काठमाडौं । मंसिर १३ देखि २३ सम्म हुने पार्टीको एकता महाधिवेशनलाई लक्षित गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशैभरका पार्टी कमिटिहरुको सम्मेलन र भेलालाई तीव्र पारेको छ । वडा र पालिका स्तरीय पार्टी कमिटिहरुको भेला र सम्मेलन पश्चात अहिले धमाधम रुपमा जिल्ला अधिवेशनहरु सम्पन्न हुने क्रममा रहेका छन् । यसै क्रममा पछिल्लो पटक प्रदेश १ को मोरङ र प्रदेश ३ को भक्तपुर जिल्लाका सम्मेलन सम्पन्न भएका छन् । पार्टीका बरिष्ठ नेता सीपी गजुरेलको प्रमुख आतिथ्यतामा भक्तपुरको सम्मेलन सम्पन्न भएको छ भने पार्टी कार्यालय सदस्य रामसिंह श्रीसको प्रमुख आतिथ्यतामा मोरङको जिल्ला सम्मेलन सम्पन्न भएको छ । सोमबार सम्पन्न मोरङ जिल्लाको सम्मेलनले बादलको नेतृत्वमा २७ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । त्यसैगरी भक्तपुर जिल्ला सम्मेलनले विवेकको नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटि निर्वाचित गरेको छ ।

यसैबिच, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एकता महाधिवेशनको ब्यानर सार्वजनिक गरेको छ । पार्टी हेडक्वार्टरले मंगलबार सबै मिडियाहरुलाई ब्यानर इमेलमार्फत् प्रेषित गरी मूल ब्यानर सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको ब्यानरमा ‘राष्ट्रिय एकता महाधिवेशन भब्य रुपमा सफल पारौँ !, ‘नयाँ जनवादको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अगाडि बढौँ !!’ भन्ने मूल नारा उल्लेख गरिएको छ ।
महाधिवेशनलाई व्यापक बनाउन महाधिवेशन प्रचार प्रसार समितिले २०८१ भदौ १२ गते जुम बैठक सम्पन्न गरी महाधिवेशनको कार्यतालिका समेत सार्वजनिक गरेको थियो । बैठकले विस २०८१ भदौ मसान्तसम्म देशका निम्न नाकाहरुमा महाधिवेशनको मूल नारा, समय र स्थान उल्लेख गरेर होडिङ÷फल्यास बोर्ड राख्ने निर्णय गरेको थियो ः काँकभित्ता नाका – झापा जिल्लाले , जोगवनिको नाका – इहटरीमा मोरङ जिल्लाले, विरगन्ज नाका – पर्सा, बाराले, तातोपानी नाका – सिन्धुपाल्चोक जिल्लाले, रसुवा नाका – रसुवा र नुवाकोट जिल्लाले, भैरहवा सुनौली नाका – रुपन्देही जिल्लाले, कृष्णनगर नाका – कपिलवस्तु जिल्लाले, नेपालगन्ज रुपैडिया नाका–बाँके जिल्लाले, धनगढी गौरीफन्टा नाका – कैलाली जिल्लाले, महेन्द्रनगर गड्डाचौकी नाका – कन्चनपुर जिल्लाले, मुस्ताङ –४ नम्वर प्रदेशले, काभ्रेसाँगाचोक – काभ्रे जिल्लाले, नागढुंगा र टोखा नाका – काठमाडौँ जिल्लाले र कुलेखानी नाका – ललितपुर जिल्लाले होर्डिङ बोर्डहरु र फ्ल्यासबोर्डहरु राख्ने रहेको थियो । त्यसैगरी विस २०८१ साल असोज १५ सम्म देशैभरी वालपेन्टीङ गर्ने, कार्तिक महिनादेखि कोणसभाहरु गर्ने, कोण सभाहरुमा पर्चा, पोस्टर, ह्याण्डविल वितरण गर्नुको साथै सकेसम्म साँस्कृतिक कार्यक्रमहरु पनि गर्ने, जिङ्गलहरु बनाएर कार्तिक देखि नै बजाउन शूरु गर्ने, रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरुमा पार्टी नेताहरुको अन्तरवार्ता दिने, प्रचार प्रसारका सबै कार्यक्रमहरुलाई सामाजिक संजाल फेसवुक, युटुव आदिबाट पनि प्रचार प्रसार गर्ने, संभव भएसम्म मोवाइल रिङ व्याकटोन राख्ने, राष्ट्रियस्तरका पत्रिकाहरुमा विज्ञापन दिने, मंसिरमा काठमाडौँ पस्ने मुख्य–मुख्य नाकाहरुमा व्यानर, तुल, झण्डाहरु सजाउने, सम्भव भएसम्म स्वागतद्धारहरु बनाउने, र आवश्यकतानुसार अन्य थप कार्यक्रम पनि गर्दै जाने निर्णय गरिएको थियो ।




























