शनिबारीय साहित्य : कविता
*** ***
समकालीन परिबेशमा
उत्कृष्ट नाटक मञ्चन गरिने
एक्काइसौ शदीको
आधुनिक मञ्चको अर्को नाम हो बानेश्वर थिएटर ।
आधुनिक मञ्चमा
महान कलाकारहरू अभिनय गर्न
पोख्त छन्् जुनसुकै रूप रङ्गमा पनि ।
कलाकारहरू
अङ्गालो मार्छन् एकापसमा
म्वाई खान्छन्् एक अर्कोसित
घरि नाच्छन्् सहकार्यका नयाँ तालमा
घरि गाउँछन्् समिकरणका नयाँ धूनमा
पर्दा बन्द हुन्छ केही बेर
र, खुल्छ पर्दा उसै गरेर
सम्बन्ध बिच्छेद गरेका दम्पतीझैँ
एकापसकाहरू अर्का अर्कै भैसक्छन््
केटाकेटीहरूका चुचुर्के खेलमाझैँ
म्वाई खानेहरू लुछाचुँडीमा हुन्छन्
एकतामा हुनेहरू अनेकतामा
प्रेमालयमा हुनेहरू धोकेबाजमा
आरोप प्रत्यारोप चल्छ नानाथरिका
भजन कृतन गाउँछन्् धर्तीभरिका
कोही रुए जस्तो गर्छन्
अर्कोथरि पिटे जस्तो
रिसाए जस्तो कोही
हाँसे जस्तो कोही
आँखै अगाडिको टेलिभिजनमाझैँ
आधुनिक मञ्चमा
एक अर्को र अर्को एकमा फेरिन्छन् ।
पर्दा पछाडि पार्श्र्वसङ्गीतमा
बज्न शुरु गर्छ नयाँ समिकरणका नयाँ धून
धूनको बेजोड तालमा शुरु हुन्छ नयाँ तालको नाच ।
दर्शक दीर्घा सिटमा बसेका
हामी नेपाली जनता माझ ताली बज्छ परर्र, परर्र
झस्केर म छेउँमै बसेकी प्रेमिका हेर्छु
नाटकमा देखिएका कलाकार जस्तै गरेर
मेरी प्रेमिका पनि अरू कसैको अँगालोमा मुस्कुराईरहेछिन् ।
२०८० फाल्गुण ३०
घोराही, दाङ ।