बालकुमारी हत्याकाण्डको विरुद्ध एअरपोर्टको गेटमा विरोध प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजिनामा माग

बालकुमारी हत्याकाण्डको विरुद्ध एअरपोर्टको गेटमा विरोध प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजिनामा माग

काठमाडौं । बालकुमारी हत्याकाण्ड विरुद्ध १० दिने संघर्षमा उत्रिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले घोषित संघर्षको छैठौं दिन बिहीबार सिनामंगलस्थित एअरपोर्टको गेटमा विरोध प्रदर्शन गरेको छ । पार्टींका कार्यालय सदस्य कृष्ण धमलाको नेतृत्वमा भएको विरोध प्रदर्शनको क्रममा दलाल फासिवादी राज्यव्यवस्थाका विरुद्ध चर्को नाराबाजी गरिएको थियो ।

“बालकुमारी हत्याकाण्डको विरोध गरौं, राज्यद्वारा गिरफ्तार साथीहरुको रिहाइ गर’ लेखिएको कालो ब्यानरसहित गरिएको विरोध प्रदर्शनमा सयौं नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

पार्टीकी केन्द्रीय सचिवालय सदस्य शारदा महतले सञ्चालन गरेको विरोध प्रदर्शनलाई पार्टीका कार्यालय सदस्य कृष्ण धमला गम्भीरले सम्बोधन गर्नुभएको थियो ।

उहाँले शान्तिप्रक्रिया हुँदै यहाँसम्म आइपुग्दा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका कुनै पनि समस्याहरु हल नभएको बरु अझ विकराल बनेको चर्चा गर्दै अब यो संसदीय व्यवस्थाको समूल अन्त्य गरेर नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादको स्थापना गर्नुपर्ने बेला आएको बताउनु भयो ।

उहाँले बालकुमारी हत्याकाण्डमा मुख्य दोषी प्रधानमन्त्री र गृहमन्त्री रहेको भन्दै नैतिकताको आधारमा उनीहरुले तत्काल राजिनामा दिनुपर्ने धारणा राख्नुभयो । उहाँले अहिलेको दलाल संसदीय सत्ता, व्यवस्था र संविधान विरुद्धको आन्दोलनमा सहभागी हुन र साथ दिन आम जनतालाई उहाँले अपिल समेत गर्नुभयो ।