गढीमाइमा राँगा बोका ढालेझैँ
रोल्पादेखि गोरखासम्म
धनुषादेखि डोल्पासम्म
आयुधहरू ढाल्ने तरबार उही छ
आदेश दिने घरबार उही छ
पुस्ते मठाधीश छाउपडी गोठमा सरेको मात्रै हो
अस्तु थुप्रिएको दरबार उही छ
उस्तै छ महाभारतको लेक
उस्तै छ हिमालको सेपिलो भेक
भोक उस्तै रोग उस्तै
सिँदुरेजात्राको नायक मात्र फरक ।
ढोकामा उभिएको छ
खुला बजारको आयतित सभ्यता
कसौँडिमा छड्काएको चाउचाउको त्यान्द्रा
डेरीको दुधसित मुछेर ज्यामाले
नातिनीलाई को खाइ को खाइ गर्दै फकाए जस्तो
यो कलमी जमानामा
केराको थाममा अम्बा कागती र आँप
एकैचोटी फुलाउन फलाउन र पकाउन सकिने
वणर्सङ्कर जादुको बिषालु हावा
शहरमा मात्र होइन गाउँमा पनि छपक्क छ
शिशिरमा पातहरू झर्दैनन्
जब्बर बनेर जुकाजस्तै टाँसिन्छन्
लोकतन्त्रको बार्दलिमा
बासन्ती पालुवा हुर्कन नपाउँदै बतासिन्छन्
पसिनामाथि कर कर र कर चुसेका मलसाँप्राहरू
मिथ्या नारा फलाकिरहेछन्
हामी नयाँ युग दिन्छौँ ।
यो दुनियादारको हातमा उम्रिएको
खिल गढेको सन्निपातको पिलो
सधैँको मर्मान्त पीडा
जाङ च्यातिएको आधुनिक सत्ता सभ्यता
माथमा अल्झाएको रङ खुइलिएको रातो शिरपोश
शिरपोशले दरिएको लाल बादशाह
दायाँ वाहुले सँधियारलाई अङ्कमाल गर्दै
बायाँ बाहु ढुकुटिको भण्डार सोहोर्न ब्यस्त
जनमनले अस्वीकारेको यो प्रहसनको
अन्त्येष्ठिको मुहुर्तलाई निम्तो दिन बेर नगरौँ
जाङ चातिएको सत्ता सभ्यतालाई
आँधी हुरी र घ्याप्लेको पहिरो डाकेर
निमिट्यान्न पार्न आँट बल सहासले
उमार्नु छ एउटै चिहानको खाडल ।