काठमाडौं/९, कात्तिक
अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय संयोजक हिरामणि दुःखीले आज एक विज्ञप्ति जारी गर्दै प्यालेस्टिनी जनताका विरुद्ध इजरायली फासिवादी सरकारले गरिरहेको व्यापक नरसंहारको विरोधमा एकजुट भएर आवाज उठाउन अपिल गर्नुभएको छ । संयोजक दुःखीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘प्यालेस्टिनी जनताको स्वाधीनता, स्वतन्त्रता र मानवीय अधिकारको समेत हनन् गरी साम्राज्यवादी अमेरिकाको समर्थन र सहयोगमा इजरायलद्वारा प्यालेस्टिनी जनतामाथि हुँदै आएको बर्बर आक्रमण, हत्या र घरबारविहीन बनाउने कुकृत्यको हाम्रो सङ्गठन तीव्र भ्रत्सना र निन्दा गर्दछ ।’
विज्ञप्तिमा दुःखीले इजराल सरकारले प्यालेस्टिनी जनतालाई उनीहरुको आफ्नो मातृभूमिबाट लामो समयदेखि विस्थापित गरिएको र आफ्नै भूमिमा निर्वाध बाँच्न पाउने मानवाधिकारको विश्वब्यापी मान्यताबाट वञ्चित गराउने र उनीहरूलाई सखाप पार्ने दुश्चेष्टा मात्र गरिएको छैन, साना साना नानीहरूलाई समेत क्रूरतापूर्वक मार्ने काम गरेको बताउनु भएको छ । विज्ञप्तिमा अगाडी भनिएको छ- ‘हजारौं मानिसको हत्या, भौतिक संरचनाको विनास र खानेपानी, स्वास्थ्य उपचारबाट बेदखल गर्ने जस्ता गम्भीर अपराध इजरायलले गरेको छ । स्कूल, कलेज तथा अस्पतालहरुमा समेत ताकीताकी गोला बारुद र बम वर्षाएर निर्मम तरिकाले निहत्था जनताको कत्लेआम गरिएको छ । संयुक्त राष्ट्रसङ्घका कार्यालयहरुमा समेत बम वर्षाइएका छन् र मानवअधिकारको धज्जी उडाउने काम भएको छ । राष्ट्रसङ्घले युद्ध रोक्न गरेको अपिललाई वेवास्ता गर्दै अमेरिकाको आडमा गरिएका त्यस किसिमका कार्यवाही मानव अपराध हुन् र हामी न्यायप्रेमी मानिसलाई उक्त इजरायली कदमका विरुद्ध आवाज उठाउन अपिल गर्दछौं ।’
संयोजक दुःखीले यस प्रकारका मानव अपराध कर्ममा लिप्त रहेको इजरायली फासिवादी सत्ताका विरुद्ध अन्तर्राष्ट्रिय क्षेत्रमा आवाज उठाउन, कुटनीतिक दवाव सिर्जना गर्न र इजरायल सरकारसँग गरिएका दौत्य सम्बन्धका बारेमा पुनर्विचार गरी चेतावनी दिन समेत नेपाल सरकारलाई अनुरोध गर्नुभएको छ ।