शनिबारीय साहित्य : कविता
*** ***
तैंले देवता मानेर
हर बखत पुज्ने गरेको
तेरो देवताले तैंमाथि
आगो खन्याउँदा पनि
किन पुजिरन्छेस् ?
बारबार आफूमाथि
अपमानका घैला खन्याउँदा पनि
रुझ्दिनस् कहिल्यै ?
कसरी सकेकी
त्यसैलाई देवता भनिरहन
त्यसैको नाममा सिङ्गारिएर
त्यसैलाई पुजिरहन
अझ त्यसैको दिर्घायूको कामनामा
निलाहार बसेर
आफैमाथि अन्याय गरिरहन
कसरी सकेकी ?
फूलजस्ता छोरीहरूमाथि पनि
त्यै अन्यायले राज गरोस् भनेर
त्यसैलाई जीवन्त राखिरहन
एइ, कसरी सकेकी
आफैमाथि बज्रिने बज्रस्वाँठलाई
पुजनीय भनिरहन ?
सत्य, मलाई तेरो देवतादेखि भन्दा बढी
तँदेखि उठिरहेछ रिस !
तेरो नालायकी कामदेखि
जलिरहेछु भित्रभित्रै
दोष देख्दिन, तेरो जति तेरो देवताको
ऊ जन्मदै मान्छे भएर जन्मिएको
हुर्किँदै मान्य भएर हुर्किएको
कु-मान्छे भनेर चिनेपछि पनि
हिंस्रक भनेर जानेपछि पनि
हजुर नै मेरो देवता भन्दै
पुजिरहने तेरो ‘क्षमता’
तेरो धृष्टता
कयौँ गुणा दोषी छ
त्यै दोषले थिचेर
रोकिँदासम्म आफ्नै सास
किन गर्दिनस् प्रतिकार ?
रिस तेरो देवता भन्दा बेसी
तँदेखि उठेको छ
तँदेखि तैंसम्म पुगेर
खरानी बनाउँ झैँ भएको छ
तेरा दोषहरू
त्यै खरानीको कसम लाएर
हिँडौँ झैँ भएको छ
तिनै देवताहरू सिध्याउन
एइ, महारानी !
उठ्दिनस् अझै ?
उठ् , हिड् सिध्याइदिउँ
देवता र दासीका परिभाषाहरू/सम्बन्धहरू
स्थापित गरौँ
मान्छे मान्छे दुई प्रजातीको
समतामूलक परिभाषा
र समानान्तर सम्बन्ध
एइ महारानी, उठ् !
२०८१/५/८