शनिबारीय साहित्य : कविता
*** ***
केन्द्र देखि
टाढा
टाढा र
धेरै टाढा छ मोफसल ।
कतै सुदुर पश्चिम
कतै सुदुर पूर्ब
कतै सुदुर उत्तर त
कतै सुदुर दक्षिण ।
कतै अनकण्टार हिमाल पहाड त
कतै घनघोर जङ्गल सहितको दुरदराज
कतै रमणीय झिलिमिली शहर त
कतै सुनसान अन्धकार गाउबस्तीहरु
कतै आधुनिक रहन-सहन त
कतै परम्परागत सस्कार र सस्कृतिहरु
कतै बाच्दा बाच्दै मरेका
सुकिला -मुकिला अनुहारहरु त
कतै बिशालु नङ्ग्राले चिथोरिएका
आक्रान्त जिन्दगीहरु
मर्दा मर्दै बाचेका जीवनहरु
यस्तै / यस्तै छ मोफसल ।
राजधानी,
सत्ता हो
लुटको केन्द्र हो
झगडाको अखडा हो
देश च्याके थापेर जुवा खेल्ने
जुवाको खाल हो
मानव तस्कर गरेर
रेमिटान्सले सत्ता चलाउने
बिकासको नाममा भिख मागेर रिण थुपार्ने
रोबटहरुको कृडास्थल हो राजधनी।
सुगुरको खोरमा डुबुल्की मार्दै
सत्ताको रस चुसेर
कुम्भकर्ण बन्ने थलो हो राजधानी
नपत्याए
नपत्याए सोध एकचोटी सिम्ह दर्बारलाई
सोध एकचोटी बालुवाटारलाई
तैपनि
पत्यार लाग्दैन भने
सोध एकचोटि शहिद गेटलाई ।
हो
त्यसैले
राजधानी
मोफसलको पसिना लुटेर
शहरमा महल ठड्याउछ
मोफसलका नदीनालाहरु बेचेर
स्वीजरलैण्डका बैकहरु भर्छ
अमेरिका ,बेलायत र बिश्वका ठूल्ठूला शहरमा सयर गर्छ ।
राजधानी
मोफसललाई अन्धो देख्छ
बहिरो देख्छ
लाटो देख्छ
केही नजान्ने,नबुझ्ने ग्वाजे गवार देख्छ
अनपढ, अशिक्षित ठान्छ अनि
लाद्छ सत्ताको कु्रु्रता
तर
यो बुझ्दैन राजधानी
उस्को जन्म मोफसल मै भएको हो
उस्को अन्त्य पनि मोफसल बाटै हुन्छ भनेर
किनभने
अब मोफसलमा
असन्तुष्टि र आक्रोसको ज्वाला दन्कदै छ।
२०७९/१२/१७