शनिबारीय साहित्य ः कविता
*** ***
जब ढल्किन्छ साँझ
चिसो बढ्छ र उदाउँछ नीसा
घोच्छन् पूर्वस्मृतिहरूले
सम्झनामा आउँछन् बासुदाइ
खिरिलो लट्ठी टेकेका
बोझिलो झोला बोकेका
नीसाको एकोहोरो साम्राज्यमा
पर कतै पड्कन्छ गोली
बढ्छ बढ्दै जान्छ
अलिकती झस्कन्छु
अलिकती फुर्कन्छु
जब खस्छ धर्तिमा कलिलो घाम
आँगनमा गर्जिन्छन् जुत्ताको डाम
घर पराल गोठ कटेरो
उफ्रन्छ शान्तिसुरक्षाको लगाम
म यत्नले गर्थेँ यिनेरुलाई हजाम ।
अवचेतनमा उभिएर एक निमेष टोलाउँछु
भित्तामा टाँगिएका चित्रहरूमा हेर्छु
मेरै काखमा खेलेका
वैरागी, समीर र कल्याणहरू
लहरै उठेका चेतयुक्त मुट्ठिहरू
अनि कोक्किन्छ घाँटी÷चर्कन्छ छाती
ठान्छु सपना होस् यो
होइन यो खास विपना हो
इतिहासले ब्यहोरेको ज्युँदो साक्षि
मेटिन नसकेका डोबहरू
मेरो स्मृती ऐँठन ।
म पुग्छु सदरमुकामको बजार
परैबाट देखिने जीर्ण काराघर
त्यहीँ छन् आशाकाजी हिमाल
त्यहीँ छन् लेखनाथ, नरनाथ र पूर्णमान धिमाल
उताबाट हाँस्दै आउने शिव
हातमा झुण्डिने सारङ्गी झोला
हात मिलाउँदै तरिएथ्यो खोला
“पुगिन्छ साथी लक्ष्यमा एकदिन’’
गीत गुञ्जन्थ्यो चौरमा एकछिन
कहाँ हरायो गीतको बोल
कहाँ हरायो दोर्जेको मादल ?
हुरीसित जुधेको सल्लो
कसरी फेरियो भोइँझारमा
कोपर्छ बेस्सरी स्मृतिले ।
सुन्तला भनेर रोपिएको बिरुवामा
कसले ग¥यो कलमी र फलेको हो चिलौने
आगोका असिना बर्सिएका दिनमा
धार्चेको वनमा विश्राम लिने युवा
कसले पु¥यायो मलेसियाको झाडी
कसले उडायो उनेरूलाई खाडी ?
पल्टाउँछु जनादेशका पुराना पाना
सुरुङ्ग खोलेर निस्किएका उमा अनि मीना
कसरी पुरियो त्यो सुरुङ्ग
दराजको चेपबाट निस्किएका पर्चाले
जिस्क्याउँछन् जीतविरको मसी
उप्किएका चित्रहरूले गिज्याउँछन्
ढिकुरे छबिको जिह्व
कसले खुवायो तिनलाई वर्णशङ्कर दाल
मलाई दगा दिएको स्मृतिले भन्छ
फेरि पनि चिहानहरूबाट
झिक्नु छ धारिला औजार
भेट्नु छ यात्राको अन्तिम गन्तव्य ।