एसपीपी सम्झौताको ड्राफ्ट तयार भइरहेको नेता खनालको खुलासा, ‘अमेरिकी सेना आउने खतरा बढ्यो’

एसपीपी सम्झौताको ड्राफ्ट तयार भइरहेको नेता खनालको खुलासा, ‘अमेरिकी सेना आउने खतरा बढ्यो’

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) पछि अब फेरि एसपीपी सम्झौताको तयारी भइरहेको खुलासा गरेका छन् । सोमबार काठमाडौंमा एमसीसीको विरोधमा नेकपा (विप्लव)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो खुलासा गरेका हुन् । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेतासमेत रहेका खनालले एसपीपीको सबै ड्राफ्ट तयार भइसकेको र एसपीपी पास भइसकेपछि नेपालका पर्वतमा ‘अमेरिकी सेना नाच्ने’ दाबी गरे ।

उनले एमसीसी सम्झौता इमान्दारीपूर्वक, देशको हितमा गरिएको हो भने किन दस्ताबेजहरु लुकाएको भन्दै प्रश्नसमेत गरेका थिए ।

‘एमसीसी सम्झौता, इमान्दारीपूर्वक, देशको हितमा गरिएको थियो, राष्ट्रको हितमा गरिएको थियो भने दस्ताबेजहरु लुकाउनुपर्ने के जरुरी थियो ? के कारणले लुकाइयो ? दालमा कालो छ भन्ने कुरा त्यहीँबाट थाहा हुन्छ । कार्यदल बनाएर अध्ययन गर्नुपर्छ भनेर मैले र डा। भीम रावलले माग गरेका हौं । कार्यदल बनाएर अध्ययन गर्दा दिएको प्रतिवेदन एमसीसीभित्र के के समस्या छन् भन्ने कुरा स्पष्ट रुपमा राखेका छौं’, नेता खनालले भनेका छन् ।

खनालले सेनाका एक उच्च अधिकारीले आफूलाई एसपीपीबारे गोप्य सूचना दिएको तर यसबारे विस्तृतमा सार्वजनिक नगर्ने बताएका थिए ।

खनालले भनेका छन्, ‘एक जना जनरलले मलाई के सूचना दिनुभएको छ भने, म नाम खुलाउँदिन भनेको छु, उहाँ अहिले भएको होइन, उहाँले के भन्नुभएको छ भने अर्को एसपीपी सम्झौताको सारा तयारी हुँदैछ, त्यसको ड्राफ्ट मैले गरेको हो, त्यसपछि नेपालका पर्वतमा अमेरिकी सेना नाच्न पाउँछ ।’

पूर्वप्रधानमन्त्री खनालले देशको राष्ट्रियता बचाउने कुरा केटाकेटीले गुच्चा खेले जस्तो नभएको भन्दै यस्ता सम्झौता रोक्नका लागि आह्वान गरेका छन् ।