किन ओइरिदै छन् अमेरिकी अधिकारीहरु ?
अमेरिकाको इन्डो प्यासिफिक सैन्य रणनीतिको अभिन्न अंगको रुपमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाको कार्यान्वयन (इन्ट्री इन्टु फोर्स) अगष्ट ३० बाट हुँदैछ । त्यसका लागि कम्याक्ट अपरेसन विभागका उपाध्यक्ष क्यामरुन अल्फोर्ड नेपाल भ्रमणमा आउँदैछन् । त्यसको लगत्तै सेप्टेम्बर पहिलो हप्तामा अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमण गर्ने भएका छन्। त्यसपछि एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटले अक्टोबरमा नेपाल भ्रमण गर्ने स्रोतले दिएको छ ।

सिनेटर भ्यान होलेनको अफिसले दिएको जानकारीअनुसार नेपाल भ्रमणको क्रममा उनले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्ने जनाइएको छ। उनले अमेरिकी सहयोगमा सञ्चालित प्रोजेक्ट र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमा भ्रमण गर्ने जनाइएको छ ।
उनको भ्रमणले नेपाल र अमेरिकाको राजनीतिक तथा व्यावसायिक साझेदारी मजबुत हुने विश्वास लिइएको छ। त्यसैगरी, उनले अमेरिकाको नेपालमा हुने सहयोगको बारेमा समेत छलफल गर्नेछन्। खासगरी स्वास्थ्य क्षेत्रमा र विद्युत् तथा यातायात पूर्वाधारमा महत्त्वपूर्ण लगानीको आधार तय गरिनेछ ।
भ्रमणको क्रममा सिनेटर क्रिसले बृहत्तम विषयमा र सामूहिक सुरक्षाको चासोको विषयमा समेत छलफल गर्ने जनाइएको छ ।
नेपाल, श्रीलंका र माल्दिभ्सको भ्रमणमा निस्कन लागेका होलेनको आठदिने भ्रमणका क्रममा ५० भन्दा बढी बैठकमा सहभागी हुने जनाइएको छ । क्रिस भ्यान होलेन अमेरिकाको डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुन् ।
कोरोनाकालमा अमेरिकाले नेपाललाई उपलब्ध गराउने स्वास्थ्यसम्बन्धी सामग्री र खोपसमेतको सहायतासम्बन्धी विभिन्न कार्यक्रममा समेत सिनेटरले महत्त्वपूर्ण भूमिका निर्वाहसमेत गरिसकेका उनले अमेरिकामा रहेका नेपालीबीच पनि ख्यातिप्राप्त सिनेटर हुन्। उनले अमेरिकामा रहेका नेपालीलाई टेम्पोररी प्रोक्टेक्डेड स्टाटयस (टिपिएस)मार्फत स्थायी बसोबासका लागिसमेत बिल तयार पारेका थिए।
एमसीसी कार्यान्वयनको तयारी
नेपालमा एमसीसीको अनुदानको परियोजना सञ्चालन गर्ने मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल)को सञ्चालक समिति बैठकले ३० अगस्तबाट परियोजना कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । बोर्डले गरेको यो निर्णयसँगै इन्ट्री इन्टु फोर्सको अवसरमा हुने कार्यक्रममा उपाध्यक्ष अल्फोर्ड सहभागी हुनेछन् । नेपाल भ्रमणका क्रममा उनले अर्थमन्त्री डा.प्रकाशशरण महतलगायतका सरकारी अधिकारीहरुसँग भेटघाट पनि गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

एमसीसीअन्तर्गत निर्माण हुने प्रसारण लाइन आयोजनालाई राष्ट्रिय गौरवको घोषणा गर्नुपर्ने, विद्युत् नियमन आयोग ऐन बनाउनुपर्ने, प्रतिनिधिसभाबाट कम्प्याक्ट अनुमोदन हुनुपर्ने लगायतका पाँचवटा पूर्वशर्तहरु पूरा भइसकेका छन् । एमसीसीको नेपाल कम्प्याक्टको पाँच वर्षे समयसीमाभित्र आयोजनाहरू सम्पन्न हुने सुनिश्चित गर्नका लागि भन्दै ती पूर्वशर्तहरु राखिएका थिए ।
आयोजना निर्माणस्थलमा पहुँचका लागि जग्गा प्राप्ति र रुख कटानीका पर्याप्त प्रगति हुनुपर्ने भन्ने पूर्वशर्त भने अझै पनि पूरा भएको छैन । यो काम पनि ईआईएफअघि अर्थात् अगष्ट ३० अघि नै पूरा भइसक्ने एमसीए–नेपालको दाबी छ ।
स्रोतका अनुसार नेपालले एमसीसी कम्प्याक्ट कार्यान्वयनमा गरेको प्रगतिबाट अमेरिकी सरकार उत्साहित रहेको नेपालस्थित अमेरिकी दूतावासले जानाएको छ ।
एमसीसीको सहयोगमा पनि ३१५ किलोमिटर प्रसारण लाइन र तीनवटा सबस्टेशनहरु निर्माण हुनेछन् । तीमध्ये तीनवटा सबस्टेशन निर्माणका लागि जग्गा प्राप्ति भइसकेको छ ।
रातमाटे सबस्टेशनका लागि २०–२७ हेक्टर जग्गा प्राप्ति भइसकेको एमसीए नेपालले जानकारी दिएको छ । त्यस्तै, नयाँ बुटवल र नयाँ दमौली सबस्टेशनका लागि आवश्यक जग्गा नेपाल विद्युत् प्राधिकरणले पहिल्यै अधिग्रहण गरेर राखेको र त्यो एमसीए नेपाललाई उपलब्ध गराएको पनि जनाइएको छ ।

तर, प्रसारण लाइनका टावर निर्माणका लागि १० वटा जिल्लामा १०४ हेक्टर जग्गा प्राप्ति गर्नुपर्ने छ । त्यसका अतिरिक्त प्रसारण लाइनको मुनि पर्ने जग्गा प्रयोग गर्ने अनुमति लिन पनि बाँकी नै छ ।
आयोजनाबाट प्रभावित ९ जिल्लाका ३० पालिकाका स्थानीयहरुलाई विश्वासमा लिएर जग्गा प्राप्ति गरिने एमसीए नेपालले जनाएपनि कतिपय स्थानमा विरोध भइरहेको छ ।
नेपाल र अमेरिका सरकारको एमसीसीबीच ५० करोड अमेरिकी डलर अनुदान सहयोग लिने र पूर्वाधार आयोजना बनाउने भनेर २०७४ सालमै सम्झौता भएको थियो । नेपालका तर्फबाट १३ करोड डलर लगानी गर्ने प्रारम्भिक समझदारी भएकोमा त्यसलाई बढाएर १९ करोड ७० लाख पुर्याउने निर्णय नेपाल सरकारले गरेको छ । यसरी यो परियोजनामा हालको विनिमयदर अनुसार करिब ९२ अर्ब रुपैयाँ खर्च हुनेछ । सरकारले चालू आर्थिक वर्षका लागि मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए)लाई १० अर्ब ८४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसमध्ये चालूतर्फ १ अर्ब १ करोड ७४ लाख रुपैयाँ र पुँजीगततर्फ ९ अर्ब ९२ करोड रुपैयाँ विनियोजन भएको छ ।
गत आर्थिक वर्षमा ९ अर्ब २७ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ४ अर्ब ११ करोड मात्रै खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।
एमसीसी परियोजनाअन्तर्गत भारतीय सीमादेखि न्यु बुटवल, न्यु बुटवल–न्यु दमौली, न्यु दमौली–रातमाटे (नुवाकोट), रातमाटे–हेटौँडा र रातमाटे–लप्सीफेदी (काठमाडौं) प्रसारण खण्ड निर्माण गरिनेछ । यो प्रसारण लाइनको क्षमता ४ सय केभी हुने छ ।
त्यस्तै, रातमाटे, दमौली र बुटवलमा तीनवटा ४०० केभीका ठूला सबस्टेसनहरू निर्माण हुनेछन् । प्रसारण लाइनअन्तर्गतका आयोजनामा करिब ५८ करोड २४ लाख अमेरिकी डलर खर्च गरिनेछ ।
एमसीसीअन्तर्गत नै सडक सुधार योजना पनि सञ्चालन हुनेछ । यसअन्तर्गत दाङको भालुवाङदेखि बाँकेको सीमा शिव खोलासम्म ७७ किलोमिटर सडक सुधार गर्ने योजना छ ।
एमसीसी कार्यान्वयन हुन नदिन संघर्ष चर्काउँदै दुई कम्युनिस्ट पार्टी
नेपाली कम्युनिस्ट आन्दोलनमा फरक पहिचान बनाएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एकसीसी परियोजना कार्यान्वयनका विरुद्धमा सडक संघर्षको घोषणा गरेका छन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीले गत हप्तादेखि दैनिक रुपमा विरोध प्रदर्शन गर्दै आएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले अगष्ट १९ मा एमसीसी खारेजीको माग गर्दै प्रेस वक्तव्य जारी ग¥यो । “जनतादेखि संसद र सरकारमा समेत अस्वीकृत भएको कम्याक्ट तथा नेपाली जनताका लागि राष्ट्रघाती एमसीसी अनेक प्रकारका जालझेल, षड्यन्त्र र झुटमुटका बीच नेपाली जनतामाथि लाद्ने प्रयत्न गरिदैछ । यही सिलसिलामा यही भदौं महिनादेखि कार्यान्वयन गर्ने भनिएको यो परियोजना सम्पूर्ण रुपले खारेज गर्न हाम्रो पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’ वक्तव्यमा भनिएको छ ।
यो पार्टीका बरिष्ठ नेता सिपी गजुरेल र प्रवक्ता धर्मेन्द्र बास्तोलाले अगष्ट २२ मूलधारका मिडियाका राजनीतिक बिट हेर्ने पत्रकारहरुसँग विशेष घेटघाट गरे । त्यसको भोलिपल्ट अगष्ट २३ मा काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा सडक जुलुससहित विरोधसभा ग¥यो । विरोधसभालाई पार्टीका पाँचजना शीर्ष नेताहरुले सम्बोधन गरे । नेताहरुले अमेरिकाको साम्राज्यवादी मिसन बोकेको एपसीसी परियोजना खारेजी २६ अगष्टमा ‘एमसीसी खारेज वा फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताहरु सिपी गजुरेल, कार्यालय सदस्यहरु हेमन्तप्रकाश ओली र उदयबहादुर चलाउनेले एमसीसी सम्झौता कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिएका थिए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका वरिष्ठ नेता सीपी गजुरेलले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले लागू मात्र नभएर अब नेपालबाट फिर्ता हुनु पर्ने धारणा राखेका छन् । नेता गजुरेलले एमसीसीको सम्झौता संससदबाट अनुमोदन गरेर दलहरुले देशका विरुद्ध ठूलो अपराध गरेको आरोप लगाएका हुन् । “जनताको दबाब र नेताहरुले अनुमोदन गर्नु गल्ति भएको महसुस गरेर कार्यान्वयन नगर्दा अमेरिकाले एमसीसी परियोजना फिर्ता लग्नु पर्छ, अन्यथा देशमा ठूलो द्वन्दको सिर्जना हुन्छ ।” नेता गजुरेलले थपे ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य सन्तोस बुढामगरले सत्तामा आउने हरेक नेताले अमेरीकीहरुको योजनाअनुसार एमसीसी परियोजनालाई आत्मसाथ गरेर राष्ट्रघात गरेको आरोप लगाए । नेता बुढाले नेपालमा विदेशीहरुको रणनीति जसरी पनि नेपाललाई आफ्नो पञ्जामा राख्ने दाउ भएको जिकिर गरे । क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य हेमन्तप्रकाश ओली‘शुदर्शन’ले एमसीसीका नाममा आउने कुनै पनि सहयोग स्वीकार्न नसकिने र त्यसको कार्यान्वयनलाई अबरोध गरेरै छाड्ने उद्घोष गरे ।
सो पार्टीका अर्का नेता उदयबहादुर चलाउने‘दिपक’ले उत्तरी क्षिमेकी चीनलाई घेर्ने दीर्घकालिन रणनीतिसहति नेपाल छिरेको अमेरीकी परियोजना एमसीसीलाई कुनै पनि हालतमा नेपालबाट विदा गर्नुपर्ने धारणा राखे । नेपाली सेनाका पूर्व जर्नेल डा.प्रेमसिंह बस्न्यातले वीर–पूर्खाहरुको ठूलो त्याग तपस्या र बलिदानीबाट निर्माण भएको एक सार्वभौम देश नेपाललाई विदेशीको खेल मौदानमा रुपान्तरण गर्न लागेको ओरोप लगाए । एमसीसीका विरुद्ध आफु लड्न तयार रहेको उद्घोष गरे ।
त्यसैगरी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले राजनीतिक रुपमा देशैभर विरोध प्रदर्शन गर्ने र एमसीसी परियोजना स्थलमा भइरहेका कामलाई अवरोध गर्ने नीति लिएको छ । यो पार्टीले एमसीसीलाई नेपाल छोडेर भाग्न बाध्य पार्ने गरी आन्दोलनको तयारी गरिरहेको छ ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले गत मङ्गलबार एक प्रेस बक्तव्य जारी गर्दै एमसीसी विरुद्ध दबाबमूलक कार्यक्रम सार्वजनिक गरेको छ ।
पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जारी गरेको बक्तब्यमा भदौ अगष्ट २३ मा देशव्यापी वालिङ, २४ मा एमसीसीको पुत्ला दहन, २४ मा एमसीएको प्रमुख खडकबहादुर विष्टको पुत्ला दहन, २५ मा गाउँगाउँमा जागरण प्रचार, २७ अगष्टमा मा देशव्यापी जनप्रदर्शन, २८ मा काठमाडौमा एमसीसीबारे अन्तरक्रिया र अगष्ट २९ मा नुवाकोट, तनहँुमा एमसीसीबारे अन्तरक्रिया कार्यक्रम गरिने उल्लेख गरिएको छ । घोषित कार्यक्रम अनुसार विभिन्न स्थानमा विरोध प्रदर्शनहरु भइरहेका छन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले कहाँ कहाँ ग¥यो विरोध प्रदर्शन ?
क्रान्तिकारी कम्युनिस्ट पाटीले काठमाडौंमा एमसीसीका विरुद्ध दुई ठूला कार्यक्रमहरु सम्पन्न गरेको छ । भदौं ६ को रत्नपार्क शान्तिबाटिकाको विरोध जुलुससहितको विरोध प्रदर्शन र भदौं ९ को ‘एमसीसी खारेजी र फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रम । यी दुवै कार्यक्रम भव्य रुपमा सम्पन्न भएका छन् ।
त्यसैगरी एमसीसी परियोजना स्थल लप्सिफेदी, असन, भक्तपुरको च्यामासिंह, काभ्रे, दाङ, चितवन, मकवानपुर लगायत सातवतै प्रदेशमा विरोध प्रदर्शन भएका छन् । र, कतिपय जिल्लामा लगातार विरोध प्रदर्शन भइरहेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले अब परियोजना निर्माण स्थल केन्द्रित आन्दोलन अगाडि बढाएको छ ।

कार्यान्वयन हुन नदिने चेतावनी
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नेपालमा लागू भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना कुनै पनि हालतमा लागू हुन नदिने जनाएको छ ।
बुधबार रन्तपार्कको शान्तिवाटिकामा आयोजित एमसीसी विरोध सभालाई सम्बोधन गर्दै उक्त पार्टीका नेताले छ । जनताको साथ लिएर देशभरका एमसीसी कार्यालयमा आगो लगाइदिने चेतावनी दिएका छन् ।
बिरोध सभामा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालय सदस्य सीपी गजुरेल ‘गौरव’ ले श्रीलङ्कालगायत मुलुकले एमसीसी फिर्ता गरिदिएको उदाहरण प्रस्तुत गर्दै नेपाली जनताले पनि सरकारलाई एमसीसी लागू हुन नदिन निरन्तर संघर्ष जारी राख्नुपर्ने धारणा राखे ।
उनले भने, ‘नेपालमा कुनै पनि हालतमा एमसीसी परियोजना लागू हुन दिनु हुँदैन । भदौ १४ गतेबाट लागू गर्ने भनिएको एमसीसी परियोजना जहाँ(जहाँ कार्यान्वयन गर्न खोजिन्छ, त्यहीँ प्रतिरोध गर्नेछौँ । नेता गौरवले ‘एमसीसी गो ब्याक, याङ्की इम्पेरियालिज्म गो ब्याक । नेपाली जनताले एमसीसी लागू गर्न दिँदैनन् भन्ने सन्देश दिनुपर्छ र नेपाललाई युद्धभूमि हुनबाट रोक्नुपर्छ ।’
नेता गौरवले अमेरिकाले एमसीसी लागू गर्ने बहानामा ल्याएका सामान नेपालीले हेर्न पनि नपाउने रहस्य उद्घाटन गर्दै खम्पा विद्रोहका नाममा चीनविरोधी उपद्रव मच्चाएझैँ अमेरिकी साम्राज्यवादले चीनलाई घेर्न नेपालमा हातहतियार भित्र्याइरहेको सूचना आएको र त्यसलाई निस्तेज पारेर उसको षड्यन्त्र असफल पार्न देशभक्त, क्रान्तिकारी जनता आन्दोलित बन्नुपर्ने धारणा पनि राखे ।
पार्टी कार्यालय सदस्य एवम् प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले एमसीसी कार्यान्वयन हुन दिनु नहुने, त्यसलाई खारेज गर्नुपर्ने र एमसीसीका देशभरका कार्यालयमा जनताको साथ लिएर आगो लगाइदिनुपर्ने बताए । चीनविरुद्ध नेपालको भूमि दुरुपयोग गर्ने योजनामुताबिक एमसीसी लाद्न लागिएको भन्दै उनले नेपालमा जबर्जस्ति अमेरिकी सैन्य क्याम्प खडा गर्ने षड्यन्त्र ध्वस्त पारेर नेपालको राष्ट्रियता रक्षा गर्नुपर्ने बताए ।

संसारभर अमेरिकाले एमसीसी लागू गरेको ठाउँमा युद्ध, अस्थिरता, बलात्कार, हत्या र अशान्ति मच्चिएको उदाहरण प्रस्तुत गर्दै प्रवक्ता कञ्चनले एमसीसी कार्यालयमा आगो लगाएर मात्र नहुने, एमसीसी लागू गर्ने दलाललाई पनि देशबाट लखेट्नुपर्ने धारणा राखे ।
अमेरिकी साम्राज्यवादी सेना नेपाल भित्र्याउने योजनाअनुसार नेपाली सेना विघटन गर्ने प्रस्ताव आइरहेको भन्दै प्रवक्ता कञ्चनले नेपाललाई युक्रेन हुनबाट बचाउन पनि एमसीसी खारेज गर्नैपर्ने धारणा राखे । पार्टी कार्यालय सदस्य एवम् तीन नं। प्रदेश इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले नेपाल र नेपाली जनताको हितविपरीत एमसीसी लागू हुन नदिइने उद्घोष गरे । नेता सुदर्शनले भने, ‘अमेरिकी साम्राज्यवादसँग कोही डराउनु हुँदैन । साम्राज्यवादी गिद्दलाई गोली हानेर खसाल्नुपर्छ । उसलाई यहाँ खुट्टा टेक्न दिनु हुँदैन । कुखुरा मार्न दिनु हुँदैन ।’
साम्राज्यवादलाई नेपालका गाउँ, टोलदेखि बस्ती सबैतिरबाट लखेट्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिँदै कार्यालय सदस्य सुदर्शनले अब देशलाई केपी वली, शेरबहादुर देउवा वा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जस्तो पराधीन बनाउन नदिइने र सम्पूर्ण देशभक्त, क्रान्तिकारी शक्ति एक भएर स्वतन्त्र बनाइने बताए । उनले देशभक्त जनता, प्रहरी, सेना, कर्मचारी र क्रान्तिकारी शक्तिलाई राष्ट्रियता बचाउने आन्दोलनमा लामबद्ध हुन आह्वान पनि गरे ।
विरोध सभा हुनुअघि पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तकहरूसहितको विशाल र्यालीले एमसीसीविरुद्ध नारा लगाउँदै शान्तिवाटिका, भोटाहिटी, असन, जमल, घन्टाघर हुँदै रत्नपार्क परिक्रमा गरेको थियो ।





























