शनिबारीय : साहित्य
*** ***
उनै बुद्धिजीवी हुन्
हिजो यताको खबर
उता पुर्याउँथे
र आफ्नो किमती
जागिर पूुरा गर्थे
समय बदलिएको छ
तापनि
उनका जागिरमा
कुनै फेरबदल छैन
हिजो तिब्बतको
हिसाबकिताब बुझाउँथे
सिक्किमको पक्षमा
प्रखर बहस गर्थे
कालापानी लिपुलेक
लिम्पियाधुरा सुस्ता गण्डक
यता नहुँदा
के फरक पर्छ र
भन्दै
आफुलाई अब्बल राष्ट्रवादीको
पगरी आफैं लगाउँथे
अझ अस्तिताक हो क्यारे
पहेंलो दौरासुरुवालमा
सजिएर
विशेष पर्वहरुमा
ठाँटिएर फुलमाला सजाउँथे
राता पहेंला निला
डुङ्गामा
सबैतिर उभिएर
नदीभित्रकै कोटिहोममा
स्वाहा स्वाहा गरिरहेका हुन्थे
कहिले कांबड जुलुसमा
कहिले रामसीताको
परिक्रमामा
कहिले सुन्दर पीतवस्त्रमा
बेरिएर विविध पुण्यस्थलमा
देखिने महिमामण्डित पात्र
यिनै त हुन्
फेरिने स्वभाव भएकैले
फेरिफेरि देखिरहन्छन्
कुनै समयमा
गुप्त दुत
कुनै बेलामा खाओदुत
फरकफरक रङमा
रङ्गिई छारो छरिरहन्छन्






























