर निबृत्त हुन खोज्छु तर त्यति सहज निबृत्त हुन सक्दिन । के यो बुढ्यौलीको पूणर् सङ्केत हो ? के म ओह्रालो झरिरहेको त होइन ?

म जस्तै बूढो मोबाइल साथमा छ । केही नयाँ र धेरै नराम्रा सुचना यसले दिन्छ । साहित्यिक कार्यक्रमका केही सुचनाहरू पढ्छु । अघि मेरा बाको युगमा गाउँको कटुवालले अग्लो थुम्किमा उभिएर केही नयाँ सुचना सुनाउँथ्यो यस्तै छ अहिले यो मुहार पुस्तिकाको साथी बोलाउने चलन । कहिलेकाहिँ मोबाइल मार्फतको डकाइलाई उपेक्षा गर्दिन तर कटुवाले सुचनालाईझैँ आधिकारिक मानेर सहभागी हुँदिन । यसो गमि हेर्छु आफुलाई एक्लो एक्लो भएको पाउँछु । मलाई थाहा छ धर्तिमा फुल्ने सबै फूलको रङ एकै प्रकरको हुँदैन । न त गन्ध नै एउटै हुन्छ । सङ्गतका साथिहरू पनि हुनुहुन्छ तर कोहि पूर्व कोहि पश्चिम बेला मौकाले भेटिन्छन् । बस, दिनहरू यसैगरि धकेलिइरहेछन् । युगले निम्त्याएको र हाम्रो काबुबाट फुत्किएको नवीन मान्यतालाई नजिकबाट नियाल्नु र चिन्ताग्रस्त मनोग्रन्थी पालेर बस्नु आम मान्छेको दैनिकी बनेको छ ।

कहिलेकाहिँ आफैँमाथी चिर्पट हान्न मन लाग्छ । आफैँलाई खुइल्याउन मन लाग्छ । घर परिवार र समाजले भोगेको दर्दनाक अवस्थाले बेस्सरी खिसी गर्छन् । हो, मसित त आधा रगत रूपले बाच्न सक्ने केही आम्दानिको श्रोत छ । दर्कंदो झरिमा टाउको ओत्ने सानो घर छ । थोरै भए पनि नियमित आउने निबृत्तिभरणको आम्दानी पनि छ तर म वा मेरो समाज बोकाको मुखले कुभिण्डो खान खोजे झैँ हामी किन असन्तुष्ट छौँ । दिन धकेल्ने र काल पर्खने यो उपक्रममा इतिहासदेखि अहिलेसम्म फेरिएको संस्कार संस्कृती र पद्दतिको छोटो अध्ययन गर्दा हामीले समाजलाई कता बहाकाउँदै छौँ बोल्ने लेख्ने हुटहुटी जाग्दो रहेछ । हामी अहिले बाँचिरहेको समाजको सम्मोहन हाम्रै हितमा चलिरहेको छ अथवा परहितार्थ हो ? हामी सभ्यता र विज्ञानले आधुनिकतासित टाउको जोडेर मितेरी लगाउन त तयार भयौँ तर स्वत्व गुमेको पत्तो नपाउने भयौँ ।

जीवनको वय फेरिनुसङ्गै लय पनि फेरिने रहेछ । म अरू कसैको जीवन हेरेर यो भनिरहेको छैन । आफ्नै भोगाइसित बोलिरहेछु । जवानिको त्यो उर्बर रङ ओइलिँदै गएर कुरूप कुरूप लाग्ने अवधिसम्म आउँदा जिजीविषाका शाखाहरू भने टुसाउन नछाड्ने रहेछन् । म आफैँलाई हेर्छु र घोत्लिन्छु । मान्छेभित्र पलाएको जिजीविषा लोभ हो कि तृष्णा छुट्याउन गाह्रो पर्छ । जीवनका उर्बर अबधिमा निजी धन सम्पत्ती वा रङरौसमा जुन आशक्ति देखाइयो त्यो लोभ थियो कि तृष्णा ? म मनले खाएका बौद्धिक प्राज्ञ वा लेखकसित यही प्रश्न गर्छु । दयामाया करुणा इस्र्या रिस जस्तै लोभ अनि तृष्णा मान्छेको मनभित्र उब्जने गुणजन्य भाव हो । हाम्रो आध्यात्मिक चिन्तनले नकार मानेको काम (वासना), क्रोध, लोभ, मोह तामसजन्य गुण हुन् र त्यज्य हुन् भनेको छ । धर्मको चेष्टावान मान्छे पनि यी गुणबाट निबृत्त हुन सकेको देखिँदैन । जीवनको वय फेरिँदै गएपछि पनि कतिपय मानिसहरूमा लोभ र आशक्त बाँचेकै हुन्छ । स्मृतिमा बसेको पद्यांस सम्झन्छु ।
पुगि सक्यो प्राण सबै गलामा
परिरहेको छ अघोर धामा
तथापी पाए धनको प्रसङ्ग
पुलुक्क हेरि कन हुन्छ दङ्ग

मृत्यु शैय्यामा लडिरहेको कुनै पात्रको सम्पत्ती चिन्ताप्रति अमुक कविले सिर्जना गरेको यथार्थ हो ।

म दृष्टिको डोरोलाई अलि पर तन्काउँछु र छिमेकतिर नजर फ्याँक्छु । गृष्म यामको कुनै एकदिन मेघाच्छादित गगन अँधेरियो र असिना सहितको जल बर्सायो । त्यही दर्कंदो असिना पानीमा भिज्दै एकजना बृद्धा बारिको डिलमा पुग्नुहुन्छ र भर्खर झिक्रोमा लहरिन लागेको चिचिण्डोको मुन्टालाई छोराले घाम छेक्न बनाएको चोयाको छत्रीले छोप्नुहुन्छ । अलि पर भर्खर दाना लाग्दै गरेको आँप भुइँभरि छिरोलिन्छ । दृश्यले बृद्धाको मन र मुहार बादल लागेको आकाश जस्तै भयो । दर्कंदो असिना पानीमा चुटिएर पनि बेला पतेलासितको हजुरआमाको सम्मोहन लोभ हो कि तृष्णा म एकछिन सोचमग्न बन्छु । त्यो लोभ वा तृष्णा उनको लागि कि परिवारको लागि गरिएको माया हो । खोरमा पालिएको बाख्राको एउटा सानो चितुवाले खायो भने हामी किसान धेरै दुःखी हुन्छौँ तर त्यही पाठो बध गरेर हामी भोजन गर्दा सन्तुष्टि लिन्छौँ । यदि चितुवाले खाएकोमा बाख्रोप्रतिको माया भएर चिन्ता लागेको हो भने त्यस्तैलाई बध गर्दा त्यो माया कहाँ अलप भयो ।

एउटा गीत छ – “कसले शुरु गर्‍यो यो माया भन्ने चिज ….” यो माया भन्ने गुण मानव मनमा कसरी पस्दछ भनेर खोजी गर्ने विद्वानहरू पनि होलान् । आफुलाई थाहा नभएका कैयन वस्तुहरू अस्तित्वमा छन् म त्यो सबैको साङ्गोपाङ्गो गर्ने हैसियत राख्दिन । कुनै कुनै मानव मनमा मायाको अंश पनि नदेखिएको समाचार हामीले पढेका छौँ । जन्मजात शिशुलाई झाडिमा फालेर सुइँकुच्चा ठोक्ने बा आमा पनि हाम्रै समाजमा हामीसितै छन् । मायाको भाव पशुपंक्षीमा पनि हुन्छ । त्यसो नहुँदो हो त पशु वस्तुको बंश वृद्धिको सम्भावना नै रहन्थिएन । नभचरहरू देखिने थिएनन् । पशु वस्तु र पंक्षी जीवको माया एउटा इमान्दारितामा अडेको हुन्छ । पशु पंक्षीले मानवजस्तो निर्दयी मन बनाएका घटना कतै देखिएको सुनिएको छैन ।

मान्छे मान्छे बिचको मायाको सन्दर्भलाई लिएर मानव समुदायमा थुप्रै साहित्यहरू लेखिएका छन् । गाउँ टोल या शहरको कुनै समुदायमा दुई विपरित लिङ्गिहरूको मायाको संकेत देखियो भने चोक चौतारोमा चर्चा हुन्छ । कुनै संयोगले उनिहरूमा बिग्रह पैदा भयो र बिछोडिए भने पनि चर्चा वा टिप्पणी फेरि पनि हुन्छ । हाम्रो लोक मान्यताले भन्छ आमा र जन्मभुमिको माया अति सम्मानित हुन्छ तर यो युगको पछिल्लो प्रचलन सन्ततिले देश समाज र आफन्त बिमुख हुँदै गएको छ

अहिले डिजिटल जमाना आएको छ हिजो ‘पहिलो राल पुछ्नाले पिताको पहिलो हक पछिल्लो राल पुछ्नाले पछिल्लो पुत्रको हक’ भन्ने भाष्य सर्वमान्य थियो तर पछिल्लो पुस्ता त्यो मान्यताबाट पूणर् रूपले विच्छेद हुन थालेको छ ।

हरेकदिन गौचर हवाइ अड्डाबाट आकासिने छोराछोरीको सपना कस्तो भविष्यको खोजिमा भौँतारिइ रहेको छ । यसरी पराय मुलुक धाउनु सभ्य देशको खोजी हो कि सुसंस्कृत समाज पहिल्याउनु हो । पराय धर्तिमा समाज त मिल्छ तर देश मिल्न सक्दैन भन्ने चेतना हामीसित गुम्न थालेको हो कि भने झैँ लाग्न थालेको छ । खबरहरू हल्ला बनेर गाउँ टोलमा पस्छन् ‘एक सय क्षमताको बृद्धाश्रममा तीनसय आशृत’ ‘गाउँ पुरै बृद्धाश्रम बनेको छ’ ‘गाउँ, जहाँ मलामी जान पुरुषहरू पाइँदैन’ वर्तमानमा नेपाली समाजले उत्पादन गरेका नयाँ भाष्यहरू हुन् । गाउँ मात्र होइन शहरको अवस्थिति पनि उस्तै छ । आफ्नो व्यापार व्यवसायमा घाटा लागेको भन्दै ब्यस्त शहरका व्यापारिक केन्द्रहरू पनि बन्द भएका छन् । समाज वा राष्ट्रलाई माया गर्नु देशभक्त हुनु हो । हामी राष्ट्रवाद वा देशभक्तिको चर्को कुरा गर्छौं तर हाम्रा छोरा नातिले हाम्रो भूमिबाट खुट्टा उचालेर परचक्रिकोमा पाइला टेकेको पत्तै पाउदैनौ । यहि क्रम कसरी रोकिन्छ र रोक्छ कसले ?

आधुनिक विज्ञानले विकास गरेको सुचनाप्रविधिले अध्ययन वा रोजगारीको निहुँमा हाम्रा छोराछोरी विश्वका विभिन्न कुनामा पुगेका छन् । कतिपयले उतैको नागरिक समेत बनेका पनि छन् । बाँडिने वा छिरलिएर निर्वाह गर्ने नाममा हाम्रा पूर्वजहरू पनि यसैगरी यो भूमि आइपुगेका हुन् । मानव समुदाय फिरन्ते पनि हो जसरी पुस्तौँ अघि हाम्रो मुलुकमा बसोबास गर्न आइपुगेका थिए । यसरी छिरोलिनु बढ्नु हो या घट्नु र यसले म मेरो वा हामी हाम्रो भूमि बन्धुबान्धव जोड्दैछौँ कि छोड्दै छौँ ?