तीन कविता

तीन कविता

शनिबारीय साहित्य : कविता

धोका

मेरो टोल
आजकल यो देशको
संसदजस्तो भएको छ
रातभरि भुस्याहा कुकुरहरु
भुकिरहन्छन्
र निद्रा
खलबल्याइ रहन्छन्

र, बिहान
टोलको एउटा घर
चोरी भएको
खबरहरु सुनिइरहन्छ ।
०००

राष्ट्रिय कविता महोत्सव

साँच्चै !
त्यो गरिबको भोकको कविता थियो कि
तपाईं अघाउनु भएको डकार
थियो हँ !

वाह !

कविज्यू
तपाईंको कविता
क्या गज्जब !

के अघाएपछि
मानिसहरु भोकको कविता लेख्छन् ?

सोधिहालें ।
०००

सप्ताहन्त

सबैभन्दा सजिलो छ
सहरमा बसेर गाउँको कविता लेख्न

आउनुस !

आउनुस
कविज्यू
गाउँको एउटा–एउटा कविता लेखेर
सिंहदरबारलाई सुनाउन जाऊँ

सिंहदरबारलाई
गाउँको कविताको बास्ना
निकै मन पर्छ ।
०००