शनिबारीय साहित्य : संस्मरणात्मक निबन्ध
*** ***
अचानक कुनै व्यक्तिको मृत्यु हुँदा परिवारका सदस्यहरू साथमा छैनन् वा उनीहरूलाई केही थाहा छैन भने खबर गर्ने कोही न कोही त मान्छे हुनुपर्छ । यस्तो खबर गर्ने काम पनि गाह«ो काम हो । सुन्ने काम त झन त्यो भन्दा पनि गाह«ो । कसैलाई पनि यस्तो खबर गर्ने भूमिका निर्वाह गर्न मन लाग्दैन होला, किनकि यो दु:खद खबर हो । कुनै कारणले अचानक कसैको मृत्यु भएको छ तर मृतकको नजिकको मान्छे अनभिज्ञ छ । एक्कै चोटी आफ्नो मान्छेको मृत्युको खबर सुनेर ऊ के हुन्छ होला ? सुनेपछि उसको हालत के होला ? कसरी सामना गर्ने भन्ने कुराको चिन्ता त खबर सुनाउने व्यक्तिलाई पनि अवश्य हुन्छ होला । हुन त सकेसम्म यस्तो अवस्था नआओस् भन्ने सबैको अपेक्षा त हुन्छ नै, तर यस्तो अवस्था कुनै न कुनै दिन हरेक व्यक्तिको जीवनमा आउँदो रहेछ । मृत्यु भएपछि त कसैले भन्नै पर्छ र सुन्नेले पनि सुन्नै पर्छ । जसरी भने पनि, घुमाएर होस् वा मिठो बोलिले, यस्तो कुरामा कुनै किसिमको कला वा शैलीले काम गर्दैन । न यसमा साहित्यले काम गर्छ कि सुन्दा आन्नद लागोस् । जसरी, जुन शैलीले भने पनि भोग्ने मान्छेलाई पीडाको भोगाइमा कुनै फरक पर्दैन । भोगाई भने उस्तै रहन्छ । अचानक मृत्युको खबर सुनेपछि मृतकको नजिकको मान्छेको मुखबाट के निस्कन्छ होला ? सायद ऊ चिच्चाउँदै नाई ! होइन ! हुन सक्दैन जस्ता शब्दहरू उसका मुखबाट निस्कन्छ होला । मैले पनि धेरै जना यस्तो भनेर जोर जोरले रोएको देखेको थिएँ । यो दृश्य हेर्दा मेरो मनले थाम्न सक्दैन्थ्यो र आँखाबाट आँशु बगिरहन्थ्यो, तर आज आफ्नै जीवनमा एउटा अकल्पनीय मोड आयो । जीवन साथी, जोसँग एउटा लामो समय बडो सुख र सम्मानका साथ विताएकी थिएँ, आज उहाँ गइसक्नु भयो । कहिलै विरामीले थला नपरेको, एक स्वस्थ, आफ्नो जीवनको एक हिस्सा, अचानक उहाँको मृत्यु भएको खबर आफन्तले सुनाउँदा मैले कसरी सुनेँको हुला र कसरी सम्हालेको हुम्ला ? मेरो मुखबाट होइन ! नाई ! भन्ने वाक्य आएन । एउटा साथ गुम्यो, विलायो मेरो जीवनको गोलार्धबाट । यतिबेला खाली मेरो जीवनको गोलार्धको आधा पाटो मात्र बाँकी रह्यो, यही स्वीकार गर्यो मेरो मन मस्तिष्कले । त्यस्तो खबर सुन्ने वित्तिकै मेरा आवाज नै बन्द भयो एक्कासी । केही सोच्न र गर्न सकिन । थच्चक्क कुर्सीमा बसेँ । बस मैले यो स्वीकार्नु छ, सहनु छ, अब केही हुने वाला छैन, हजार चोटी रुँदै अनुनयविनय गरेता पनि ऊ फर्केर आउँदैन भन्ने चिन्तनले मेरो आवाज हरायो । एकैछिनमा घर भरि आफन्तहरू, साथीभाईहरूको भिड लाग्न थाल्यो, सबै मतिर हेर्छन, कोही कराउँदै आउँछन्, कोही सुँक्क सुँक्क गरेर आउँछन् मलाई हेर्छन तर केही भन्दैनन्, केही बोल्न सक्दैनन् किनकि मेरो मुखबाट कुनै शब्दहरू निस्केका थिएनन् । मसँग बोल्ने कुनै कुरा थिएन । कित म मर्नु पर्छ, कित म बाँच्नु पर्छ यो सब देखेर, सुनेर अनि सहेर । मलाई आवाजबाट टाढा हुन मन लागेको थियो । मेरो आँखामा आँसु थिएन । अब फर्केर आउँदैन यो ढोकाबाट मैले ढोकातिर हेर्दै भने । केही बेर अघिसम्म उहाँलाई फोन गरिहेको थिएँ फोन नउठे पनि मेरो मनमा तनिक शङ्का थिएन । घरमा एक्कासी खबर अनि भीड भएको देखेर उहाँसँगको साथ सकियो ! सकियो ! सकियो ! यो सकियो शब्द नै मेरो मनमा हिउँ जस्तै जमेर बस्यो । जसले मलाई बोल्न र रुन दिएन, जमाइदियो ।
घरभरि मानिसहरूको भीड देखेर मलाई एकान्तमा बस्न मन लागिरहेको थियो तर मलाई एक्लै बस्न आफन्तहरूले दिँदैनथे । म उठेर अर्को कोठातिर गएर बसेँ । उहाँसँगको साथ सकियो भनेर जमेर हिउँ जस्तै भएको बेला अनेक थरिका कुराहरू मेरा कानमा ठोकिन्थे । कोही बस ड्राइभरलाई गाली गर्थे, उसको लापरवाहीले ज्यान गयो भन्थे, कोही किन प्लेनमा नआएको होला भन्थे, कोही किन पछि आएको होला भन्थे । यी कुराहरूले स्वीकार्न खोजिसकेको मनोदशालाई विथोल्थ्यो र झन् मलाई पीडामा पीडा थप्न थाल्थ्यो । तर के गर्ने फेरि आफैसँग प्रश्न गरेँ के मेरो मुखबाट यसो नभन्नुहोस् भन्ने आवाज निक्लन सक्ला ? अहँ कठोर भइसक्यो मन बरू एक्कासी यो मनले आफैलाई भन्न थाल्यो कि जब मैले आफ्नो जीवन साथीको मृत्यु स्वीकार गरेँ भने किन यी सब कुराहरू सुन्न तयार नहुने । बडो तीव्र गतिले आफैलाई प्रश्न गर्ने र उत्तर पनि दिने प्रक्रिया भइरहेको थियो मभित्र । एउटा मनले भन्छ, तयार हुनु पर्छ, किन नसुन्ने ? एक न एक दिन सुन्नै पर्छ भनेर सुन्न तयार भएँ । झन्झन् उग्र हुन थालँे । भित्र भित्र, झन्झन् कठोर बन्न थालेँ यो परिस्थितिसँग । म ठूलो कि यो परिस्थिति ठूलो ? परिस्थिति र मेरो बीचमा द्वन्द्व शुरु हुन थाल्यो । अब उहाँ हुनुहुन्न, सहनु पर्छ मैले । सायद म चुपचाप बसेको देखेर होला आफन्तहरू मसँग बोल्न सक्नु भएको छैन । मेरो आँखामा आँसु छैन तर हृदय क्षत बिक्षत भएको छ ।
जाडोको महिना थियो । बस ! यति मात्र बोल्न सकेँ म पानी पिउँछु । मेरो पीडालाई केही साथ दिने बस ! यो पानी मात्र थियो । उहाँसँगका संवाद अनि साथीहरूमात्र तीव्र गतिले दौडिरहेका थिए मेरो मानस पटलमा । मृत्यु सत्य हो । म, ऊ, त्यो र सबै हराउनु छ, विलाउनु छ, सबैको आफ्नो आफ्नो गोलार्धबाट । मृत्यु टार्न सकिँदैन । याद आउँथ्यो पलपलको, दु:ख लाग्थ्यो । आफन्तहरू भेट्न आउनु हुन्थ्यो, सम्झाउनु हुन्थ्यो, सहानुभूति दिनुहुन्थ्यो । घरमा आफन्त, प्रियजनहरूको जाने आउने प्रक्रिया भइरहेको थियो । यसो भएको भए यसो हुन्थ्यो । यसो गरेको भए यस्तो हुन्थेन । यो किन गरिएन ? के भएको होला ? जस्ता प्रश्नहरू आफ्नो अगाडि गर्दा झनै पीडा बढाएको जस्तो लाग्दो रहेछ । सहानुभूतिका नाममा मानिसहरूले यस्तै घटनाको उदाहरण दिएर चित्त बुझाउन खोज्नुहुन्थ्यो । फलानाको त एक जना श्रीमती बाँचेर छोरा छोरी, श्रीमान्, बाउ, आमा सबै सकिएछन्, फलानोको गाडी खसेछ, फलानाको यो भएछ फलानाको त्यो भयो । तर के यी अरूका दु:खद खबरले कसैलाई आफ्नो दु:ख विर्साउन सहयोग गर्ला त ? आफ्नो मानिस गुमाउनुको पीडाको प्रतिस्पर्धा हुँदैन । न त यसमा तुलना नै हुन्छ । कस्को कति नोक्सान र कस्को कति नोक्सान तथा घटि बढीको हिसाब किताब यसमा हुँदैन । यस्तो भावबाट अरूलाई चित्त बुझाउन खोज्नु भन्दा पनि पीडा अर्थात् परिस्थितिसँग उसको सामना गर्ने सार्मथ्यको चेतना र उसका गतिविधीहरू सुनाउन तथा लिन र दिन सके पीडालाई हल्का गर्न सहयोग हुन्छ होला । जानी जानी भन्दा पनि चेतनाको कमी हुनुका कारण अनावश्यक प्रश्नहरू गरेर मृतकका आफन्तलाई केवल दु:ख, पश्चाताप, चिन्ता मात्र दिन्छ जस्तो लाग्छ ।
कति आफन्तहरू, साथीभाइहरू घटनाको व्याख्या गरेर वितिसकेका कुराहरूलाई फेरि ब्युताउनु हुन्थ्यो, तर यसले के सहयोग गर्छ मलाई ? अझ बढि चोट थप्थ्यो । त्यही घटनालाई ताजा गर्ने काम गर्थ्यो । मैले आफैले आफैसँग प्रश्न गर्न शुरु गरेँ । अरूलाई किन दोष दिनु ? यो उहाँहरूको चेतनाको स्तर हो जसलाई जे लाग्छ त्यही भन्ने त हो नि ! उहाँले भनेझैँ प्रतिक्रिया किन दिने ? पीडालाई कसरी सामना गर्ने ? मलाई के हुन्छ ? आफैले सम्झन्छु मेरो एक्लोपन, मेरो जीवनको आधा हिस्सा अब छैन खाली छ । आफनो जीवनसाथीलाई गुमाउनु यो भन्दा ठूलो चोट के होला ? यसलाई मैले मात्र भोगेको छैन हरेक व्यक्तिले यो भोग्नु पर्छ । हरेकले यसको सामना गर्नु पर्छ । मलाई यो अप्रत्यासित घटनाले बारम्बार उहाँसँगको साथलाई मात्र होइन उहाँसँग भएका संवादहरूतिर खिच्न थाल्छन् । मेरो जीवनको भू–भागको एउटा हिस्सा हुनुहुन्थ्यो उहाँ अकस्मात् अब त्यो भाग पूरै खाली छ । यो खाली पनलाई कसरी भर्ने वा त्यसै छोड्ने ? के आफन्तहरूले राखेका यस्ता प्रश्नहरूले भर्लान् त ? यसको उत्तर खोज्दै छु । अब त्यो ठाउँमा भर्ने कुराहरू कहाँबाट ल्याउने ? के के र कसरी राख्ने कुराको निक्र्योल मैले आफैले गर्नुपर्ने भएको छ । त्यसैले जीवनलाई कसरी पहिला जस्तै सुन्दर र नमुना बनाउने यो मैले नै बनाउनु पर्छ भन्ने निर्णय गरेँ । एकाएक मनमा उहाँँले भनेको कुराहरूको याद आयो । कहिलेकाहीँ साथीभाइ आफन्तको भएको दु:खद समाचार, दुर्घटनाको बारेमा खबर सुन्दा भन्ने गर्नु हुन्थ्यो “कति बेला के हुन्छ जीवनमा थाहा हुँदैन, के गर्ने, स्वीकार गर्नुपर्छ अरू केही विकल्प छैन” । मलाई उहाँका यी शब्दले चिन्तन गर्न प्रेरित गर्यो । हो मैले पनि यो स्वीकार गर्नुपर्छ अरू विकल्प छैन ।
एक महिना, दुई महिना वित्छ । आफन्तहरू, साथीभाइहरूको आउने जाने क्रम पनि घट्न थाल्छ । म भित्र यही द्वन्द्व चलिरहन्छ । सम्झनाहरू, संवादहरू, सँगै हिँडेका पलहरूले मलाई भावुक बनाउँछ । घरभरि उहाँका सामान, पुस्तक, कापी, कलम, कम्प्युटर, ग्रीन टी र सृजनाहरूले उहाँलाई पर्खेको जस्तो लाग्छ । करिब ३ महिनापछि म पहिलो पटक घर बाहिर निस्केको थिएँ । कति प्राज्ञिक व्यक्तिहरूसँग भेट भयो । ओहो ! मेडम सरको त एक्सिडेन्ट भएछ है ! के को लागि, कहाँ र किन जानु भएको थियो ? भनेर प्रश्न सोध्नु हुन्छ । मैले जवाफ त दिनै पर्छ, भन्छु सर ! अब छोडिदिउँ त्यो कुरा । यसको ठाउँमा के भन्नु पथ्र्यो होला उहाँहरूले ? फेरि त्यही घटनाको कुरा किन ? मौन रहे पनि हुन्थ्यो होला वा अरू कुनै प्रशङ्ग ।
मानिसलाई बल, ताकत दिने कुरा कसरी गर्नुपर्छ । जब जीवनको सबैभन्दा नजिकको मान्छेको असामयिक निधन हुन्छ, कसरी उसभित्र ताकत भर्ने जस्ले गर्दा ऊ प्रतिकुलतासँग लड्न सकोस् । त्यसको प्रतिशोधात्मक शक्ति अर्थात् पूरक खुराक मिलोस् जस्ले गर्दा त्यो स्थितिबाट ऊ प्रभावित नहोस् । उसको जीवन सहज र सरल रूपमा अगाडि बढ्न सहयोग मिलोस् । यो खुराक केवल अरूबाट मात्र खोज्ने होइन स्वयम्ले पनि आफैभित्र खोजी गर्नु सक्नुपर्दो रहेछ । मलाई यो अनुभव आज सबैको अगाडि राख्न मन लाग्यो । वास्तवमा “अनुभव नै ज्ञान र शिक्षा हो” यो भनाई शिक्षाविद् जोन डिवेले भनेका हुन् । मेरो अनुभव राख्नको मुख्य उद्देश्य परिस्थितिहरूसँग कसरी सामना गर्ने धेरथोर सहयोग पुर्याउन सक्ने रहेको छ तर हरेकको परिस्थिति बेग्लै हुन सक्छ । म जस्ता पीडा भएकाहरूका लागि यो अनुभवले थोरै भए पनि सहयोग गर्ने आशा राखेकी छु ।
हिजो भन्दा आज जीवनको दैनिकी फरक भएको छ । कतै जाँदा, खाँदा, काम गर्दा, जिम्मेवारी र सम्बन्धहरू सबैतिर फरक प्रस्तुति पाउँछु । छोरीलाई बाबाको पनि स्नेहको अनुभूति दिनु पर्यो, साथीहरूलाई साथको अनुभूति, परिवारमा नाता सम्बन्ध राख्नु पर्यो । के यो समाज अब पूरै काम लाग्दैन ? के हिजो उहाँसँगको साथ हुँदासम्म मात्र थियो त ? होइन ! समाज मेरो पनि हो मेरो पनि दायित्व छ । यो आवाज मेरो मनबाट आयो । एक्लै कोठामा बसेको बेला आफैले आफैसँग प्रश्न गर्दै उत्तर खोज्ने काम गर्न थालँे । यो मनभित्रको चर्को संवाद मानिसभित्र हुनु अत्यन्त जरुरी छ । यो नै सबैभन्दा ठूलो मनोसामाजिक परामर्शको एउटा अभ्यास हो, जस्ले आफुलाई डिप्रेसनबाट बचाएर अगाडि बढ्न सहयोग गर्छ । जुन कुरा सुन्न मन लाग्दैन त्यही सुन्नु पर्छ बारम्बार, उहाँका कपडाहरू, पुस्तकहरू, जुत्ताहरू, लेखेका नोट बुकहरू, कलमहरू, खाने थाल कचौरा अनि ग्लासहरू, बस्ने कुर्सी, कम्युटर, मोबाइल, ओछ्यान सबै सबै हेर्न तयार हुनु पर्छ । फोटोहरू, भिडियोहरू । म बिस्तारै बिस्तारै एक एक गरि थोरै थोरै गरि हेर्न थालेँ । मलाई यसले वर्तमानको पीडालाई एकछिन भुलाएर अर्कै परिवेशमा लैजान्थ्यो । केही छिनको लागि भए पनि खुसी दिन्थ्यो । त्यतिबेलाका पलहरू अनि भावहरू कस्ता थिए ? त्यो भावहरूबाट केही सिकेको अनुभूती हुन्थ्यो ? त्यतिबेलाको मेरो अनुहार अनि भावहरू पढ्थेँ अनि अहिलेको मेरो भावहरू महसुस गर्छु ओहो ! कति खुसी रहेछु म, के थाहा त्यतिबेला कि यस्तो दुर्घटना हुनेवाला छ मेरो जीवनमा । म तुलना गर्छु पहिला र अहिलेको मेरो भावहरूको । ठूलो फरक पाउँछु । अहिले म कठोर छु, बढि परिपक्क छु, अलि बढि संयम छु अनि आपैmदेखि सन्तुष्ट पनि छु, सन्तुष्ट यो मानेमा कि यो बज्रपातलाई परास्त गरेर बाँचेको छु एउटा आशा लिएर । हुन त त्यति बेला मेरो जीवनको गोलाद्र्धमा उहाँ हुनुहुन्थ्यो तर अहिले खाली छ फेरि पनि म खुसी छु किन ? आफैसँग प्रश्न गरेँ । किनकि मैले सङ्कटका सामु घुँडा टेकिन ।
जीवनमा धेरै थरिका दु:खहरू आउँछन् तर मृत्यु जति ठूलो चोट कुनै पनि हुँदैन होला । मृत्युका अवस्था, समय, सम्बन्ध र त्यसको स्वरूप फरक हुन सक्ला तर आफन्तका पीडाहरू भने फरक हुन सक्दैन । सबैले यो पीडा भोग्नै पर्छ तर कसरी भोग्ने ? कसरी यसको सामना गर्ने ? यो महत्वपूर्ण कुरा हो । मृतकको सम्झना गर्नु नराम्रो कुरा होइन तर मृतकको गुणहरूलाई सम्झनु, अनुसरण गर्नुु त्यो आवश्यक हुन्छ । मृतकका कपडा नहेर्नु, उसका सरसमानहरू हेर्न नखोज्नु, उसँगका संवादका टुक्राहरू सुन्न नचाहनु कायरता हो बरू उसका सबै सामानहरू बारम्बार हेर्नु, उससँगका संवादहरू सुन्नु र पढ्नु र त्यसलाई आफ्नो जीवनमा धारण गर्नु सुन्दर पक्ष हो । मलाई परिवारजन, शुभ चिन्तकहरूले भन्ने गर्नु हुन्थ्यो अलि दिन घरमा नबस्नु, बाहिर जानु, फरक वातावरणमा मन बहलिन्छ । उहाँहरूको मप्रतिको चिन्ता देखेर खुसी लाग्थ्यो तर यो सल्लाहमा म मौन रहन्थे, कुनै प्रतिक्रिया दिइन । केही दिनको लागि गए पनि मलाई यहि घरमा फर्केर आउनु छ । फर्केर आउँदा भित्र पस्ने वित्तिकै फेरि मन भारी भारी हुन्छ, याद आउँछ । अहिले म अभ्यस्थ हुँदै छु, उहाँ विनाको कोठामा, भान्सामा, आँगनमा, रातमा, विहानमा, उज्यालोमा सबै सबैमा । त्यसैले म यही घरमा एक्लै बसेर आफुलाई सम्हाल्छु । उहाँसँगका हर याद र पलहरूलाई सम्झन्छु, उहाँका सबै चिजहरूलाई हेर्ने, राख्ने, मिलाउने गर्छु । यसले मलाई सन्तोष दिन्छ । यी सब कुराहरूलाई नहेर्ने, घरमा नबस्ने भयो भने त्यसले फेरि मलाई पीडा दिन्छ भन्ने लाग्यो र घर छोडिन, बरू दुई चार घन्टाको लागि यता उता हिड्ने, बजार जाने र फेरि घर फकिर्ने गर्छु । छोटो समय भएकोले आउँदा जाँदा त्यति गाह«ो भएन त्यसलाई पचाएँ । म भुल्न सक्दिन उहाँलाई र उहाँका विशेषता र गुणहरू, मैले भुलेँ भने उहाँलाई अन्याय गरेको हुनेछ । तर्सथ मैले उहाँका असल व्यवहार, स्वभाव तथा विशेषताको बारेमा आफन्तहरूलाई सुनाउँछु । उहाँसँगका मिठा पलहरू सुनाउँछु, मलाई उहाँले सिकाउने तरिकाहरू भन्छु, बडो उत्सुक भएर सुन्ने गर्छन् मेरा परिवारका नानी बाबुहरू तथा छोरा छोरीहरू ।
कहिलेकाहीँ यो मनले आफैसँग सोध्छ यदि उहाँको ठाउँमा मेरो मृत्यु भएको भए उहाँले कसरी आफुलाई सम्हाल्नु हुन्थ्यो होला ? कसरी चित्त बुझाउँनु हुन्थ्यो होला ? पक्कै पनि भन्नुहुन्थ्यो होला “बस स्वीकार गरेर बाँच्नु पर्छ बाँकी जिवन सचेत भएर” । दु:ख त रहन्छ नै जीन्दगी भरी कहाँ हराउँछ र ! प्राकृतिक नियम हो दु:ख लाग्नु, याद आउनु, आँशु आउनु । त्यसैले जसरी सुखलाई समातेर राख्न सकिँदो रहेनछ, अर्थात् यसलाई सँधैभरिको लागि आफ्नो साथमा राखिराखौँ जस्ताको तस्तै त्यसरी नै दु:ख पनि सँधैभरि समातेर राख्नु हुन्न त्यसले के गर्छ ? सुखका पलहरूलाई भुलाई दिन्छ त्यसकारण उहाँसँगका स्वस्थ्य जीवनका उपहारहरू खोल्न थालेको छु । उहाँले भनेका किताबहरू पढ्न थालेको छु, अध्ययन धेरै चाहिन्छ, धारणा स्पष्ट हुनुपर्छ लेख्नका लागि । हो म धारणा अझै स्पष्ट गर्ने प्रयास गर्दै छु र उहाँले भने जस्तै सुन्ने वित्तिकै प्रतिक्रिया दिनुपर्छ भन्ने जरुरी हुँदैन सुन्ने धैर्यता राख्नुपर्छ धेरै सुनेपछि समस्याको समाधान आफै हुन्छ । सुन्न सक्ने धैर्यता पनि कला हो । उहाँले भने जस्तै गर्दै जाने हो, जहाँसम्म सकिन्छ, त्यसपछि अर्को उपाय आउँछ ।
पीडाले मानिसलाई विद्रोही बनाउँछ । मलाई पनि मेरो जीवनसाथीको मृत्युको पीडाले विद्रोही बनायो । मभित्र थुप्रै प्रश्नहरू उब्जिरहेका थिए, जस्को उत्तर खोज्नुपर्छ भन्ने लाग्यो । त्यसैले आफैले आफैसँग अन्तरवार्ता, आफ्नै घटना अध्ययनको विधिहरूबाट आफ्नै बारेमा एक अध्ययन गरी माथि थुप्रै प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरेकी छु । यस अध्ययनका प्रश्नहरू के भयो, किन यसो सुन्न र भोग्न पर्यो र कसरी अगाडि बढ्ने भन्ने रहेका थिए । मभित्र के गर्ने, के नगर्ने, भन्ने यही फरक विचारहरूका बिच द्वन्द्व चलिरहेको थियो । केवल प्रश्नहरू मात्र गर्नु र उत्तर नखोज्नु हार तथा निस्क्रियता हो । हारको मतलब आफैलाई खतम गर्नु वा जीवनका सबै ढोकाहरू बन्द गर्नु पनि हो । आफै भित्र दुई विपरीत विचारप्रतिको द्वन्द्व (विद्रोही र सर्मथक) आफै मध्यस्थकर्ता अनि आफै अनुसन्धानकर्ता भएर आफुभित्र जन्मेको द्वन्द्व र यस्का कारणहरूको पहिचान र व्यवस्थापन गरी स्वअध्ययनको यो प्रतिवेदन तयार गर्ने प्रयास गरेकी छु । यसको बारेमा यहाँहरूको सुझाव सल्लाहको अपेक्षा पनि गरेकी छु । एउटा द्वन्द्व व्यवस्थापक र अनुसन्धानकर्तामा हुनुपर्ने गुणहरूका साथै मेरा जीवनसाथीमा भएका सद्गुणहरू जस्तै सहनशील, अध्ययनशील, तुरुन्तै प्रतिक्रिया नदिने, असल श्रोता, पूर्वाग्रही नभएको, अर्काको अवमूल्यन नगर्ने, हँसिलो, धैर्य, अरूको मनमा चोट नपुर्याई सिर्जनात्मक सल्लाह सुझावहरू दिने, तटस्थ बस्ने, नरिसाउने, निस्वार्थ, भेदभाव नगर्ने, शान्त भएर व्यवहार गर्ने बानीको विकास गर्ने प्रयास गर्दै छु ।