सुकुम्बासीहरुले होल्डिङ सेन्टर नछाड्ने, छाड्नै परे घर भत्काएकै ठाउँमा टेन्ट हालेर बस्ने

सुकुम्बासीहरुले होल्डिङ सेन्टर नछाड्ने, छाड्नै परे घर भत्काएकै ठाउँमा टेन्ट हालेर बस्ने

काठमाडौं । बालेन्द्र साह नेतृत्वको सरकारले घर भत्काइदिएर होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरुलाई असार १२ गते होल्डिङ सेन्टर पनि छाड्न उर्दी जारी गरेपछि सुकुम्बासीहरु आक्रोशित बनेका छन् । उनीहरुले होल्डिङ सेन्टर नछाड्ने, छाड्नै परे सरकारले दिने त्यही २५ हजारबाट टेन्ट किनेर घर भत्काइदिएकै ठाउँमा गएर बस्ने बताएका छन् । उनीहरुले आफूहरुको घर मात्रै हाइन, रोजीरोटी पनि सरकारले खोसिदिएको, मानसिक रुपले विक्षिप्त बनाइदिएको र अमानवीय क्रूरता प्रदर्शन गरेको भन्दै जाने ठाउँ कहिँ पनि नभएकोले भत्काएकै ठाउँमा गएर बस्नुको आफूहरुसँग कुनै विकल्प नरहेको बताएका छन् ।

होल्डिङ सेन्टरमा अहिले ३८८ परिवार रहेका छन् । यो भनेको विस्थापित २० हजार नागरिकमध्ये ६ प्रतिशत मात्रै हो । उनीहरुलाई बोडे होल्डिङ सेन्टर, इचंगु होल्डिङ सेन्टर, खरिपाटी होल्डिङ सेन्टर, नगरकोट होल्डिङ सेन्टर, बनेपा होल्डिङ सेन्टर, होटल र कृतिपुर होल्डिङ सेन्टरमा राखिएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले होल्डिङ सेन्टर छाड्न सुकुम्बासीहरलाई ५ दिने अल्टिमेटम दिएपछि चौतर्फी रुपमा विरोध भइरहेको छ । चार कम्युनिस्ट पार्टीहरु सम्मिलित संयुक्त संघर्ष समिति र संयुक्त राष्टिय सुकुम्बासी मोर्चाले सडक संघर्षको घोषणा गरिसकेका छन् ।

मोर्चाले १३ गते सडक विद्रोह कार्यकम माइतीघर मण्डलामा दिनको २ बजे भेला भई ३ बजे र्याली सहित नयाँबानेश्वर बिजुलीबजारको पुलमा कोण सभा गर्ने निर्णय कार्यक्रम बनाएको छ । पीडितहरुले विभिन्न होल्डिङ सेन्टरमा पत्रकार सम्मेलन गर्ने, जहाँ पत्रकारहरुलाई उपस्थित गराएर जबसम्म ब्याबस्थापनको स्थायी विकल्प हुँदैन, तबसम्म होल्डिङ सेन्टर बाट बाहिर नजाने र जानु परे पनि भत्किएको ठाउँमा नै बुझेको रकम लिएर छाप्रो हाल्छौ भन्ने विषय उठान गरिरहेका छन् ।