यसरी भयो मेरो घटुवा

यसरी भयो मेरो घटुवा

शनिबारीय साहित्य ः संस्मरण

***

जनयुद्धले पाँचौ वर्षको शैशवकाल बिताइरहेको थियो । कमरेड आयाम औधी खुसी हुनुहुन्थ्यो । सायद उत्तराधिकारीको पर्खाईमा अनि आफ्नो बंशको निरन्तरतामा पुरुषहरु सबै त्यस्तै खुसी हुन्छन होला । महिलाहरु त झन् पुरुषका सहयोगी, पुरुषलाई जीवन दिँदै आएको भनिरहनु नै परेन । म जनयुद्धमा महिलाहरुले काम गर्न सक्दैनन र जिम्मेवारीप्रति उदासीन हुन्छन भन्ने आरोपको खन्डन मात्र होइन कि ब्यबहारबाट नै पुष्टि गर्न चाहन्थे । त्यसैले परीवार र समाजबाट मेरो विद्रोह सानैबाट नै एउटा इगो अथबा जीवन जस्तै बनिसकेको थियो । समाजमा महिलामाथि गरिने विभेदको पीडा मेरो नशा नशामा, रगतका बुँद बँुदहरुमा, कोशिकाहरुमा दौडिरहेका हुन्थ्यो । त्यसैले मेरो परीवार मेरो समाजले दिन नसकेको माया, प्यार, विश्वास, ढाडस, समानता, न्याय मलाई मेरो पार्टीले देओस भन्ने चाहन्थ्यो । मेरो जीवनसाथी आयाम सधैभरी यही उभिरहनुहोस भन्न चाहन्थे । कि महिलाहरु पनि यस्तो बन्न सक्छन भनेर जवाफ दिन सकियोस । मैले बच्चा नजन्माएर काम गर्नका लागि परीवार नियोजन गर्ने प्रस्ताव राख्दा आयामजीले एउटा मात्र बच्चा बनाएर मोडेल बन्ने प्रस्ताव राख्नुभयो । अन्तमा मैले उहाँको त्यो प्रस्तावलाई स्वीकार गरे । किनभने मैले ३० वर्ष पूरा गरिसकेकी थिए । बच्चा जन्माउन पनि एउटा उमेर त चाहिन्छ नै फेरि स्वास्थ्य पनि जनयुद्धमा लागेकाहरुको आदर्श र साहसको अगाडि भौतिक शरीर स्वभाविकै रुपमा कमजोर त हुने नै भयो । अझ हाम्रो जस्तो समाजमा घरमै बसेका महिलाहरुको जीवन पनि कति कष्टकर छ ? त्यसैले त महिलाहरु पनि अधिकार र समानताको लागि जनयुद्धमा लागे । बन्दुक बोके अनि पुरानो मक्किएको सत्ताको विरुद्धमा सबै प्रकारको दुखहरुसँग सामना गर्न बाध्य भए । त्यही नेपाली महिलाहरुले सामना गरेको जीवनलाई मैले पनि नयाँ स्तरबाट उचाईमा सामना गर्ने निर्णय गरे र सहमत भए । यो सहमति सबैको लागि खुसीको विषय बनेको अनुभूति गरे । तर, मलाई भने केही प्रश्नहरुले सताइरहेका थिए । ती जिज्ञाशाहरु कमरेड आयामसँग राख्ने कोशिस गरे मैले । ती विषयहरु थिए–

पहिलो ः पार्टीको पहिलो डीसीएस, फेरि भरखरै मात्र २ वर्ष भएकाले यसको अवतरण हारमा होइन, जीतमा । अपमानमा होइन, सम्मानमा । कमजोरीमा होइन, कर्तव्यमा । अन्यायमा होइन, न्यायमा । घटुवामा होइन, बढुवामा नभए यथास्थानमा मुल्याङ्कनमा कायरता अवैज्ञानिकता होइन । वैज्ञानिकताको आधारमा
सत्य न्याय तथ्यगत निर्णय हुन्छ कि हुँदैन । यही कुराले निकै सताइरहेको थियो । तर, पार्टी वैज्ञानिक त छ तर केही लिडरहरुका बहसहरुले मलाई झस्काइरहेको थियो । जनयुद्धमा, १० जना महिला सिसिएमको साथमा

दोस्रो ः महिलाहरु बिहे गर्नुभन्दा पहिले मात्र राजनीति गर्छन । मानौ उनीहरु रजनीतिका घामछाया मात्र हुन् । देखिन्छन अनि छिट्टै हराउँछन भन्ने मान्यतालाई जनयुद्धले त चिरेको थियो । त्यो प्रश्नको उत्तर त महिलाहरुले दिएकै थिए । तर काखे बच्चा लिएर पनि महिलाहरु अगाडि बढ्न सक्छन । अनि उनीहरुलाई पछाडि पार्ने उनीहरुको पाठेघर अनि उनीहरु शारीरिक रुपमै निर्वल नभएर बुद्धिमान पितृसत्तात्मक सामन्त्ती व्यवस्था र त्यस मान्यतालाई अगाडि बढाउनेहरु नै बाधक हुन भन्ने कुराको जवाफ दिनुथियो । यस्ता बहसहरु, तर्कहरु, निकै पार्टीमा, समाजमा, परिवारमा र हामीमा पनि थियो । त्यसैले यसबारेमा पार्टी भित्रका अगाडि आएका महिला नेताहरुले बच्चा नजन्माउन पुरुष नेताहरुले भन्नुहुन्थ्यो । स्वयम् अध्यक्ष कमरेडले धेरै पटक भन्नु भएको छ । आधारइलाका बनेपछि मात्र बच्चा बनाउनु भयो भने सजिलो तरिकाले व्यवस्थापन गर्न सकिन्छ । मात्र व्यवस्थापनको कोणबाट आउने यो कुराले मलाई भने म भित्र हुने उमेर, समाज, पार्टी, परीवारका समस्यालाई समाधान गरिरहेको थिएन । लाग्थ्यो, महिलालाई भनेजस्तै पुरुष नेताहरुलाई अनि महिला नेताका जीवनसाथी पुरुषहरुलाई पनि त्यो प्रशिक्षण दिनुभए कति राम्रो हुन्थ्यो । अझ महिलाहरुलाई भन्दा पुरुषहरुसँग अध्यक्षले राख्दा निकै सजिलो, व्यवहारिक र वैज्ञानिक पनि हुन्थ्यो । मलाई त्यस्तै लाग्थ्यो । किन भनिदैन यो कुरा पुरुषहरुसँग ? मानौ महिलाको यो पाठेघर व्यक्तिगत हो । यसको समाधान पनि स्वयम महिला आफैले गर्नुपर्छ । किनकि महिलाहरु दोस्रो दर्जाका मान्छे हुन । उसँग एउटा पाठेघर छ । त्यो उसको हो । त्यो भएकाले उ कमजोर छे । यो अभिसापको सजाय उसले भोग्छे, या जे गर्छे, भन्ने सोचाई ममा जब्बर रुपमा आइरहे । अब छड्के रुपमा अब कुन घरमा बस्ने हो । अब त हाम्रा नेताहरु इन्डिया बसेकाले ‘दिदी पनि त्यतै त होला नि’ ? आदि आदि भनेर गरिने तर्कहरु, ठट्टाहरु, हाँसोहरु, हिडाईहरु, बोलाईहरु मलाई भने कुनै भयङ्कर व्यङ्ग्य जस्तै लागिरहेका थिए ।

तर, त्यसलाई संस्थागत रुपमा के गर्ने, यसको उत्तर के दिने ? अनि कसरी दिने ? यसको प्रभाब के पर्छ ? एउटी महिला नेता पुरुषको पनि नेता हो, कार्यकर्ता पनि हो, एउटा सिपाही पनि हो भन्ने मान्यतालाई यथार्थमा स्थापित गर्नतिर होइन । नयाँ स्थापित हुन लागेको मुनालाई फस्टाउन दिनुको सट्टा पुरानै मान्यताका पट्टीहरु बाँधिने हो कि भन्ने आशङ्का जाग्दै थिए । झन् कहिलेकाही पेट दुख्यो, ज्वरो आयो, रिगङ्टा लाग्यो, टाउको दुख्यो, हिड्न सकिएन या पछाडि परियो भने ‘बच्चा पाउने भई क्या हो ?’ भनेर सके मलाई नै नभए आयामजीलाई भन्दथे साथीहरु । अनि यो साधक होकि बाधक हो भनेर आयामजी र म गम्भीर भएर घण्टौ स्तब्ध हुन्थ्यौं । छलफल गर्ने बातावरण पनि हाम्रो अनुकूल थिएन । लोग्नेस्वास्नी नजिक भए पनि आरोप थोरै टाढाका लाग्दथे । आरोप दिने संरचनामै थियौं हामी ।

सामन्त्ती पुरुषवादी सोच बिचारलाई कसरी पराष्त गर्न सकिन्छ ? जनयुद्धको मूल मक्सदलाई कसरी स्थापित गर्न सकिन्छ ? भन्ने मेरो सोच र चिन्तालाई माथि उठाउदै कमरेड आयामले ‘जनयुद्ध सत्यको, न्यायको, उत्पीडितहरुको, महिलाहरुको, दलितहरुको, किसान सुकुम्बासीहरुको, कमैया हरुवा चरुवाहरुको प्रतिक प्रतिबिम्ब हो । तिम्रो यो विद्रोह र लगानी कुनै पुरुषको भन्दा कम छैन । त्यसैले तिमीलाई कारवाही हुँदैन । यस्तो लडाइँ सिङ्गंो जनयुद्धको मक्सद हो’ भनिरहनुहुन्थ्यो । तर पनि ममा भने कता कता एउटा कालो धब्बा बसिरहेकै थियो ।

तेस्रो ः महिलाहरु आफ्नो जिम्मेवारीलाई, आफ्नो भूमिकालाई पूरा नगरी नितान्त ब्यक्तिगत र पारिवारीक मामलामा अल्झन्छन । महिला भनेका कमजोर नै हुन् । उनीहरुको शरीर र उनीहरुको आफ्नै कारणले पनि दोस्रो दर्जाका भएका हुन । पार्टीले त डिसिएस बनाएकै हो, सक्नुपर्छ भनेर हेर्न देखाउन प्रयोगमा ल्याएकै हो । तर बच्चा पाई, नपाएकी भए हुन्थ्यो नि ? त्यति त्याग गर्न नसक्नेले कसरी पार्टीको नेता हुन सकिन्छ ? अबस्य भन्छन, त्यसैले मलाई नया मेरो सपनालाई स्प्रिडलाई सहयोग गर्नुस । मेरो आग्रह थियो ।

चौथो : मलाई आउने उमेरको दबाब त आएकै थियो । तर बच्चा जन्माउनै पर्ने कोणबाट मात्र आउने तर्क छलफलको अगाडि म सहमतमा पुगेकी थिए । तर मेरो ईन्चार्ज अनि अन्य नेता कमरेडहरुको कुनै प्रतिकृया, सल्लाहा सुझाब बाहिर बाहिर भए पनि मसँग नगरेको पाउदा उहा उपयुक्त समयको पर्खाईमा हुनुहुन्छ । कमरेड अमरजी ईन्चार्ज भएर आएपछि औपचारीक बाहेक कुनै कुरा गर्न चाहेको पाउदीन । महिला प्रति निक्कै संकिण त हुनुहुन्छ उहा अनि महिलाले राजनैतिक नेतृत्व गर्न सक्छन भन्ने कुरामा पनि बिस्वस्त भएको पाउदिन मैले । कमरेड बिप्लबले, कमरेड दिबाकरले, कमरेड सुरेससिंहले बिभिन्न प्रसिक्षणमा बच्चा जन्माउने कुरा यो महिलाको निजि मामिला हो भनेको हामी सबैले धेरै पटक सुनेकै हो । म कारबाहि ब्यहोरेर भए पनि म यो पर्खाईमा छु कि कसरी, कतिबेला, कुन कारबाहि पर्न सक्छु ? मलाई सम्मानित अबतरण हुदैन ?

यस्तै सङ्घर्षका डोबहरुमा पौडदै गर्दा पश्चिम ब्यूरो स्तरीय प्रशिक्षण हुने भयो । त्यसमा डीसीएसहरु र केही विशेष कमरेडहरुको उपस्थिति हुने गरी बोलाइएको थियो । इन्चार्जले मलाई नभनेर आयामजी मार्फत ‘अणुलाई नजाने भन्नु होला’ भन्नुभएछ । बर्दियाबाट आयाम जाने हुनुभएको रहेछ । निकै मिलाएर आयामजीले डक्टरले भनेको कुरा राख्दै भन्नुभयो, “गर्भ रहेको ५ महिना निकै जटील हुने भएकाले कुनै पनि बेला पनि गर्भपतन हुन सक्छ । त्यसैले रोल्पाको ओतमा हुन लागेको प्रशिक्षणमा तिमी नजाऊ । मैले सबै कुरा तिमीलाई सम्प्रेषण गरुला ।”
हामी माईती गाउँमा थियौ । जीवनजी पनि हुनुहुन्थ्यो । मलाई भने रुन मन लाग्यो । म भित्रभित्रै रोए । तर, आँसु देखाइन । मलाई रुँदा वा आँसु देखिदा हारको महशुस हुने गर्दथ्यो सानैदेखि । म रोएको कमरेड जीवनजी देखिहाल्नुभयो । जीवनले पनि मलाई नजिकबाट चिनिसक्नु र बुझिसक्नु भएको थियो । उहाँले आयामजीलाई धाप मार्दै भन्नुभयो, “हैन दिदी जान पाउने कार्यक्रममा बिस्तारै जानुहुन्छ । यहाँ के नै बस्न पाउनुहुन्छ र ? दुस्मनले दिदी सुत्केरी हुँदै हुनुहुन्छ भन्ने थाहा पायो भने झन खोज्नेछ ? त्यसैले तपाईसँगै जाँदा अप्ठेरो होइन, झन् सजिलो पो हुन्छ । मुख्य त सजिलो दिमागमा, विचारमा अनि भावनामा खोज्नुपर्दछ ?”

मलाई भने जीवनजीले त्यसरी भनिरहँदा मेरो मुल्याङ्कनमा धब्बा लाग्न सुरु भइसकेको गहिरो अनुभूति भइसकेको थियो । आयामजीको भित्री आसय नगए हुन्थ्यो भन्ने भए पनि बाहिर भने रोक्न सक्नुभएन । मेरो जान पाउने अधिकार भने मैले नछोड्ने निर्णय गरे ।

हामी ‘क्यामोफ्लाई’ गर्दै बेहुला बेहुली जस्तै बनेर हिड्यौ । म साडीमा कसैले नचिन्ने गरी सजिएकी थिए । बसबाट दाङको बिजौरीमा आयौ । बिजौरीको सेल्टरबाट हिड्दै गर्दा बाटोमा कमरेड कुशल र बिमलासँग जम्काभेट भयो । उहाँहरु काठमाडौंबाट उपचार गरेर फर्कदै हुनुहँुदोरहेछ । कार्यक्षेत्र र घर रुकुम भए पनि यतिबेलाको ओतको प्रसिक्षणमा जान थाल्नुभएको रहेछ । हामी ४ जना भयौ । एक जना रुड गाइडर सहित ५ जना बिहानै हिड्यौ । पल्लो घरमा कमरेड बिबेक (कविराम केसी) बस्नुभएको रहेछ । साँझ सेल्टरका कमरेडहरुले हामी भन्दा अगाडि नै त्यहाँ बसाल्नु भएको रहेछ । हामीसँग उहाँ पनि थपिनुभयो । विवेकजी र आयामजी नेपालगन्ज क्याम्पसमा सँगै पढ्नुभएको रहेछ । आयामजीलाई अगाडि लान विवेकजीले निकै कोशिस गरे पनि सक्नुभएन । म उहाँहरुसँग हिड्न सक्दिनथे । मलाई छोडेर आयामजी जाने कुरा भएन । पानी मरुवा भन्दै जानुभयो । म उहाँहरुको छलफलमा सहभागी भइन । मात्र मैले भाव बुझे । अब मलाई यस्ता कुराले छुन छोडिसकेको थियो । प्रतिवाद पनि गर्दिनथे । सामान्य जस्तै सुन्ने र बुझ्नमा नै आनन्द लाग्ने वानी बसिसकेको थियो । फेरि हाम्रो सम्बन्ध अनि मेरो अवस्था पनि कमरेडलाई थाहा नभएको जस्तो पनि लागिरहेको थियो ।

एक बजेदेखि हामी ग्वारखोलामा प्रवेस ग¥यौं । खोलाको सिरानमा रहेको एउटा गोठ जस्तोमा हाम्रो सम्पर्क पोस्ट रहेछ । त्यसैमा हामी सबैले खाना खायौ । त्यो पोस्टको नाम जोसिलो पोष्ट रहेछ । त्यो पोष्टको नेतृत्व सुरुमा कमरेड जोसिलोले गर्नु भएकाले पोष्टको नामाकरण नै उनकै नामबाट भएको रहेछ । हामी खाना खाएर हिड्दा ४ बजिसकेको थियो । साउनको महिना खोला, नाला, खोल्सा, झपास, चिप्लो, हिलो, पानी, झरी, जुका, खहरेखोला, पार गर्दै हामी रोल्पाको सीमानामा पुग्दा झिसमिसे साँझ परिसकेको थियो । पूर्बबाट आएको खोलाले दक्षिणतिर र ग्वारखोलाले पूर्वतिर पर्ने कुनोमा २ वटा गोठहरु देखिए । त्यसैमा आजको रात बिताउने सल्लाह भयो । बाटामा थकाई मारीरहनु भएका कमरेड पुर्ण घर्ति र सीता आचार्यसँग भेट भयो । उहाँहरु पनि हाम्रो यात्राका सहयात्री बन्नु भयो । संंयोगले हामी ३ जोडीलाई एकै ठाउँमा ल्याए पनि सबैले सबैको बारेमा बुझिसकेका र चिनिसकेका थिएनौं । जनयुद्धले सबैलाई सबै कुरामा भुमिगत बनाएको अनुभूति भैरहेको थियो । यस्तो हुनु स्वभाबिकै हुन्थ्यो । कार्यक्षेत्र, जानकारी र जिम्मेवारीले केही फराकिलो केही सागुरो बनाएको थियो । जो जहाँको भए पनि सबै एउटै छाता मुनि एउटै उद्देश्य र बिचार लिएर हिडेकाले नजीक बन्न चिन्न अगाडि बढ्न कुनै कठिनाई थिएन । यो हाम्रो सबै भन्दा फराकिलो संसार थियो । त्यही भित्र जान्नै पर्ने बुझ्नै पर्ने कुरा पनि नहुदा सागुरो जस्तो बन्न पुग्दथ्यो । हाम्रो सात जनाको टोलीले साझ सिन्कीको झोल आलुको तरकारी र भात खायौ । गोठ मालिक जो माथी गाउबाट बेसीमा बर्षे खेती गर्न आउनुभएको थियो । उहाले तरकारीको लागि र सुत्ने कपडाको लागि सहयोग गर्नु भयो । हामीले चामल किन्यौ । हामीले मकैका प्वाँखहरु बिछ्यायौ र माथिबाट हाम्रा दोपट्टा, साडी र ओढनालाई तन्ना बनायौ । घरबेटीले दिएको कम्मललाई सिरक बनायौ । हामी महिला एकातिर सुत्यौ अनि पुरुष साथीहरु अर्कोतिर तर हामी सबैका सीरानी एउटै थिए । झोलाहरु हाम्रा भित्ता अथवा बार बनेका थिए । हाम्रो रात त्यसरी नै बित्यो । त्यो रातभरि ठूलो पानी प¥यो । बिहान ५ बजे बिउझिदा पानीले हाम्रो घरको पेटी पूरै डुबाएको रहेछ । हाम्रो बाटो अनि खोलाको कुनै नामनिशान थिएन । वारपार पानीमात्र देखिन्थ्यो । गडगडाएको सुसाएको पानीले समेत हाम्रो थकाईलाई जित्न सकेन । कैलेकाही थकाईले पनि निदलाई निलिदिँदोरहेछ ।

बिहान ९ बजेतिर खोला केही घट्यो । बिस्तारै खोला भित्रका ढुङ्गाहरु देखिन थाले । हामीले खाना पनि साझ जस्तै त्यही खायौ । त्यति बेला सम्म पानी धेरै घटिसकेको थियो । अब वारी र पारीको बाटो पनि देखिन्थ्यो । मान्छे हिड्न थालिसकेका थिए । हामी भने अझ तर्न सकिने स्थितिमा थिएनौ । आयामजीलाई मेरो र म भित्र हुर्किरहेको बच्चाको चिन्ता थियो । चिन्ता मलाई पनि थियो । तर, तिमी आउन हुँदैनथ्यो भनेर मलाई बिहानबाट धेरै पटक भनिसक्नुभएको थियो भने म बोलिरहेकी थिइन । मलाई भने यो बच्चासँगै मेरो जिम्मेवारीमा कसरी पास हुन सक्छु ? पास गराउन मलाई उत्साहित बनाउन पार्टीले कसरी लिन्छ होला ? बढुवा नभए पनि यथास्थान या घटुवा के होला ? अरु कमरेडहरु बिरामी भए भने बिदा पाउँछन तर घटुवा त भएका छैनन ? मेरो बिरामी पनि होइन, सहायक पद भए यो त्यस्तै चलिहाल्थ्यो र चलेकै पनि थियो । तर यो डीसीएस, एसीएस जस्ता पदहरुमा त केही निर्णय गर्नै पर्दछ । कोहीलाई कार्यवाहक जिम्मा दिएर, सिधै माथीबाट कमान लिएर, अर्कोलाई बनाउने मलाई यथास्थानमा रेस्टको लागि केही समय विदा दिने र अन्तमा घटुवा गर्ने अनि त्यो ठाउँमा अर्कोलाई बढुवा गर्ने ? के होला ? पार्टी जीवनमा यस्तो कहिल्यै नगरेकाले मलाई यति धेरै टेन्सन भएको हो । जब एउटा मान्यताको कार्यान्वयन हुन्छ । त्यतिबेला एउटा नीतिले स्थान लिइसकेको हुन्छ । चाहे अगाडि बढेर होस् चाहे पछाडि हटेर होस्, त्यसले एउटा स्थान त लिन्छ नै ? यही संक्रमणको शिकार म नराम्ररी भए । यस्तैमा आयामजीले निकै फुर्तिसाथ एउटा विकल्प निकाल्नुभएको थियो ।

नजिकै एउटा खोला थियो । खोलाको बीचमा ठूलो ढुंगा थियो । तर, आज त्यो ढुंगा पनि छोपिसकेको थियो पानीले । जुन बेलाबेला देखिन्थ्यो र पानीले पुन छोपिन्थ्यो । नदी पार गर्नका लागि त्यसै ढुंगालाई आड बनाएर एउटा लाप्को (काठ राखेर बनाइएको पुल) बनाइएको थियो । तर, कुन दिन त्यो लाप्को पानीले बगाउने हो थाहा थिएन । त्यही लाप्को क्रस गर्ने सल्लाह कमरेड बिबेक र आयामजीले गर्दै हुनुहुन्थ्यो । सँगै पढेका यी दोय साथीहरु बिछट्टै खालको एकतामा बाधिनु भएको थियो । हाम्रो पुल तयार भयो । मलाई पुल पार गर्न निकै डर लाग्दथ्यो । अझ त्यसमा पनि नदीको पानीले छोएका यस्ता लाप्काहरु कसरी पार गर्नु ? पुलमा नजाँदै पहिल्यै खुट्टा थरथरी हुन्थ्यो । सिज अभियानमा ५० र ५१ सालतिर म रोल्पा परेकी थिए । मेरो हविगत पहिल्यै नै थाहा पाउनु भएका कमरेड पुर्णजी र सीताजी पहिल्ल्यै पारी गएर हैर्दै हाँस्न थालिसक्नु भएको थियो । जेहोस् यसपाली कमरेड आयाम भएकाले मलाई कुनै चिन्ता थिएन । त्यो खोला पार गरेर हामी उकालो लाग्यौ । उकालोमा बिमलाजीलाई जुकाले खाएछ । खुट्टाभरी रगतै रगत देखियो । विमला पनि तीन महिनाको पेटमा बच्चा हुर्काईरहनु रहेछ । भरखरै उपचार गरेर र्फकनुभएको रहेछ । उहाँको खुट्टामा रगत देखेर एकछिन हामी सबैको सातो गयो । पछि मात्र जुकाले खाएको थाहा पायौ । हामी भने साथीहरुकै सुझाव अनुसार सुर्ती जुत्तामा हालेर हिडेका थियौं । जुकालाई लखेट्ने उपाय मैले सिज अभियानमै जानेकी थिए ।

“ल यो सुर्ति जुत्तामा मोजामा हाल्नोस, कुनै जुकाले हामीलाई शोषण गर्नै पाउदैन ।” भन्दै सबै साथीहरु हाँस्दथे । त्यसै गर्दै अगाडि बढिरहेयौ । नुन र टिमुर पोको परेर लठ्ठीले जुकालाई छुवाई दियो भने पनि जुकाको ओखती हुँदो रहेछ । तर त्यो बिधि धेरै ढिला हुने रहेछ किनभने एउटा त जुका हेरीरहनुप¥यो । दोस्रो जुकालाई छुवाउनु प¥यो । यसो गरिरहँदा धेरै हिड्न नै सकिदैन । अर्को कुरा सबै जुकालाई आँखाले कहाँ भ्याउन सकिन्छ र ? अनि फेरि यहाँ त सडक छैन । राती हिड्दा यति साँघुरो बाटो, मान्छेहरु पनि नहिडेको बाटो अझ नयाँ बाटो बनाएर हिड्नेहरुलाई यो नुन टिमुर पछाडि परीसक्यो । यही सुर्ती मोजा भित्र हाल्यो । टनक्क जुत्ता बाँध्यो हिड्यो दनादन । यस्तै गर्दै बाटो कटेको पनि थाहै भएन । सुर्यले बिदाई र रातले स्वागत गरेको एकै पटक थाहा पायौं । हामीले एकदिनको बाटोलाई बिदाइ गरेका थियौ भने सल्यानको ग¥याले स्वागत गरीसकेको थियो ।

हामीले खाना खायौ, मेरा खुट्टा सुन्निएका थिए । घरभेटि दिदिले मट्टितेल ल्याएर खुट्टामा तेल लाउन भन्नुभयो । मलाई थाहा थिएन, मट्टितेल पनि लगाउछन भन्ने । मैले अनौठो मानेर सोधे । दिदीले भन्नुभयो, यसले थकाई पनि कम गर्छ । सुन्निएको पनि घटाउँछ । अनि यो लगायो भने मच्छर या कुनै किराले पनि टोक्दैन । पहिलो भएर तपाईलाई अप्ठेरो लागेको होला । हामी त बानी परीसकेका छौ । म हाँसे मात्र । बोल्न सक्ने स्थिति नै थिएन ।

खाना खाई नसक्दै त्यो ठाउ छोडने खबर आयो । हामी सबै तयार भयौ । पानी परेकाले बाटो चिप्लो थियो । आयामजीले मेरो हात दह्रोसँग पकड्नु भएको थियो । अन्धकार रात भित्र हाम्रो रुड कमान्डरको सेतो पटुका नै हाम्रो बत्ती थियो । त्यही बत्तीको प्रकाशमा हामी निरन्तर कुदिरहेका थियौ ।

बाटामा कमरेड सोनाम भेटिनुभयो । उहाँले हात मिलाउँदै भन्नुभयो, “सरलाजी आउनु भएको सुनेर पर्खेको । ल हिडिहालौ बल्ल कपुरकोट आईपुग्यो । हामीले यो एरीया काट्नै पर्दछ ।”
जंगलको बिचमा २, ४ वटा घर थिए । पहाडको पाखामा भेट भयो । तर, उहाँसँग कुरा गर्ने भनेको दरीला हात मिलाउने हो । हाँसेको पनि देखिदैन्थ्यो । चुक घोप्टाएको जस्तो औसीको त्यो रात हाम्रो लालटिन भने चम्कीरहेकै थियो । मानौ कालो आकाशमा एउटा सेतो बादलको धब्बा छ । त्यसले उजेलोको बिहानी संकेत गरीरहेको छ, त्यस्तै लाग्थ्यो ।

कमरेड सोनामजी अगाडि लाग्नुभयो । मैले उहाँलाई देखेको यो चौथो पटक हो । पहिलो दाङ्गको क्याम्पसमा पढदै गर्दा, दोस्रो पटक सिज अभियानमा, तेस्रो पटक पश्चिम ब्यूरोको डीसीएसहरुको प्रशिक्षणमा । जहाँ किलो शेरा टु अप्रेशनलाई कसरी क्रस गर्ने भन्ने बारेमा गरिएको बैठक थियो । अनि यो भेट चौथो थियो ।

अर्को दिन जंगलको बिचमा पहाडको धुरी धुरी हिडिरहेको थियौ । अध्यक्षसँग भेट भयो । उहाँ ठूलै टिम सहित हुनुहुन्थ्यो । १५, २० जना थियो होला । हात मिलायौ । मेरो कुरा अध्यक्षसँग राख्ने न्याय पाउने धोको मात्र बन्यो । पहिला जस्तो अध्यक्षसँग भेटन र कुरा राख्न सजिलो जस्तो लागेन । सायद उहाँहरु घोडामा हुनुहुन्थ्यो । हाम्रो सेल्टर हिडाई र टिम नै फरक थियो । आयाम र म दुबै जना अन्तरमुखी सजिलै कुरा राख्न नसक्ने केवल हामीले मुखा मुख ग¥यौं । कमिलाको ताँतीमा सल्यानको कोईला, जेनावाङ्ग, र रोल्पाको बुढागाउँ अनि ओतको बिचबाट कार्यक्रम स्थलमा पुग्यौ । हामीलाई ओनसरीले स्वागत गर्नुभएको थियो । उहाँ पनि सुत्केरी हुनुभएको रहेछ । सानी छोरी पनि साथमा थिइन । मलाई भने साथीहरुमाझ आफ्नो मनको बोझ बाँडौ भन्ने लाग्दै थियो तर सम्भब भएन । कार्यक्रममा मैले जिल्लाको रिपोर्ट राखे । हामी फर्कियौ । म जिल्ला आएपछि थाहा पाए । पार्टीले कमरेड आयामलाई डीसीएस बनाएछ । मलाई भने कारबाही नगरीकन घटुवा गरेछ ।
समाप्त २०५६ साउन

(प्रकाशोन्मुख संस्मरण सङ्ग्रह ‘दृश्यभित्र अदृश्य’ बाट)