….र मैले मण्डीमा बेचे सान्नानीलाई

….र मैले मण्डीमा बेचे सान्नानीलाई

शनिबारीय साहित्य : कविता
*** ***

१.
मसंगै हुर्केकी हुन् सान्नानी
समवय रह्यो हाम्रो
गाउँ भन्दा गाउँ नै होइन हाम्रो थलो
शहर भन्दा शहर नै होइन हाम्रो ठेगान
चुल्हो चौको र बनपाखाको कुरो गर्दा
घास दाउरा र मेलापातको कुरो गर्दा
भावधारा नाटकीय बन्न पुग्दछ
खाली बर्तन, साहुको ऋण
कपाली तम्सुक, चक्रबर्ती ब्याज
अकाल भोकमरीको कुरो गर्दा पनि
भाषा बनाबटी लाग्दछ
हँ केही मिसिएका छन् भावधाराहरू
साधारण जायजेथा बावुको
पाखो बारीसम्मको कुरो सही हो
जुवामा सके बाउले सम्पत्ति
चाखे थापेर बेघर भइयो
यो कथन पनि समयको फेरो होइन
तर पनि केही तथ्य छन्
सिन्दुर पहिरिएर मात्र
कसैकी भएर मात्र
नचल्ने भो आजकाल जीवन
र त भिसा लाग्यो सान्नानीको ।

२.
हँ भिसा लाग्यो सान्नानीको
कल्कलाउँदी, भर्भराउँदी
कलिली, सुकोमल
आदि उपमा जडित पदावलीहरू
उट्पट्याङ्ग लाग्न थाले आजकाल
कल्कलाउँदी र भर्भराउँदी नभए
कलिली र सुकोमल नभए
जवान र चञ्चल नभए
खरिद गर्ला त कसैले सान्नानीलाई ?
गर्दैन यो सबैलाई थाहा छ
बनिन् उनी सोही माफिक
लाग्यो भिसा सान्नानीको
र उड्ने भइन अव ।

३.
लाखौ पटक पढ्यौ हामीले
मदन र सुनको भोटको कुरो
पारिजातले लेखेकी हुन् शिशिरको फूल
पासाङ्ग चढेकी हुन्— सगरमाथा
उहिल्यै भृकुटी उदाईन भनिन्छ
नौलाख ताराको साथमा
नालापानीको युद्धमा नारीको बखान
सिताको पबित्राको उर्लापात
हामी सबैले लाखौंबार पढ्यौं
र कण्ठ गर्‍यौं ।

४.
मुक्ति युद्ध समेत लडिन् सान्नानी
र कयौं पटक सहिद भइन्
सहिद भन्न मिल्दछ यसलाई
लास बोकेकी हुन् सहयात्रीको उनले
र मुठ्ठी कसेर बिदा गरेकी हुन्
उदाउदा रातो घाम र छाउला लालीमा
मुक्त कण्ठले गीत गाएकै हुन्
सपना देख्नु र सपनाबाट ब्युझनु
र सपनालाई बिर्सनु
बिर्सिएका सपनाहरूलाई
आगतसंग जोड्नु
बन्दो रहेनछ वा बनाउन सकिएन
सान्नानी हुन्—
मदनकी मुना
शिशिरको फूल
राजशी सिता र भृकुटी तारा
पासाङ्गकी सगरमाथा
साथै अभय किल्ला हुन्
र त सान्नानीको भिसा लाग्यो
उड्ने छिन् सान्नानी अव
र पुग्ने छिन्—मानव मण्डीहरूमा ।

५.
चञ्चल र भर्भराउँदी
सुशिल र कलिली
नरम, मृदुल र सुकोमल
रहिन् र मैले बेच्न सके उनलाई
शुरुमा देशमै बेचे
पछि बम्बैमा लगेँ
यतिले मात्र म सन्तुष्ट भइन
हँ सान्नानीको भिसा लाग्यो
उडिन सान्नानी
पुगिन शेखहरूको देशमा
र मानव मण्डीमा दाखिला भइन
म धन्य भएको छु
सान्नानीलाई मैले बेच्न सके ।