शनिबारीय साहित्य ः समालोचना
*** ***
१.आरम्भ
समकालीन नेपाली प्रगतिवादी कवितासिविरमा यज्ञबहादुर डाँगी एउटा स्थापित, प्रतिभासम्पन्न र प्रखर हस्ताक्षरको नाम हो । २०१० साल फागुन २७ गते बुबा इन्द्रबहादुर डाँगी र आमा टीकाकुमारी डाँगीको कोखमा जन्मिएका कवि डाँगीले औपचारिक रूपमा आइ.एड.सम्मको अध्ययन गरेका छन् । लामो समयदेखि शिक्षण पेसामा संलग्न डाँगीको औपचारिक साहित्यिक यात्रा २०३७ सालको ‘लालुपाते’ पत्रिकामा प्रकाशित कविताबाट आरम्भ भएको हो । कलम, वेदना, बगर, उत्साह, राप्तीदूत, अन्तध्र्वनि, पहल, नयाँ युगबोध, नयाँ जनउभार, कलाश्री आदि दर्जनौं पत्रपत्रिकाहरूमा आफ्ना कविताहरू प्रकाशित गरेका डाँगीको कवितासङ्ग्रह ‘तिम्रो हत्यापछि’ एक मात्र पुस्तकाकार कृति हो । दाङबाट प्रकाशित हुने पहल साहित्यिक त्रैमासिकको सम्पादक डाँगीले राप्ती साहित्य परिषद्, दाङद्वारा प्रदान गरिने धनेश्वर साहित्य पुरस्कार पनि प्राप्त गरेका छन् भने अखिल नेपाल लेखक सङ्घ, थारुवान राज्यसमिति सदस्यका रूपमा रहेर राप्तीको प्रगतिवादी साहित्यिक–साँस्कृतिक आन्दोलनलाई पनि नेतृत्व प्रदान गरिरहेका छन् ।
यसरी करिब तीन दसकदेखि कवितासाधनामा लागेका कवि डाँगीका रचनाहरूको चर्चा र उल्लेख केही फुटकर समालोचनाहरूमा भए तापनि उनको समग्र काव्यचिन्तन र योगदानका बारेमा अझैसम्म कुनै अध्ययन भएको देखिँदैन । साथै लेखनका आरम्भदेखि सशस्त्र जनविद्रोहको कालसम्म मात्र होइन, वर्तमान समयसम्म पनि निरन्तर क्रान्ति र परिवर्तनका पक्षमा निर्भीकतापूर्वक कलम चलाउने कवि डाँगी राजधानीलाई नै आफ्नो अध्ययन र समालोचनाको केन्द्र बनाउने समकालीन नेपाली समालोचकहरूको बेवास्ताको शिकार हुने तमाम मोफसलका प्रतिभासम्पन्न लेखकहरूको जीवन्त उदाहरण पनि हुन् । यस परिपे्रक्ष्यमा उनको २०६५ सालमा अखिल नेपाल लेखक सङ्घ, थारुवान राज्यसमितिद्वारा प्रकाशित ‘तिम्रो हत्यापछि’ कवितासङ्ग्रहको वैचारिक भूमिका बारेका केही चर्चा गर्नु निश्चय नै सान्दर्भिक हुनेछ ।
२. कवि डाँगीको वैचारिक भूमि
यतिबेला नेपाली साहित्यमा राजधानीबाहिरका केही क्षेत्रहरूको क्रियाशीलता र जागरुकता निश्चय नै सबैका लागि उदाहरणीय बन्दै गइरहेको स्थिति छ । राप्ती क्षेत्र यस्तै एउटा उसाहपूर्वक साहित्यिक–सांस्कृतिक क्षेत्रमा सक्रिय हुँदै गइरहेको ठाँउ हो । कवि यज्ञबहादुर डाँगी राप्तीको प्रगतिवादी साहित्य सिर्जनामा आफ्नो स्पष्ट पहिचान स्थापित गरिसकेका स्रष्टा हुन् । राप्तीमा उनको कविताको आफ्नै मौलिक हस्तक्षेप र प्रेरणा पनि छ । तर उनका पाठकहरूले लामो समय फुटकर रचनाहरूमै कविता भोक मेटाउनुपर्ने स्थिति रह्यो । यस सन्दर्भमा उनको पुस्तकाकार कृति प्रकाशन हुनु खुसीको कुरा पनि हो ।
कलासाहित्य सामाजिक चेतनाको विशिष्ट रूप भएका कारण यो सधैँ समाजसापेक्ष हुन्छ, जीवनसापेक्ष हुन्छ र चिन्तनसापेक्ष पनि हुन्छ । यो स्रष्टाको परिवेशसापेक्ष र अनुभवसापेक्ष पनि हुन्छ । त्यसैले कवि यज्ञबहादुर डाँगीका रचनाहरू पनि यो वस्तुगत यथार्थबाट पृथक अवश्य छैनन् । यसैले उनका कविताहरूको वैचारिक आयाम अन्वेषण गर्नुअघि उनको कविताले बोकेको समय र परिवेशका बारेमा पनि केही चर्चा गर्नु जरुरी छ ।
कवि यज्ञबहादुर डाँगीको प्रस्तुत कवितासङ्ग्रहका अधिकांश रचना २०५२ सालपछिको आँधीमय कालखण्डमा लेखिएका छन् र केही रचनाहरू भने त्यसअघिका पनि राखिएका छन् । यसका सीमाहरूका बारेमा गम्भीर बहसहरू गर्ने ठाँउ बाँकी रहे पनि नेपालको इतिहासमै पहिलोपटक भएको ऐतिहासिक सशस्त्र युुद्धका प्राप्तिहरूको बहुआयामिक मूल्यहरू पनि कम अभूतपूर्व छैनन् । वैचारिक रूपमा कवि डाँगी ऐतिहासिक सशस्त्र युद्धका एक निर्भीक र प्रखर काव्यगायक हुन् । पुरानो अन्यायी निरङ्कुश शासनसत्ताका कडा विरोधी डाँगी जनताको असली शासनसत्ताका पक्षधर हुन् । उनी क्रान्ति र परिवर्तनप्रति निरन्तर विश्वास र आस्था राख्ने लेखक हुन् । उनी परिवर्तनका अभियन्ता र गरिब जनतााका साथमा रहेर उनीहरूकै उज्याला सपनाका गीत गाउने युगगायक हुन् । साथै सहिदका आकाङ्क्षाहरूप्रति सधैँ सम्वेदनशील बन्ने चेतनासम्पन्न प्रतिभा हुन् । जनघाती र देशघाती शासकहरूप्रति उनको तीब्र घृणा छ भने देश र जनताका लागि सङ्घर्षशील जनजिन्दगीप्रति उनको सधैँ श्रद्धाभाव छ । उनको कविचेतनामा शासकहरूको कुरूप तस्बिर मात्रै छैन, उदाउँदो परिवर्तनको सुन्दर चित्र पनि छ । उनको कविताबिम्बमा कठोर सङ्घर्षको भूमि मात्रै छैन, त्यसपछिको इन्दे्रणीमय सुन्दर यामको आकृति पनि छ । उनी कतै निराश छैनन्, उनी कतै वैयक्तिक कुण्ठाका गायक बनेका छैनन् । उनी कुनै विचारका नाममा कलाचेतदेखि बेखबर अथवा कलाका नाममा युगबोधबाट पलायन पनि भएका छैनन् । शासकहरूले आफ्ना आस्थाका यात्रीहरूको हत्या गर्दा उनी दुःखी मात्रै छैनन्, आक्रोशित पनि बनेका छन् त्यत्तिकै अनि अझै सशक्त प्रतिकारको तयारीमा देखिएका छन् किनभने कविलाई मुर्दाशान्ति होइन जीवन्त शान्ति चाहिएको छ । जीवन्त शान्तिका लागि आवाज उठाउनु आफैँँँमा खतरापूर्ण काम हो । बरू कविलाई त्यही खतरा प्रिय छ, शासकहरूको अत्याचार र ज्यादतीको खिलापमा उभिनुपर्छ भन्ने चेतनाबोध छ किनकि साथीहरूको हत्या खबरले कायरता होइन, उनमा झन् झन् बदलाभावलाई आँधीमय बनाएको छ यसरी ः
तिम्रो हत्यापछि हामीलाई
मुर्दाशान्तिको खिलाप
जीवन्त शान्ति चाहियो
तन्मयतापूर्वक
लाल र निपूर्णले रङ्गिएका
सुन्दर कम्ब्याटहरू चाहियो
तिम्रो हत्यापछि
चेतना पलायो हामीमा
चुपचाप बस्नु
या सहेर बस्नु
एकदम खतरा भयो
हामीलाई (तिम्रो हत्यापछि, २)
युद्धमोर्चाहरूमा लड्ने वीरहरू मात्रै होइन, न्यायको आवाज उठाउने कलमवीरहरू पनि धेरै सहिद बनेका छन् । चेतना र परिवर्तनका कविता लेखेकै कारण मारिने कृष्ण सेनहरू हुन् अथवा अनेकोटका जङ्गलहरूमा आततायी शासकहरूद्वारा मारिने कलाकारहरू नै, सबै सबै प्रेरणाका स्रोत बनेका छन् । कविता पढ्दा र गीत सुन्दा कविलाई उनीहरूको सम्झनाले सम्वेदनशील बनाइरहन्छ, पीडाबोध भइरहन्छ तर आसँुले कविलाई कमजोर बनाउँदँन, निराश बनाउँदैन– झन् झन् साहसी र शक्तिशाली बनाउँछ । त्यसैले उनी भन्छन् ः
जब म कविता पढ्न थाल्छु
आएर कवि इच्छुक अङ्गालो मार्छन् मसँगै
अनि वर्गीय प्रेमले कसिलो हात मिलाउँछन्
र जादुको छडीले छोएझैँ
क्रोधको आगोले बल्न थाल्छु बारबार
र, यसैबाट
बेजोडले कविता पढ्न सिकेको छु
म गीत पनि सुन्ने गर्छु
घुमिरहेको चक्कामा
एक हुल गायकहरू जलिरहेको अनेकोट आएर
विह्वल प्रदर्सन गर्छ र रसाउछँन् आँखा मेरा
र यसैबाट
गीतमा शक्ति पहिचान गर्न सिकेको छु ।
यतिखेर तागत छ आँसुमा
र, यसैबाट हौसला बटुलेर
म आपूmलाई
यस्तो भन्न हकदार ठान्छु
आँसु
बम भएर पड्कनुपर्छ– मै हँु भन्ने खराब चट्टानहरूमा
गोली भएर बज्रनुपर्छ– मै हँु भन्ने दृष्ट छातीहरूमा
हुरी भएर आउनुपर्छ– मै हँु भन्ने घमण्डीहरूमा (आँसु)
तमाम श्रमजीवीहरूका झुपडीमाथि समाजका शोषकहरूको निजी दरबार छन्, त्यसमाथि सिंहदरबार, अझ माथि राजदरबार तर ती सबै कसै न कसैका दास नै छन् । देशका शासकहरू राजधानीमै केन्द्रित भएका छन्, तथाकथित बुद्धिजीवी र देशका ठूलाठूला प्रशासकहरू पनि देशकै लागि भनेर राजधानीमै वातानुकूलित कोठाहरूमा बसिरहेका छन् तर विडम्बना नै भन्नुपर्छ, उनीहरूले देश चलाइरहेका छैनन्, राष्ट्रियता निकै सङ्कटमा छ, सिंहदरबारदेखि राजदरबारसम्म सबै नै भारतीय राजदुतावास वा अमेरिकी राजदुतावासहरूले चलाइरहेका छन् । त्यसैले कवि डाँगीका दृष्टिमा यो देशको राजधानी काठमाडौं केन्द्रित प्रशासक र विदेशीको इशारामा चल्ने शासकहरूप्रति तीब्र आक्रोश देखिन्छ ः
तमाम झुपडीहरूमाथि निजी दरबार
त्यसमाथि सिंहदरबार
सिंहदरवार माथि पनि राजदरबार
अनि त्यसमाथि पनि दुतावास
अर्थात अमेरिकी दुतावास
चाप माथि चापले
परेको खाडल
काठमाडौं खाल्टो (काठमाडौं)
शासकहरूले शासनका नाममा गरिब श्रमजीवी जनताप्रति गर्नुसम्मको अन्याय गरेका छन्, अत्याचारी र भ्रष्ट शासकहरू जनताका नाममा पजेरो चढेका छन् र उनीहरूका हातमा कुरूप बन्दुक छ तर जनता नवीन चेतनाले ओतप्रोत छन् । शासकीय ज्यादती र कुरूप वर्तमानबारे सबै जानकार पनि छन् । उनीहरूको चेतनायात्रा विस्तीर्ण छ । कुरूप वर्तमानका बिरूद्धमा उभिएका कवि सुन्दर भविष्यप्रति विश्वस्त छन् ः
कसको के कति ज्यादती छ
र, हाम्रो छाला खोल्साएर
कस–कसले दौडाएको छ
अत्याचारी र भ्रष्टाचारी पजेरो
सब याद छ हामीलाई
एकदिन
हो, यो वर्तमान
हत्यारोले समातेको बन्दुक जत्तिकै कुरूप छ
चेतना प्राप्त छ हामीलाई
भविष्य भने
जनमुक्ति सेनाहरूले समातेका बन्दुक जत्तिकै सुन्दर छ । (सडकहरू)
कृष्ण सेन समकालीन नेपाली प्रगतिवादी कवितासिविरका एक आदर्स–स्तम्भ मात्रै होइन, दसबर्षे युद्धका एक उज्याला बिम्ब पनि हुन् तर उनका हत्यारा शासकहरूले उनको हत्या गरेको स्वीकार गर्न पनि डराए, उनको लासबाट पनि उनीहरू आतङ्कित भइरहे । शासकहरू क्रान्तिकारीहरूप्रति कतिसम्म भयभीत हुन्छन् र कायर शासकहरू कतिसम्म झूठको खेती गरिरहन्छन् भन्ने प्रमाण कृष्ण सेनको हत्याप्रकरणबाट पनि पुष्टि हुन्छ । कवि डाँगी लेख्छन् ः
कवि इच्छुक
तिम्रो लास पनि पाएनौँ
डराउँछन् यिनीहरू
लास बुझाउन पनि डराउँछन्
जब मारियौ तिमी केवल भौतिक रूपले
यिनीहरूको गृहमन्त्री बोल्यो
गिरफ्तार गरिनौ कृष्ण सेनलाई
यिनीहरू सही बोल्दैनन्
सही बोल्न पनि डराउँछन् । (कवि इच्छुकसँग)
विचार र चेतनाले लेस भइसकेपछि मृत्युलाई पनि जित्छन् मानिसहरू । आज अभूतपूर्व रूपमा चेतना बढेको छ चारैतिर र निर्भीकतापूर्वक क्रान्तिका गीत गाउँदै हिंडिरहेछन् मानिसहरू, परिवर्तनको उद्घोष गर्दै हिंडिरहेछन् मानिसहरू । वर्गप्रेम र विचारले बाँधेपछि कसैले गलाउन सक्तैन । मृत्युलाई जितेपछि सबैलाई जित्न सकिन्छ । उत्सर्गको यात्रामा लामबद्ध सहयोद्धाहरूको भीड बढिरहेको बेला कविलाई पनि मृत्यबाट कुनै भय छैन ः
साना मसिना बालबालिकाहरूले पनि
बुझेका छन् कुरा
भोकका कुरा
अत्याचारका कुरा
ज्यादतीका कुरा
र त हामी
वेथान गाउँदै हिंड्छौँ
महत गाउँदै हिंड्छौँ
बेनी गाउँदै हिंड्छौँ
नेपाल गाउँदै हिंड्छौँ
यस्तै–यस्तै गाउँदै हुर्केका हामी
म त भन्छु
के को डर ?
श्रेष्ठ–श्रेष्ठ अग्र योद्धाहरू छन्
प्यारा–प्यारा सुद्ध योद्धाहरू छन्
रहरलाग्दा नयाँ योद्धाहरू छन्
झुक्नेछैन अटल शिर
हामीमा
वर्गीय माया कति–जीवित छ
कुनै ढले पनि
हतियार खस्ने छैन जमिनमा
सबै–सबै को अठोट गरिसके
के को डर ? (मृत्युसँग)
मानवअधिकार र प्रजातन्त्रको भाषण गरेर कहिल्यै नथाक्ने शासकहरूको शासनकालमा देश वधशालामा अनुवाद भएकै हो, देशका सारा जेलहरूलाई वधशालामा रूपान्तरण गरिएकै हो । सङ्कटकालका नाममा शासकहरूले जनतालाई सताउनसुम्म सताएकै हुन् । कथित प्रजातन्त्र विरोधीका नाममा निर्दोष जतनालाई विनाकारण नै हत्या गरिएकै हो । यही कुरूपताप्रति कविको अभिव्यक्ति छ ः
तर खसी–राँगा होइनन् तिनीहरू
कुनै जन्तु होइनन् तिनीहरू
भुइँ जो रगतको पोखरी भएको छ
भित्तामा जुन रक्ताम्य टाटाहरू छन्
यो स्थल
कुनै कसाइको वधस्थल होइन । (जेल)
कविलाई थाहा छ– शासकीय मञ्चमा पात्रहरू फेरिएका छन्, उनीहरूको बोली र नाराहरू पनि बदलिएका छन् तर उनीहरूको कुरूप अनुहारमा जत्ति नै अबिर दले पनि उनीहरू हिजोकै त्रूmर र हत्यारा शासकहरू हुन्, उनीहरू हिजोकै देशघाती र जनघातीहरू हुन् किनकि उनीहरूको कुरूप पृष्ठभूमिको आयाम घामजस्तै पारदर्सी छ ः
तिमी उही हौ
यसमा कुनै शङ्का छैन
तिम्रो सामु
ताजा छ
पृष्ठभूमिको आयाम । (पृष्ठभूमि)
चारैतिर हिंसावृक्ष फैलिरहेको परिवेशमा नयाँ बर्ष भन्नु पनि एउटा औपचारिकता मात्रै हो । शासकहरूले आपूmलाई जत्ति नै आधुनिक हातहतियारले सुसज्जित बनाए पनि त्यो उनीहरूको भ्रम मात्रै हो किनकि क्रान्तिको आगोले राजधानीको मुटु पनि अप्रभावित छैन । अचेल शासकहरूका विरूद्ध उठेको बन्दुक चारैतिर विस्तारित छ र समयले त्यसैलाई साथ दिइरहेको छ भन्ने कविको यो कविताले नेपाली इतिहासको एउटा नवीन पानालाई प्रस्तुत गरेको छ ः
असिना परोस बरू यस्तो नपरोस्
भन्ने गर्छन् दुर्गम बस्तीहरू
राजधानीलाई पनि के सुगम भन्नु ?
सहिदगेट नजिकै उभिएर
भूकम्पपीडित धरहराले गणना गरिरहेको छ बमपीडित घरहरू
तिमी आउँछौ भन्ने सुनेर
दुगन्धी गन्धकद्वारा
सञ्चालित युद्ध–सर्जामका विरुद्ध
यथावत् घुमिरहेछ
स्वचालित पृथ्वी
इथावत् । (आगामी वर्षसँग)
कसैले जय नेपाल भनोस् वा लाल सलाम नै भनोस्, केही फरक पर्दैन तर देशघाती र जनविरोधीहरूबारे जनता स्पष्ट छन् । देशको सीमाना मिच्नेहरूलाई असली मित्र ठान्ने शासकहरू र बौद्धिकताका नाममा भ्रमका खेती गर्नेहरू सबैको पहिचान गरेका छन् । जनताले अनि लेण्डुप बनिरहेका शासकहरूबारे पनि जनता भ्रममा कदापि छैनन्, बरू उनीहरू ती बदनाम नामहरूका विरुद्ध निरन्तर उभिएका छन्, निरन्तर लडिरहेका छन् ः
केही नामहरूका विरुद्ध
म सहज क्रुद्ध छु
ज–जसको नाम लिदा डराउँछ सगरमाथा
ज–जसको छाया पर्दा सुक्छन् नदी–नाला
ज–जसको हात पर्दा घाउ पर्छ धरतीमा
ज–जसको पाइला पर्दा भत्केको छ सिमाना
यसरी देशद्रोही कामकाज चलिरहेको बेला
व्यर्थ छ लालसलाम
डुङ्डुङ्ती गन्हाउने नामहरूका नाममा
र व्यर्थ छ खेती
तथ्य छेपाराहरूका नाममा
ज–जसको कम्मरबाट खस्केर सुरुवाल
कि कति तलसम्म झरेर नाङ्गिएका छन्
लेन्डुपहरू । (ती नामहरूका विरुद्ध)
राज्यका हरेक संयन्त्रमा क्रान्तिकारीहरूको सशक्त हस्तक्षेप हुनु जरुरी छ । त्यसो नभइकन नयाँ र सुन्दर नेपालको परिकल्पना व्यर्थ छ र त्यो काम पुराना शासकहरूले होइन, नयाँ मान्छेहरूले मात्रै गर्न सक्छन् भन्ने कुरामा कवि स्पष्ट छन् ः
हत्केलामा मृत्यु लिएर हिँडेका तपाइँहरूसँग
छातीले गोली फर्काउँदै लडेका तपाइँहरू
जानुस्
अब टाउकोमा प्रचण्ड आगो बालेर जानुस् त्यहाँ
र, जुन नयाँ नेपालको चित्र छ तपाइँहरूसँग
अब रङ्गाइदिनुस् त्यसलाई
हामी ढुक्क छौँ । (नयाँ मान्छेहरूसँग)
देशको अभूतपूर्व न्यायिक विद्रोह र क्रान्तिप्रति कविको अटल आस्था र दृढ विश्वास छ । त्यसैले उनी चेतनाको बत्ती बालेर आपूm त्यस यात्रामा समर्पित भएको धारणा प्रकट गर्छन् ः
त्यहीं छ आगामी किरण
त्यही छ आगामी सभ्यता
मेरो सपनाको विपना त्यहीं छ
मेरो स्वराज्यको स्वरूप त्यहीँ छ
मेरो स्वाधीनता
मेरो मुक्तिको गीत
मेरो अन्तिम विजय
मेरो खुसीका सबै गमलाहरू त्यहीँ छन्
सब चीज हराएको यो धरतीमा
सब चीज विराजमान गराउन
चेतनाका बत्ती यथावत् बालेर
यात्रा जारी छ मेरो । (यात्रा जारी छ मेरो)
योद्धाहरू भनेका वेगवान नदीजस्तै हुन् । क्रान्तिका योद्धाहरू पनि नदीजस्तै गतिशील र जीवन्त छन् । उनीहरूको परिवर्तनको यात्रा कहिल्यै रोकिदैन । सर्प र लामखुटट्े बस्ने फोहोर पोखरी होइन, स्वच्छ नदीको जलप्रवाह प्रिय छ उनीहरूलाई सधैँ नै ः
हामी सुन्दर देश बनाउने योद्धाहरू
देशका वेगवान नदी हामीहरू
हामी सुक्ने र सुकेका कुरा
कसैले पनि पढ्न पाउनेछैन यस्तो खबर
जहाँ सर्प र लामखुट्टे सुरक्षित रहन्छन्
त्यस्तो पोखरी पनि मन पर्दैैन हामीलाई
रुक्नु, झुक्नु र थाक्नु अप्रिय छ हामीलाई । (देशका वेगवान नदीहरू)
कवि डाँगीको कवितासङ्ग्रहभित्र विचार र कला दुबै दृष्टिले सुन्दर कविताहरू धेरै छन् । साथै, कवितामा आञ्चलिकता वा स्थानीय जीवनशैलीको जीवन्त चित्रण पनि एउटा उल्लेखनीय विशेषताका रूपमा देखिन्छ । यो कविताले तराईको भूमिपुत्र श्रमजीवी थारुहरूमाथिको चर्को शोषण र ज्यादतीलाई अत्यन्त मार्मिक रूपमा प्रस्तुत गरेको छ ः
उसको शानदार बङ्गालामा
मेरो आर्तनाद बोकेका र्इंटाहरू छन्
उसको पलाटका पलाट खेतहरूमा
मेरा पाइतलाबाट बगेका रगतका आहालहरू छन्
उसले लगाउँदै आएका पोशाकहरूको
मेरो काखीकै गन्ध आउने पसिनाका दानाहरू छन्
यद्यपि पुस्तौं पुस्ता पुग्ने सम्पत्ति छ उसको
मैले आफ्नै मानेको छु
उसको भन्न लायक
शानदार एकजोडा गुघाँ गधा छ
त्यो पनि मेरो आफ्नै ठानेको छु
म माघे थारु । (म माघे थारु)
सभ्यताको यात्रा भनेको क्रान्तिको यात्रा हो, क्रान्तिको यात्रा भनेको परिवर्तनको यात्रा हो, परिवर्तनको यात्रा भनेको इतिहासको यात्रा हो अनि इतिहासको यात्रा भनेको निरन्तर चल्ने समयको यात्रा हो । त्यसैले यो यात्रा कहिल्यै रोकिदैन । जत्ति नै अत्याधुनिक अस्त्र र कठोर त्रूmरताका बाबजुद पनि क्रान्तिको यात्रा निरन्तर जारी छ । कविमा यसप्रति पूर्ण विश्वास छ ः
कुरो यस्तो पनि आएको छ
अत्याधुनिक अस्त्रहरू बनिसके
त्रूmरता महाशक्तिशाली छ
म पनि वयस्क छु
केटाकेटी तर्साउने हाउँगुजी सुन्दा म हाँस्छु
जसले जेसुकै गर म मर्दिनँ
दुराचार गर
या इन्डोनिसियामा मलाई लाखौंलाख लास पारेर फ्याँकिदेऊ
या कु गरिदेऊ चिलीको राष्ट्रपति भवन
या पेरुको पिञ्जरामा थुन
र, त्रूmरताका पाखण्डी गन्धहरू सुघाऊँ खूब
सकेसम्म यावत् चर्तिकला गर
तर म कदापि मर्दिनँ । (म कदापि मर्दिनँ)
साइनबोर्डहरू जत्ति नयाँ फेरिए पनि, नाराहरू जत्ति नै नयाँ लागे पनि र आवरणहरूमा जत्ति नै साजसज्जा बढाए पनि व्यवस्था अझै फेरिएको छैन किनकि सबै यथावत् छ । यस्तो अवस्थामा शान्तिको कुरा गर्नु एउटा भ्रमसिवाय केही होइन भन्ने कविको मान्यता छ ः
बस्छु–पीडा उही छ
सुत्छु–चिन्ता उही छ
उठ्छु–अर्धकपाली उही छ
कविता पढ्न थाल्छु
बिम्ब उही छ
यद्यपि सबै कुरा उही छ
तापनि शीर्षक उही छ भन्न सकिन्न
यहींनिर म अधःपतन भएको छु
शान्तिको कुरा नगर । (शान्तिको कुरा नगर)
क्रान्ति अर्थात् आगो कसैको चाहना होइन, यो एउटा अनिवार्य जिम्मेवारी र बाध्यता हो । इन्क्लाबको नारा लगाउनेहरू कुनै जनावर होइनन्, ती त युगका सचेत मानिसहरू हुन् । त्यसैले अत्याचारी शासकहरूले नचाहँदा नचाहँदै पनि क्रान्तिको आगो फैलिरहेछ हरदम ः
त्यसै बल्दैन आगो
यसमा सत्यता छ
र छ बाध्यता
इन्क्लाब….इन्क्लाब
यो नारा
कुनै जङ्गली हात्तीको होइन
गाउँमा एकदम नवीनताले
हुर्किरहेको छ आगो । (आगो)
कविमा दार्शनिक चेतनाका साथै वर्गचेतना पनि निकै प्रखर छ । त्यो वर्गचेतना एउटा भूगोलको सीमा नाघेर विश्वमय भएको छ । उनका यी काव्यिक पङ्क्तिहरू यसैका विश्वासिला साक्षीहरू हुन् ः
आफैँँँमा पूर्ण कविता हो यो
एउटा सुन्दर कविता
छरितोमा सबभन्दा छरितो
विशालतामा सबभन्दा विशाल
सुन्दरमा सबभन्दा सुन्दर
पढिरहूँ लाग्छ मलाई
संसारका मजदुरहरू एक हौँ
विशाल अर्थ छ यसमा । (ऐक्यबद्धता)
३. निष्कर्ष
यसरी २०३५ सालदेखि वर्तमानसम्म लेखिएका विभिन्न भाव–सन्दर्भका कविताहरूलाई सङ्कलन गरी पुस्तकाकारका रूपमा पाठकसमक्ष ल्याइएकोले ‘तिम्रो हत्यापछि’ कविताकृति कवि यज्ञबहादुर डाँगीको समग्र काव्ययात्राको एउटा दस्ताबेज पनि हो, जसका आधारमा उनको वैचारिक भूमिको व्याप्ति र कलामूल्यका प्राप्तिहरूलाई मूल्याङ्कन गर्न सकिन्छ । उनी आफ्नो क्रान्तिधर्मिता, विद्रोहचेत र परिवर्तनको सुनौलो सपनाप्रति सधैँ इमानदार छन् । उनी सधँै गरिब जनताको पीडा र मुक्तिप्रति गम्भीर देखिन्छन् । उनी देशघाती शासकहरू, समाजका शोषकहरू र युगीन विसङ्गतिहरूप्रति सधैँ आक्रोशित छन् । माक्र्सवादी विचारको मर्म र आस्थाप्रति सधैँभरि प्रतिबद्ध छन् । जेजस्तो चुनौतीका आँधीबेहरी र भूकम्पहरू आए पनि उनी आफ्नो विचारमा सतिसालझैँ अविचल पनि छन् । त्यसैले क्रान्ति, परिवर्तन र जीवनवादी चेतनाले उनका कविताहरू ओतप्रोत छन् । उनी राप्तीका मात्रै नभएर समकालीन प्रगतिवादी नेपाली कवितायात्राका एउटा प्रतिभासम्पन्न र विचारशील कवि हुन् ।
प्रस्तुत कवितासङ्ग्रहका औसत कविताहरू यसैका बलिया आधारहरू हुन् । वैचारिक प्रतिबद्धता र कलाचेतना दुबै दृष्टिले उनी यस समयकै एउटा प्रतिनिधि काव्यस्रष्टा हुन् ।
(माक्र्सवादी साहित्य र जनयुद्धका समालोचना ग्रन्थबाट)