शनिबारीय साहित्य ः समीक्षा
*** ***
प्युठानको लुङमा जन्मिएका गोपीन्द्र पौडेलको भर्खरै प्रकाशित नियात्रासङ्ग्रहको नाम हो ‘यात्राको धुन’ । कृतिगत हिसाबले निबन्धसङ्ग्रहबाट आफ्नो लेखनयात्रा सुरु गरेका प्रा. डा. पौडेलले त्यसपछि भने लगालग सात ओटा समालोचनात्मक ग्रन्थहरू प्रकाशित गरेका थिए । ती सात ग्रन्थ लगायत अन्य कर्मले पौडेललाई नेपाली समालोचना क्षेत्रका प्रतिभावान् व्यक्तित्वका रूपमा स्थापित गरिदिएकै छ । प्राज्ञिक लेखनका क्षेत्रको यो उचाइलाई थाती राखेर उनी अचेल सिर्जनात्मक लेखनको उकालो चढ्ने धुनमा लागेका रहेछन् भन्ने कुरो यो नियात्रासङ्ग्रहको प्रकाशनले प्रस्ट पारिदिएको छ ।
‘यात्राको धुन’ कृतिमा विदेशयात्रासँग सम्बन्धित एक दर्जन नियात्राहरू रहेका छन् । विदेशयात्रा अन्तर्गत विशेषतः अमेरिका, यु्रोप र भारत यहाँका नियात्राका मुख्य क्षेत्र हुन् । तिनै क्षेत्रमा यात्रा गर्दा लेखकका मथिङ्गलमा बजेका धुनहरूको सङ्कलन हो यो । ती गोपीधुनहरू नौ ओटा अमेरिकासँग, दुई ओटा भारतसँग र एउटा युरोपयात्रासँग सम्बन्धित देखिन्छन् । यहाँ समेटिएका नियात्राको लमाइ फरकफरक ढपको छ । ती लमाइका हिसाबले ५ देखि ३१ पेजसम्म लामा छन् । १० पेजभन्दा छोटा नियात्राको सङ्ख्या ३ र २० पेजभन्दा लामा नियात्राको सङ्ख्या १ छ ।
यस कृतिमा रहेका १२ नियात्राहरूमध्ये धेरैजसो नियात्रालाई यात्रासन्दर्भ अनुरूप उपशीर्षकीकरण गरिएको छ । त्यस्ता उपशीर्षकहरू पनि प्रतिनियात्रा ३ देखि १७ ओटा सम्म छन् । यस्ता उपशीर्षकलाई सकेसम्म विम्बात्मक, कलात्मक र औत्सुक्यपूर्ण बनाउने प्रयास पनि नियात्राकारले देखिन्छ । प्रायः उपशीर्षकहरू सूचनामूलक छन्, दुईचार त औपचारिकतामा मात्र सीमित छन् र केही चाहिँ वण्र्य विषयसँग वक्रीसम्बन्धयुक्त एवं प्रभावोत्पादक पनि छन् । ३ ओटा नियात्रामा भने उपशीर्षक राखिएको छैन । उपशीर्षक नराखिएका नियात्राहरू उपशीर्षक राखिएका नियात्राका सापेक्षतामा कमजोर पनि देखिँदैनन् ।
वर्ण्य विषयको व्याप्तिका हिसाबले पनि यहाँ रहेका नियात्राहरूमा विविधता छ । यहाँ रहेका नियात्रामा धेरै क्षेत्रको भ्रमणलाई एकै नियात्रामा समेट्ने अनि एक क्षेत्रको भ्रमणका निम्ति एक नियात्रा लेख्ने दुबै प्रवृत्ति विद्यमान छ । युरोप यात्राका १० दिनलाई एउटै नियात्रामा समेटिएको छ । कृतिभित्र रहेको सबैभन्दा लामो यो नियात्रा पढ्दा स्तानबुल, राइनो रिभर, रोतेनवर्ग, इन्सब्रुक, भेनिस, लुगानोमा नियात्राका अलग अलग सम्भावना देखिन्छन् । अमेरिका यात्रा दुई पटकको देखिए पनि त्यस यात्राप्रसङ्गबाट भने नौ ओटा नियात्राहरू जन्मेका छन् । दुई पटकको भारतयात्राबाट दुई ओटै नियात्रा पनि बनेको छ । यसरी हेर्दा नियात्राकार यात्राअनुभूतिको विस्तार र सङ्कुचनमा स्वच्छन्द देखिएका छन् । कतै कतै त “…लाई शब्दमा व्यक्त गर्न शिल्पचातुर्य भएको कुशल लेखकले मात्र सक्छ, मबाट त्यो सम्भव छैन” (पृ. १५६) जस्ता अभिव्यक्ति दिएर अनुभूतिको प्रकटीकरण र विषयविस्तारका सन्दर्भमा आफ्नो सीमाबोध पनि लेखकले गरेको देखिन्छ ।
नियात्राको अध्ययन गर्दा लेखकले गरेको यात्रासन्दर्भमा पनि विविधता देखा पर्छ । अमेरिका यात्रा लेखकको पारिवारिक यात्राका रूपमा रहेको छ । यस यात्रामा नियात्राकारकी जीवनसँगिनी, छोरा, बुहारी र नातिनी पनि सहयात्री बनेका छन् । नियात्रामा सहयात्रीका अनुभूतिको संयोजनतर्फ नियात्राकार प्रायः उदासीन देखिएका छन् । कम भोक लाग्ने, लागे पनि डाम्रिएर बस्न सक्ने, पैसा मासिन्छ कि भनेर धेरै पिर गर्ने स्वभावको एकपक्षीय चित्रण गर्नुबाहेक आफ्नै जीवनसँगिनीका भावना, अनुभूति, धारणा, सोच, प्रतिक्रियालाई पनि नियात्रामा स्थान दिइएको छैन । युरोपयात्राको त प्रयोजन नै खुलेको छैन तर त्यस यात्रामा विश्वविद्यालयका जागिरे प्रोफेसर र निजी कलेजका सञ्चालकहरू रहेको देखिन्छ । पात्रताको यो परिदृश्य हेर्दा भ्रमण शैक्षिक टाइपको हुनुपर्ने हो तर भ्रमणमा त्यस्तो स्थिति देखिएको छैन । भारतको यात्रा भने मूलतः प्रमाणपत्रको सक्कलनक्कल परीक्षणसँग सम्बन्धित देखिन्छ । यस हिसाबले भारत यात्रा कार्यालयीय छ र यो केन्द्रमा काम परिधिमा घुमघामको ढाँचामा चलेको छ ।
यात्राको धुन नियात्रासङ्ग्रहका नियात्रा पढ्दै जाँदा पाठक नियात्राकारसँग सँगसँगै यात्रा गरिरहन्छ । पाठकलाई आफूसँगसँगै यात्रा गराउन सक्ने खुबी यहाँका नियात्राहरूमा छ । प्रत्येक नियात्राले पाठकको मस्तिष्कमा सम्बन्धित यात्राका सुन्दर बिम्बहरू भरिदिन्छ । अक्षरहरूको यानमा बसेर हरेक पाठक बिनाभिसा, बिनाटिकट विदेशतिर विचरण गर्छ अनि घरि मुस्कुराउँदै, घरि हक्कानिँदै, घरि रल्लिँदै यात्राको मजा लिन्छ । । पुरै किताब पढिसक्दा त एम्सड्रमको जगल्टे माछा, लुगानो ताल, भेनिस सहर, आबुधाबीको डलर, जहाजको मोटे, प्रोस्टेड र पिसाब, न्युयोर्कको लाइन, टेनेसीको भालु, पटनाको तेल, तिरुपतिको तातो भुइँ र नुनिलो खिर, ओसेजको मुहान सन्दर्भहरूले पाठकलाई अविच्छिन्न तृप्ति दिइरहन्छ ।
२०५६ सालमा ‘कामरेडमा नाउँ दरिएन’ शीर्षकको निबन्धसङ्ग्रहबाट आफ्नो साहित्ययात्रा थालेका पौडेललाई नियात्रा लेखनका सन्दर्भमा पनि कामरेडमा नाउँ नदरिएला कि भन्ने ठुलो पिर देखिन्छ । त्यसैले नियात्राका ठाउँठाउँमा लेखकले आफ्नो वैचारिकी प्रस्तुत गरी आफूलाई माक्र्सवादी कित्ताभित्रै राख्ने प्रयास गरेका छन् । ह्वाइट हाउसलाई उत्पीडित राष्ट्र र जनताको दोहनका लागि तानाबाना गर्ने स्थलका रूपमा चित्रण गर्नु, रमेश शर्मासँगको भेटघाट वर्णनमा आफू भौतिकवादी दर्शनमा आस्थावान् रहेको घोषणा आफैले गर्नु, न्युयोर्कको एम्पायर स्टेट बिल्डिङको नब्बेऔँ तलाबाट हेर्दा देखिएका भवनहरूको उचाइलाई माक्र्सको वर्गसिद्धान्तसँग जोडेर विश्लेषण गर्नु, टायम्स स्क्वायर र मायामीमा देखिएको रसरङ्गलाई पुँजीवादको चरम विकृतिको दृष्टान्तका रूपमा चित्रण गर्नु, सिकागोमा गाइडले दिएको सिसमहलको परिचयमा पुँजीवादको गन्ध भेट्नु, ट्रम्पलाई पुँजीवादी जिम्दार अनि उसको सिसमहललाई ट्याक्स छलेर बनाइएको महल भन्नु, अमेरिकाको समृद्धिबाट आनन्द र पीडा दुबै अनुभूत गर्नु जस्ता प्रसङ्गले नियात्राकारलाई कामरेडकै रूपमा द¥याउन पहल गरेका छन् ।
यसरी यात्राका अनेकानेक प्रसङ्गमा बोझिलो नहुने गरी आफ्नो विश्वदृष्टिकोणलाई राख्दा त्यसले मिहिन ढङ्गले पाठकमाथि विचारको राजनीति गरिरहेको छ । प्रस्तुतिको यति सुन्दर ढाँचालाई तोड्दै नियात्राकारले सिकागो सहरको यात्रावृत्तान्तको रहलपहल कुरा उपशीर्षकमा माक्र्सवादी धङधङीको आरोप लगाउन मिल्ने टाइपबाट दार्शनिकताको प्रदर्शन गर्न पुगेको पनि देखिन्छ । अर्कोतिर पुँजीवाद, उपभोक्तावादी संस्कृति, किसानको सम्पन्नताका बारेमा स्वनामधन्य व्यक्तित्वबाट जेजस्तो टिप्पणी गरिएको छ, त्यो अपेक्षाकृत गम्भीर र प्रभावकारी बन्न सकेको देखिँदैन ।
यस नियात्रासङ्ग्रहमा नियात्राका सन्दर्भहरू प्रस्तुत गर्दै जाँदा लेखक पटक पटक जन्मभूमितिर फर्किने गरेका छन् । यसरी फर्कँदा लेखक प्रायः प्युठानको लुङतिरै पुग्छन् र कहिलेकाहीँ त्यसैलाई सामान्यीकरण गर्दै देशको स्थिति र जटिलताबारे टिप्पणी गर्न तम्सिन्छन् । लुङ जिन्दगीका स्मृतिमा लुङ खोलो आउँछ अनि आउँछन् बाहाने, रोकाघर, ढाँड, गोठाल्ना, जिम्रापाताल, गाबै, लाखाचौर, जहाजधुरी, देहाल्नाचौर, टुटन्या आदि पनि । वैदेशिक यात्राकै प्रसङ्गमा त्यहाँबाट बाहिर निस्केर कहिले नियात्राकार जलजला पुग्छन्, कहिले सेपेको धुरी, दाङको गोग्ली र रुकुमको कोल चहार्छन् त कहिले बटौलीको गेस्टहाउसमा खाइखुराकी गर्छन् । भाषिक प्रयोगमा समेत खँगार्नु, तुर्नु, नार्नु, टिमुर्किनु, थेचारिनु, प्यावा, ढिककुना, गन्देउना, गौपराणी, कोप्चेरो जस्ता शब्दको प्रयोग गरेर नियात्राकारले प्युठानको सेरोफेरोलाई अभिव्यक्ति कौशलमा पनि जोडेका छन् । कसेरीपिपलमुनि सामान्य किसान परिवारमा जन्मिएको मान्छे यसरी सुदूर विदेशका पर्यटकीय स्थलहरू मस्तसँग घुम्न पाएको गौरवबोध पनि ठाउँठाउँमा आएको छ । नियात्राकारलाई त्यहाँ गरिएको प्राकृतिक स्रोत साधनको संरक्षण र त्यसको अनुप्रयोगबाट भएको आर्थिक उपार्जन देख्दा आफ्नो देशले पनि त्यसो गरे हुँदो हो नि भन्ने लाग्छ अनि हुति नभएको राज्यसत्तालाई व्यङ्ग्य गर्न मन लाग्छ, “हामीलाई हाम्रा नदी ताल, तलाउ कुण्डहरूले उपहास गर्छन् र गिज्याउँछन् । हुन पनि बुझक्की हुन नसकेर बुज्रुक बनेका हामीहरू अरूबाट राम्रा कुराको सिको गर्नुभन्दा पनि नराम्रोे कुराको सिको गर्न खप्पिस छौँ । हामीले सिकेको मौलिक ज्ञान यही हो ।” (पृ. १२७)
कतैकतै देखिने बौद्धिकताको तिरमिराहट, रुखो सूचनात्मकताको किरिकिरी अनि भाषिक वर्णविन्यासका कसरमसरलाई छोड्ने हो भने यस सङ्ग्रहका नियात्राहरूमा यात्राअनुभूतिको मनमोहक वर्णन पाइन्छ । साहित्य यस्तो र उस्तो हुनुपर्छ भनेर थन्थनाइरहने प्राध्यापक तथा सिद्धान्तनिष्ठ आलोचना गर्ने प्राज्ञिक व्यक्तित्वलाई आफै सिर्जनात्मक कर्ममा बयेली खेल्दा आइपर्ने अप्ठ्यारोलाई यहाँ नियात्राकारले सफलतापूर्वक पार गरेका छन् । यात्रास्थलको सजीव चित्रण, जन्मभूमिलाई सुमसुम्याउने प्रयास, देशको चिन्ता, शोषणकारी महाव्यवस्थाको विरोध तथा माक्र्सवादी विश्वदृष्टि यहाँ सङ्गृहित नियात्राहरूका प्राप्ति हुन् ।
(लेखक ः पाटन संयुक्त क्याम्पस, पाटनढोका, ललितपुरका उपप्राध्यापक हुन्)