
मित्र !
म निडर बन्छु,
बेला बखत हुने हाम्रो
न्यानो भेटघाटमा तिम्रो
चट्टानी अडान र विश्वासले
म सम्बल प्राप्त गर्दछु ।
तिम्रो आत्मीय वाणी कवच झैँ
मेरो शरीरको रक्षक बन्दछ ।

तिमी मेरोनिम्ति भर्खरै
आरनमा अर्जापेको
धारिलो तलवार हौ,
जिब्रोमा मह झैँ रसाइरहने
“इन्क्लाब जिन्दावाद” को
ओजस्वी भाषा हौ ,
मलाई स्पात बनाएर आगोसँग
खेल्न सहज बनाइदिने
तिमी नै त हौ,
एक्कासि बर्सेको मुशलधारे पानीझैँ तिमीबाट प्राप्त उपहार
“माओका पाँच कृति “,
कहिलेकाहीँ बज्ने फोनको घण्टी
बनेर अँगालो मार्न आउँने
तिम्रो आशावादी अनुहार ,
बेलाबेला मलाई जोखेर
ठिकठाक पाएपछि अघि बढ्न
हौसला दिने हाम्रो भेट
चेको जीवनी झैँ ऊर्जाशील अनि
सेनको मृत्युजस्तै गौरवशाली छ ।
मलाई यस्तो लाग्छ –
तिमीसँगको भेट
संसदीय काँडैकाँडाको बीचमा पनि कपासजस्तै कमलो
भ्रष्टाचारको फोहोरी टुकुचा नजिकै
राराको सौन्दर्यझैँ हसिलो
मानौं प्रत्येक पाइलामा ठेस लाग्ने
चुच्चे ढुङ्गा पनि मुछेको पिठोले
बनेको छ !
मित्र !
यो समय
वर्गमुक्तिको महान विचार
खहरे जसरी सुके पनि
प्रतिक्रान्तिकारी मुखुण्डो
दौरा सुरुवालमा लुके पनि
चिहानबाट निस्किएर भुतहरु
दिउँसै चोक चोकमा भुके पनि
उपभोगको खिचातानी अनि
सत्ताको भागदौडले हराएका
महान सहिदका पाइलाका
अनमोल अमर निशानी
जब समयले पछ्याउँनेछ
तब भोका नाङ्गा मान्छेभित्र
ठडिनेछन एउटा एउटा
अत्याचारका अनेकोटरुपी
सङग्रामी पहाडहरू
ढकढक्याउनलाई अस्तित्व र
मुक्तिको सुनौलो ढोका !
समाप्त
२०७९/१२/१६