शनिबारीय साहित्य : संस्मरण
*** ***
दशैं आयो । हरेक वर्ष जस्तै सम्भव भएसम्म तपाईंहरू पनि आ आफ्नो घर पुग्नु नै होला । छुट्टि, चाडवाड त्यसमाथि परिवारको साथ ! रमाइलो त अवश्य होला । रमाइलोको साथसाथै सौहार्दता पनि नभइनहुने कुरा हो । परिवारमा सौहार्दता कायम राख्न अभिभावकको भावना र आवश्यकता बुझेर घरको सानोतिनो काममा कतिले ध्यान दिने गर्नु भएको छ ? विगतमा घर जाँदा तपाईंहरू मध्ये कति छोरा-बुहारी वा नाति-नातिनाले आफ्नो काम आफै गर्ने गर्नु भएको छ ? बाआमा बस्ने घर,आँगन, चोटा-कोठा कुनाकाप्चा कत्तिको सरसफाई गर्ने गर्नुभएको छ ? कि हेर्दै हेर्नुहुन्न ? वा बिग्रिएका सामान मर्मतसम्भार गर्नु हुन्छ कि हुँदैन ? यति नगरे पनि आफू बसेको कोठा कतिले बढार्नु हुन्छ ? सुतेको तन्ना कतिले धुनुहुन्छ ? आफू बसुन्जेल फोहोर गरेको ट्वाइलेट वेसिनहरू कतिले सफाचट पारेर फर्किनु हुन्छ ? वा बुढाबुढीले थन्क्याएर राखेको भाँडाकुँडा र लत्ताकपडा झिकेर प्रयोग गरिसकेपछि कतिले सफा गरेर यथास्थानमा राखिदिनु हुन्छ ? कि लथालिङ्ग पारेर आँफै च्याट्ट पर्दै फर्किने गर्नु भएको छ ? यी सब तपाईंहरूलाई नै थाहा होला । यो मेरो स्वार्थको विषय होइन । न त बृदबृद्धाको लागि गुनासोको विषय नै । एकदम सामान्य कुराहरू हुन् र नितान्त परिवारभित्रका कुराहरू हुन् । तर यिनै सामान्य कुराहरू बुढाबुढीका लागि माया र आदर मापन गर्ने महत्त्वपूर्ण यन्त्र भने पक्कै हो । हामी हरेकलाई सौहार्दता मन पर्छ । अझ (आफूले जस्तो गरे पनि) आफूमाथि सबैले सौहार्दपूर्ण व्यवहार गरोस् भन्ने चाहन्छौँ । तर एकदमै सामान्य लाग्ने यस्ता कुराहरूमा भने ध्यान पुगिरहेको हुँदैन । जसले गर्दा परिवारको सौहार्दता खलबलिँदै विखण्डनको अवस्थामा पुग्दछ र जसको मार वृद्ध-वृद्धाले नै खेप्नु पर्दछ ।
हाल एकादुइ घर छाडेर गाउँघरका मात्र नभइ शहर बजारका पनि अधिकांश घरमा पाका अभिभावक मात्र रहेको अवस्था छ । घरहरू खालीखाली छन् । नेपालीमा यौटा भनाइ छ ‘जति भाँडो उति चुबुर्को‘जति ठाउँ भयो उति सामान थपिन्छ । जति सामान थपियो उति दु:ख र फोहोर बढ्छ । यो त हामी सबैले जाने भोगेकै कुरा हो । खाली घरमा कुनै आवश्यकताले थपेका त कुनै रहरले थपेका सरसामानहरू असरल्ल हुन्छन् । सक्ने छोराछोरीले बाआमाको सुख सुविधाको लागि फ्रिज, वासिङ् मेसिन, भ्याकुम, राइसकुकर, ग्य्रान्डर वा केही न केही इलेक्ट्रोनिक सामग्री पनि लगेर राखिदिएकै हुन्छन् । भेटघाटमा जाने आफन्त र बिहेबटोल, पूजा-आजा आदिबाट उपहार पाएका कोसेली-पात प्राय: कपडाहरू हुने गरेको पाइन्छ । यी सामग्रीहरू समेल्न र उपयोग गर्न अशक्त हुँदै गएका बृद्धबृद्धाको लागि दु:खको मेसो बन्ने गरेको धेरै देखिएको छ ।
वृद्धवृद्धालाई आधुनिक सामानहरू कसरी चलाउने, कुन सामानमा कुन तार जोड्ने ? फोहोर हुँदा कसरी सफा गर्ने ? सफा गर्दा बिग्रिए के गर्ने ? अनावश्यक लुगाफाटाको व्यवस्थापन कसरी गर्ने ? आदि कुरामा न त शरीरले साथ दिन्छ न त अनुभवले । अनेक रोग र शोकले जीर्ण बन्दै गएको अवस्थामा आफ्नै लागि दुई साँझ पकाउन हम्मेहम्मे हुन्छ । अनेक कारणले जोडिएका सरसामानको संरक्षण पो कसले गरोस् !
त्यसो भए सुविधाका सामग्री नै नकिन्ने त ? होइन, किन्ने । तर किनिदिनु मात्रै जिम्मेवारी होइन । कुन समान कहाँनेर कसरी राख्ने, कसरी चलाउने, कसरी सरसफाइ गर्ने, बिग्रिएमा कसो गर्ने भनेर बुझ्ने गरि सिकाउने अथवा हरेक पटक आफू घर जाँदा के कस्तो अवस्थामा छ भनेर हेर्ने । सरसफाई गरिदिने । बिग्रेको भए बनाइदिने र सिकाउने कामलाई आफ्नै जिम्मेवारी सम्झिने गरेमा समस्या नै जन्मँदैन ।
सौहार्दताको सन्दर्भ खास गरि बुहारीसँग जोडिएको हुन्छ । तर चाडवाडमा बुहारीमाथि मात्र कामको भार थपिएकोतिर कसैको ध्यान जाँदैन । सरसफाईको काम त बुहारी मात्रैको हो भन्ने मनोविज्ञान अझ जिवन्त छ । तर यस कुरामा छोराले ध्यान दिने हो भने परिवारको वातावरण साँच्चै सुन्दर बन्ने देखिन्छ । कतिपय बृद्धबृद्धालाई आफूले राखेको सरसामान बुहारीले चलाएको मन नपर्न पनि सक्छ । मन नपरेपछि सामान हरायो वा बिग्रियो अथवा फाल्दिए कि…भनेर आशङ्का गर्ने गरेको पनि पाइन्छ । यस्तो अवस्थामा बुहारी सतर्क भएर पछि हट्ने, छोरा “छोरा” पल्टिने, र बाआमा आफैं नसक्ने हुँदा अवस्था बिग्रँदै जाने गर्दछ । यस्तो अवस्थामा आमा बुवाको कोठा छोराले सफा गरिदिने, सामान मिलाइदिने अनावश्यक सामान वा अनावश्यक अौषधी हटाइदिने गरेमा धेरै सहज हुने देखिन्छ । जुन काम छोराले गर्दा सहज मात्रै होइन आमाबाले छोराको माया र हेरचाहको अनुभूति गर्ने अवसर पनि पाउने छन् तर हाम्रो समाजमा छोरालाई यस्ता झिनामसिना कामको लागि तयार नै गराएका हुँदैनौँ र जता जे बिग्रे पनि बुहारीको दोष देख्ने गर्दछौँ । छोरा पाहुना जस्ता हुन्छन् । उनीहरू चाडवाडमा घर पुग्दा मीठो मसिनो अफर गर्ने, साथीभाइ आफन्त भेट्न हिड्ने अथवा अहिले त मोबाइलमा व्यस्त रहने र सबैथोकको भार बुहारीमाथि नै थोपार्ने गरेको पनि पाइन्छ । चाडवाडमा बुहारीमाथि यसै पनि भार थपिन्छ । आयल-गयल, खान-पान, सरसफाइ, सबैतिर गर्दागर्दै बुहारीको भागमा अपजस मात्रै बाँकी रहन्छ । वर्तमानका बुहारीहरू पनि सबै कुरामा ध्यान पुर्याउन समर्थ देखिँदैनन् । वृद्धवृद्धाको चित्त बुझ्दैन । चित्त नबुझेपछि सानो तिनो गुनासो हुने नै भयो । गुनासो उब्जिन नदिनको लागि छोराको भूमिका महत्त्वपूर्ण हुन्छ ।
छोराले पनि जिम्मेवारी बोध गरेर काम गर्ने, परिवारमा समन्वय गरिदिने चाडवाडमा घर पुगेका सक्ने उमेरका नातीनातिनाले आफ्नो काम आफैं गर्ने हो भने खुसी पनि सबैको भागमा पर्दो हो र सौहार्दता पनि बढ्दो हो । तर छोराहरू परम्परागत मुल्य मान्यताबाट टसकोमस नहुने र झिनामसिना विषयमा ध्यान नै नदिने परिपाटीले एकातर्फ बुहारी अप्रिय हुँदै जाने र परिवारको सौहार्दता पनि खलबलिने गरेको देखिन्छ ।
परिवारको युवाशक्ति विदेशिने र सानोतिनो समस्याका कारण परिवार एकल बन्दै जाने गर्दा वृद्ध-वृद्धाको स्थिति कारुणिक र भयावह बन्दै गएको अवस्था छ । यो अवस्था यौटा घरमा वा यौटा गाउँमा मात्र सीमित छैन । देश सिङ्गो चपेटामा छ । यो राज्य व्यवस्था, पुँजीवाद र सुखसयलले निम्त्याएको समस्या हो । राज्यलाई जिम्मेवार बनाउन आफ्नो ठाउँबाट भूमिका खेल्दै आफ्ना आमाबाको कदर र सम्मानसहित आआफ्नो समृद्धतामा ध्यान दिऊँ । घरको “सौन्दर्य” जोगाउनमा छोराको जिम्मेवारी प्रधान हुने भएकाले छोराहरूले पनि परम्परागत मूल्य मान्यतालाई पछाडि नै छाडेर नविनतम् संस्कार निर्माण गर्ने प्रयत्न गरून् । सम्बन्धलाई थप सुमधुर बनाउन सबैले आ-आफ्नो जिम्मेवारी बोध गर्न सकौँ । सबैमा शुभकामना !