अाबारा गुन्डाले
स्पाटार्कसलाई धारे हात लगाएर
लाञ्छित गर्दैमा
अथवा इतिहासको सङ्गीन घडीमा
खिसिट्युरी गरेर
रत्यात्मक आनन्द लिएर
दाहिने र देब्रे दुवै सिङले
हानेर स्पाटार्कसलाई
रगतपच्छे बनाएको ठानेका हौला
स्पाटार्कस जिउँदो मानिस हो
बहुराष्ट्रिय कम्पनीको
दानापानी खाएर
उग्राउने र बान्ता गर्ने
विचारविहीन गधा त हुँदै होइन
प्रुधों काउत्स्की बर्नस्टिन
बाकुनिन मार्तोभ ख्रुस्चेभ
काट्सकी मिलेंरा देङहरुको
वीर्याधानमा निर्मित विकसित
कुनै बर्बर अजीव
प्राणीको स्वरूपमा ढालिएको
काम्य आराध्य पुरुष जस्तो
पनि त होइन मेरो स्पाटार्कस
मिथक फेन्टासीलाई
आफ्नो आँखामा राखेर
दुनियाँ र यसका बासिन्दालाई
भ्रमको पोखरीमा डुबाउने
तिम्रा नायकभन्दा
मेरो स्पाटार्कस कति हो कति अग्लो
बुर्जुवा ठर्राको मातमा
न पराक्रमी पाइला देखिन्छ
न त उत्सर्गका ध्वनि सुनिन्छ
कहिले कथितका पाउमा
ग्याालेनका ग्यालेन ओसारेर
कहिले एनजीओ आइएनजिओका
मानव तस्करीमा लागेर
कमाउन कमायौ होला
र मुस्करायौ होला
परन्तु
स्पाटार्कस तिमी जस्तो छैन हुन्न पनि
क्रान्ति र मुक्तिको निम्ति उदाएको सूर्यको
प्रतीक र बिम्ब
हुन सक्दैन हरूवा मरन्च्याँसे
हुन सक्दैन चारण भाट र पराश्रित
हुुन सक्दैन साम्राज्यवादीको चाटुकार
स्पाटार्कस
तिमीहरू जस्तो
मस्तिष्कहीन मुुर्कट्टा
हड्डी नभएका खुट्टा जस्तो
कहाँ पो हुन्थ्यो
रिढ नभएका किरा जस्तो
मार्क्स लेनिन र माओ
चे र तिनका अनुयायीमा
झल्कने बिम्ब नै त
स्पाटार्कस हो
तिमीहरू जस्ता
परजीवी किर्नाले
उसको कठोर भीषण रूपलाई
आफ्नो नक्कली अनुहार जस्तो ठानेर
उपहास गर्दैमा
स्पाटार्कस तिम्रा नायक जस्तो
न त घृणित हुन्छ
न त खसीको कबाब भनेर
कुकुरको मासुमा रमाउँछ
मेरो प्रिय स्पाटार्कस
तिमी यतिबेला
हाँस्नु हुन्न ।