शनिबारीय साहित्य
***
कान नछामी कागको पछि किन लाग्छ मान्छे ?
आफ्नै चेतनालाई किन जिस्क्याउँछ मान्छे !
धर्म, संस्कार, संस्कृतिलाई पारी गिजोल–गाजोल
हिलो–हाँस–कमल मिसाई खोले खान्छ मान्छे ?
संस्कृति हो चालचलन, संस्कार सभ्यता हो
धर्म अन्धविश्वास हो लट्ठ्याउने अफिम
चेतनालाई ध्वस्त पार्दै मार्छ संवेदना
विज्ञानलाई भोग्छ तर गर्छ अस्वीकार !
नयाँ संस्कार–संस्कृतिले सभ्यता बनाउँछ
हाँसले पनि हिलो खान्न खाद्य मात्र खान्छ
रूढि कसले, किन थाल्यो, केही थाहा छैन
कैलेसम्म बोकिराख्ने, त्यो नि टुङ्गो छैन !
अन्धविश्वास– लासको भारी कति बोक्छ मान्छे ?
मानवता र सभ्यतामै लात हान्छ मान्छे !
नयाँ खोज्न, बनाउन अल्छी गर्छ मान्छे
सत्यलाई स्वीकार्दैन, पाखण्डी भो मान्छे !
डाक्टर बन्छ, वकिल बन्छ, इन्जिनियर हुँ भन्छ
पाइलट र पार्टी–नेता, पत्रकारै भन्छ
विज्ञानको प्रयोग गरी आकाशमा उड्छ
भुइँमा झर्छ– कुकुर–मुते ढुङ्गो पूजा गर्छ !
इन्टरनेटमा अमेरिका कुरा गर्छ सधैँ
रकेट–ब्यालेस्टिकका समाचार हेर्छ सधैँ
धामी–ज्योतिष गुहार्छ र चिना हेर्न लाउँछ–
‘छोरो कुन चैँ देशमा जाला’ भन्दै बर्बराउँछ !
कुकुर मरे छाती पिटी रुन थाल्छ मान्छे
गाईभैँसी बुढा भए लखेट्दिन्छ मान्छे
आमा–बाबु बुढा भए हेला गर्न थाल्छ !
वृद्धाश्रम र पशुपतिमा छोडी भागिदिन्छ !
बाँचुन्जेल राम्रोसँग सम्मान गर्ने होइन
अंश खान ढिला भए बाँचिसक्नु छैन
हप्काएर, दङ्ग्याएर, घुक्र्याएर लिन्छ
जेथा हात पर्नासाथ हेला सुरु हुन्छ !
बाँचुन्जेल आँसु–धारा, मरेपछि केरा
सास हुन्जेल भुइँको सुताइ, मरे सुनको बेरा
किरियाको नाटक हुन्छ, कोराको पाखण्ड
मानवद्वेषी गरुडपुराण सुनाउँदै लुट्छ !
ज्युँदो छँदा एक घुट्की दूध पाउने होइन
लाउने लुगा, सुत्ने ओछ्यान केही छँदै छैन
मरेपछि पिण्ड लडाई पितृ तार्ने अरे
बाउआमालाई रुवाएर बाहुन पोस्ने हरे !
कुकुर, गाई बौलाएमा खनी पुर्नुपर्छ
मान्छे बौलाएमा लगनखेल पु¥याउनुपर्छ
हेर्दा सद्दे, काम पागल, रूढिग्रस्त मन
अर्धपागल चेतनालाई कहाँ लगौँ भन !
जसले सधैँ बौलाएको अभिनय गर्छ
विज्ञानलाई गाली गर्दै अन्धविश्वास लाद्छ
दाम्लो बाँधी घाँसपराल हालिदिनुपर्छ
जिउँदो लासलाई रछ्यानमा फालिदिनुपर्छ !
पिट्दापिट्दै अटेर गरी बाली चोर्छ पशु
धर्–धर् भन्दै भान्छाभित्र पसिदिन्छ पशु
अटेर गर्दै बिरालोले खाइदिन्छ दूध
कठै मान्छे पतीत बन्दै थेग्छ रूढि जुग !
सामन्तवाद जोगाउने हजार दाउ थिए
अन्ध ग्रन्थ, रूढि, चलन– आँखा छोपिदिए
राजतन्त्र ढलिमली बर्साउँथ्यो कोर्रा
पटमूर्ख शासकहरू गर्थे ङार्रङुर्र !
सामन्तवाद ढल्दाढल्दै दलाल पुँजीवाद–
लमकझमक गर्दै आयो नमानेर लाज
घोडा बने हिजोसम्म ‘जनताका साथी’
दलाललाई तल पार्दै चढे माथि–माथि !
राजतन्त्रै ढसिक्यो, सामन्तकै पूजा
मध्ययुगीन चेतनाले सभ्यता भो धुजा
अचेतन त लागे–लागे विकल्प देखेनन्
शिक्षित–पठित भन्नेले नि भविष्य देखेनन् !
नयाँ समाज बनाउनलाई दृष्टि फेर्नुपर्छ
हरेक नयाँ काम पैले आफैँ थाल्नुपर्छ
नयाँ संस्कार निर्माण गरी फैलाउनुपर्छ
बाधाविरोध आउँदै गर्छन् हिम्मत कस्नुपर्छ !
नयाँ संसार बनाउन हजार वर्ष लागोस्
त्यतिन्जेल विद्रोहको राँको बोक्नुपर्छ
विकल्प छ मालेमामा, विद्रोहमा चेत
फालाँै अन्धविश्वासलाई जीवन त्यहीँ फुल्छ !
४ कात्तिक, २०८० ।