चितवन । महाधिवेशनको राजनैतिक, वैचारिक र सांगठनिक छलफलमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चितवनमा पनि महाधिवेशनलाई केन्द्रित गरेर आफ्नो सांगठनिक कार्यक्रमहरू अधि बढाएको छ । पार्टीको सेल, वडा कमिटीहरू गठन पुनर्गठन गर्दै नगर स्तरीय भेला सम्मेलनहरूको चरणमा प्रवेश गरेको छ ।
यसै क्रममा शनिबार भरतपुर महानगरपालिकाको सम्मेलन सप्तगण्डकी कलेजमा सम्पन्न भएको छ । पार्टी महानगरका संयोजक बाबुराम प्यासी परियारको अध्यक्षतामा सम्पन्न सम्मेलनको प्रमुख अतिथि पार्टी केन्द्रीय सचिवालय सदस्य एवम् क्रान्तिकारी महिला सङ्गठन नेपालकी अध्यक्ष अम्बिका मुडभरी रहेकी थिइन् । पार्टीका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज घननाथ सापकोटा ‘बिकास’, जिल्ला संयोजक कुलप्रसाद रिजाल ‘जगत’, केन्द्रीय सल्लाहकार भुमिश्वर कँडेल, नरबहादुर गौतम, सहिद मिनबहादुर खड्का ‘अनिस’ का बुबा खड्गबहादुर कुवर लगायतको आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन रामचन्द्र बिकले गरेका थिए । क्रान्तिकारी महिला सङ्गठन, चितवन जिल्ला अध्यक्ष शान्ति बिकले स्वागत गरेकी थिइन् ।
कार्यक्रमको शुरुआतमा देश र जनताको मुक्तिका लागि जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरूको स्मृति एवम् बेपत्ता पारिनु भएका योद्धा कमरेडहरू र घाइते तथा अपाङ्ग योद्धाहरूको सम्मानमा एक मिनेट मौन धारण गरियो । यस अघि माडी र रत्ननगर इलाकाको भेला/सम्मेलन गरि सकेको छ । कार्यक्रमका अध्यक्ष बाबुराम प्यासीले पार्टी केन्द्रको आकस्मिक बैठक र प्रदेश कार्यालयको बैठकले जारी गरेका प्रतिवेदनहरू वाचन गरेका थिए ।
जिल्ला संयोजक जगतले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्दै पार्टीमा पैदा भएका सङ्कटलाई एकता महाधिवेशनले राजनैतिक, वैचारिक र सांगठनिक हिसाबले हल गर्ने विश्वास व्यक्त गर्दै सबैलाई महाधिवेशनमा केन्द्रित हुन पनि अपिल गरे ।
प्रमुख अतिथि अम्बिका मुडभरी ‘अञ्जना’ ले चितवन जिल्लाको कम्युनिस्ट आन्दोलनको पृष्ठभूमि र आगामी आन्दोलनमा चितवन र भरतपुर महानगरको भूमिका बारेमा चर्चा गरेकी थिइन् । आसन्न महाधिवेशनमा केन्द्रीय कार्यालयका तर्फबाट प्रस्तुत हुने मुख्य राजनैतिक प्रतिवेदन, यसका परिपूरक हुनेगरी विभिन्न समितिहरूले तयार पारेका प्रतिवेदनहरू, पार्टीभित्र छलफलमा रहेका केही फरक मतसमेत पार्टी सदस्य सम्मलाई छलफलमा सहभागी गराएर महाधिवेशनलाई राजनैतिक–बैचारिक निष्कर्ष र सांगठनिक एकतालाई मजबुत बनाई क्रान्तिको पहल र नेतृत्व गर्नसक्ने पार्टी निर्माण गर्नुपर्ने आवश्यक भएकोले सम्पूर्ण पार्टी सदस्य सम्मलाई यो महान् वहसमा सहभागी हुन प्रमुख अतिथि अम्बिका मुडभरिले आह्वान गरिन । उनले दस्तावेजको संक्षिप्त चर्चा गर्दै नेपालको राजनैतिक र सामरिक कार्यदिशाबारे आगामी महाधिवेशनको प्रक्रियामा यो बहसका निम्ति पार्टी केन्द्रले प्रकाशित गरेको दस्तावेज अध्ययन गर्न पनि आग्रह गरिन ।
जिल्ला इन्चार्ज विकासले समसामयिक राजनैतिक विषय र चितवन जिलामा पार्टीको गतिविधिबारे आफ्नो मन्तव्य राखेका थिए । उनले पार्टीको अगाडि खडा भएको फुटपरस्त प्रवृतिका विरुद्ध क्रान्तिकारीहरू एकताबद्ध हुन जरुरी रहेको बताए । आगामी असोजको १२ र १३ गते दुई दिन जिल्ला सम्मेलन गर्ने र त्यसैको तयारी स्वरूप इलाकाका भेला सम्मेलनहरू आयोजना गरिएको उनले बताए । कतिपय कमि कमजोरीहरू आगामी दिनमा सुधार गरेर जाने प्रतिबद्धता पनि उनले जनाएका छन् ।
बिकासले प्रस्तुत गरेको नयाँ कार्यसमितिको प्यानल प्रस्ताव सर्वसम्मत रूपले पारित गरेको छ । सम्मेलनलेले पुरानो इलाका समितिलाई विघटन गर्दै बाबुराम प्यासीको नेतृत्वमा ३१ सदस्यीय नयाँ समिति निर्माण गरेको छ । सदस्यहरूमा खड्गबहादुर कुँवर, रामचन्द्र बिक, अमित सापकोटा, शान्ति बिक, गोपाल भट्टराई, सुर्य पौडेल, मधु बजगाइ, मिलन थापा, सन्तोष बस्ताकोटी, अरुणा थापा, नारायण शर्मा ‘बिपिन’, शेरबहादुर बिक, राजकुमार बोलखे, कुसुम खड्का, विष्णु रिजाल, रामु पराजुली, खुमबहादुर राना, प्रेम कँडेल, मनबहादुर बिक, चन्द्रलाल बिक, कमला दुवाडी, बलराम बिक, सुशीला बिक, दिवाकर न्यौपाने, अमृत चपाइँ, कल्पना छेत्री, हरिप्रसाद पौडेल, पूर्ण नेपाली लगायत रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई केन्द्रीय सल्लाहकार भुमिश्वर कँडेलले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मार्गनिर्देशन गरेका थिए । नवनिर्वाचित समितिका तर्फबाट बाबुराम प्यासीले आफ्नो प्रतिबद्धतासहित कार्यक्रम समापनको घोषणा गरेका थिए ।