घामका रेखा

घामका रेखा

साताको साहित्य : कविता 
***
कहिल्यै भेला भएनन् घामका रेखा
कालुरामकाे आँगनमा
डाइ-बाबा, बूढा-बूढी
सबै सबैकाे जाेवन बित्यो
जिम्डर्वाकाे खेत खलिहानमै
उसैगरी बित्याे कालुराम र बुधनीकाे जाेवन
उही जिम्डर्वाकाे सेवामा
जहाँ उसकाे तीन पुस्ताकाे
बगिरहेछ रगत र पसिना
केही बर्स त भयो मुक्त भएको
कालुराम र उसकी बुधनीसँगै
उनीहरुका दुई थान भविष्यका लाैरीहरु समेत
सर्खारी घाेषणाका कागजबाट
कागजसँगै मुक्त भए उसैगरी
जिम्डर्वाकाे जिराइतमा निर्मित
ढाेरले बारेको छाप्राेबाट पनि ।

जब घामकाे उज्यालो सकिन्छ र
रात छिप्पिँदै पस्छ कुन्टीमा दिनहुँ
आभाष हुन्छ बुधनीलाई
आज त आपन ठर्वा
सग्ला चामलको थैलाे बाेकेर आउँछ पक्कै
सग्ला चामलको भात खाने रहर
रहरमै बित्छ कि आज पनि
ससङ्कित हुँदै कुर्छे बुधनी आपन ठर्वाकाे
कुन्टीमा छिर्ने समय ।

तीन पुस्ता भयो
कालुरामले घामका रेखाहरुकाे आगमनमा
जिम्दारकाे घरमा बन्धक जीवन गुजारेकाे
अब त सरखारी घाेषणाकाे प्रतिफलमा
जिम्दारकाे घरबाट निस्कासित बासीले पनि
कालुरामका लर्कापर्काकाे
पेटमा बास बस्न छाेडेकाे छ
न त काम दिन्छ सरखार
न त बासीकाे ब्यवस्था गर्छ
बस् कमैया मुक्तिकाे विषयमा
सेमिनार र गाेष्ठीमा
लामा लामा प्रतिवेदनका अक्षरहरू
खुवाएर पूरा गर्छ दायित्व
र, बिल पेस गर्छ तारे हाेटल ।

अब त भाेकाे पेटले कालुरामलाई
साेच्ने बनाएको छ गहिरो गरि
अचेल साेच्दैछ दिनहुँ
आँगनीमा रेखाहरु झर्दैनन्
केवल प्रार्थना गरेर
लिन जान्नु पर्छ आफैँले
जसरी लिन उठेको थियाे स्पार्टाकस
हाे, अचेल पढ्न थालेको छ कालुराम
स्पार्टाकसकाे ज्युँदाे इतिहास ।
२० साउन २०८०, लमही