कलमहरू

शनिबारीय साहित्य ः कविता
*** ***

निरङ्कुशताको विरुद्धमा
नउर्लिएका हैनन्
कलमहरू
तर, सधैं कलमहरूलाई
तिरस्कार गरियो
हेला गरियो
कति कलमहरू
सहिद भएर गए
मूल्याङ्कन गरेनन्
यहाँका शासकहरू
तर पनि
कहिल्यै लत्रेनन् कलमहरू
कहिल्यै झुकेनन् कलमहरू ।

सधैं बेथितिका विरुद्धमा
निरन्तर उत्साहका
ज्वालाहरू ओकलेर
जेलमा पनि लेखिरहे कलमहरू
एकाध भाटहरू बाहेक
हारेको इतिहास छैन कलमहरू
‘एकजुगमा एकदिन’ छोप्नलाई
निरन्तर जुधिरहे कलमहरू
सुस्ताउन चाहिरहेका छैनन्
अझै कलमहरू
खबरदारीका शंखनाद गरिरहेछन्
घुमाउरा षड्यन्त्रका
तानाबाना बुनिरहेको बेला
चनाखो भएर
अझै लेखिरहेछन् कलमहरू ।