शनिबारीय साहित्य ः कविता
*** ***
सौन्दर्य चिन्तक थियौ कविता कलामा
माधुर्य सन्चित थियो नि गला गलामा
सोचाइ उच्च यिनको प्रिय सर्वहारा
बस्ने भयौ हृदय भित्र सदैब तारा ।
सौराहा दाङ तुलसीपुर पोखरामा
घट्टेकुलो र धनुषा जयमङ्गलामा
बर्साउदा बचन अमृत पुष्प धारा
हुन्थेँ बिभोर म त हे कवि कान्त तारा ।
उन्मुक्ति या लगनशील कला कलामा
आस्वादको रस थियो उनका गलामा
बोल्ने विनम्र पनले सबका पियारा
झल्कन्छ त्यो छवि सधैँ मन भित्र तारा ।
तोडेर जाल सहजै अघि बढ्न पर्छ
हो द्वन्द्व जीवन र द्वन्द्व बिना उ मर्छ
भन्ने सदा समय उच्च बिचार धारा
आसन्न छौ हृदय भित्र सदैब तारा ।
राप्ती नदी विकट दुर्घटना नराम्रो
सम्झेर त्यो समय नै मन रुन्छ हाम्रो
सौन्दर्य चिन्तक गुमेर गुम्यो सितारा
विक्षिप्त यो मन भयो कवि कान्त तारा ।