दुःखको तिरैतिर

दुःखको तिरैतिर

संस्मरण

न समाउने डालो नत टेक्ने हाँगो, अन्ततः कान बुच्चै पारेर मेरो हातमा बहिनीले राखिदिएको गहना बोकेर नङ्पो फर्किएँ म । टुकुने दाइले हामीलाई भाडामा उपलब्ध गराएको बासबस्ने टहरोमा पुग्दा झपक्कै साँझ परिसकेको थियो । त्यो रात गुवाहाटी बसेर दाजु बाबुराम खनाललाई बृतान्त सुनाएको भए पनि हुने हो । तर मनले पटक्कै मानेन । उहाँसँग अखिल भारतीय पूर्वोत्तर राज्य सम्मेलनको दौरानमा चिनजान भएको थियो । गुवाहाटीमा कुनै सरकारी कार्यालयमा उहाँको नोकरी थियो । बेलाबखत कृषि औजार काराखानाको उखर्माउलो लिएर गुवाहाटी जाँदा उहाँको डेरामा पुगेर भात मारेर फर्किन्थे म ।

डेरामा पुगेँ । बालाई खुट्टामा ढोँगे । बाले छोरो दिल्लीबाट खाली हात आयो वा ऋणको भारी बोकेर आयो, कुनै सोधखोज गरेनन् । छोरी ज्वाईंहरूको खबर भने लिए । सन्चों बिसन्चो सोधे र “राम्रै भयो” मात्र भन्ने उद्गार ब्यक्त गर्नुबाहेक छोरीज्वाईंले के काम गर्छन् ? कमाइ गर्छन् गर्दैनन् आदि इत्यादि केही सोधेनन् । पुग नपुग पचासै वर्षको उमेरमा बा सामाजिक ब्यवहार, पारिवारिक दायित्वबाट पूर्णतः विमुख भइसकेजस्तो लाग्यो मलाई । उनको त्यस्तो किसिमको आदत बन्नुमा परिस्थितिजन्य कारणहरू पनि थिए । सामाजिक रुपमा अपहेलित समुदायमा पैदा हुनु, सामान्य साक्षरता समेत नहुनु, साथसहयोग र आडभरोसा दिन सक्ने दाजुभाइ छरछिमेकी नहुनु, हुर्किएको, पढाइ गर्न भनेर घरबाट बिदा भएर हिँडेको, कमाइमा लाइमेलो गर्ने उमेरको छोरो अर्काकी भर्भराउँदी छोरी बोकेर खसीया गारोहरुको देशमा आफ्नै शरणमा घुस्रिन आउनु । बाका बिरक्तिका कारणहरू थिएहोलान् जस्तो लाग्छ । तर साइलो भाइले म कास्कीमा भूमिगत हुँदा जुन ऋणधन र घर लिलामीको बिरक्तपूर्ण चिठी मेरो नाममा पठाएको थियो, त्यसको कुनै चिन्तन मनन बाले गरेजस्तो भान हामीलाई पटक्कै हुँदैन थियो । मेघालय पसेपछि बाले सबै कुरा बिर्संदै गइरहेका थिए । सुन्तला खेतीको नाममा लिएको कृषिको ऋण र चुलिदैं गएको ब्याज, तीज, दशैतिहारमा माने साहुसँग उधारोमा नयाँ लुगा किन्दा थपिँदै गएको चक्रबर्ती ब्याजको चाङ, घरमा एक्ली जहानको भरमा छोडिएका तीनचार जना भन्ट्याङभुन्टुङ आदि विकराल विपदउपर बाको चिन्तन पटक्कै थिएन । सोही अनुरुप दिल्लीको उपलब्धी बारे पनि उनले एक आखार सोधेनन् । मैले पनि फाइँफुट्टी लगाइन । किनकि म पो कुन मापाको थिएँ र ? मनमा ठूलो सपना सजाएर ऋण खोज्न गएको थिएँ, कमोवेस हजार रुपैयाँको बहिनीको कानको गहना बोकेर फर्किएको म नाथेले सुनाउनु पर्ने कुरो पो के थियो र ?

सोमशर्माको सातुको कथामा परिणत हुन पुगे मेरा सबका सब सपनाहरू । फेरि उही दैनिकी सुरु भयो हाम्रो । एकाबिहानै उठ्नु, अनिताजीले काँचो माटोले संघार लिप्नु, बा उठेर हातमुख धोइवोरी आरनको स्याहारसंहार गर्नु, अनिताजीले नास्तापानी बनाउनु र सो काममा उहाँलाई सहयोग गर्नुजस्ता शास्वत दैनिकी सुरु भए मेरा । बिहान बेलुकी खाना पकाउन चाहिने दाउराको जोहो गर्ने नाममा आरनको पारी सिधै खडा भएको पहाडको टाकुरामा चढ्नु र सुकेका बाँसका घारा लतारेर ल्याउनु मेरो जुन नियमित आकस्मिकता थियो, त्यसको समयसारिणी पनि पुनः सुरु भयो । समय मिल्दा वा समय निकालेरै दिल्लीको यात्राको उपलब्धी बिहीन कहानीलाई नङ्पोका सबै दाजुभाइहरूलाई सुनाउनु जो बाँकी थियो, त्यसलाई रिठो नविराएर सुनाएँ र मनलाई हल्का बनाउने काम भने गरेँ मैले ।

मेघालयमा अधिकांश ठाउँका नामहरू उमबाट सुरु हुने गर्दछ । उम्लिङ्ग, उमसिङ्ग आदि यसका उदाहरणहरू हुन् । यो निकै पुरानो कहानीको पाटो हो । आसाम मेघालय छोडेको पनि तीन दशक पुग्न थालेकाले कतिपय कुराहरू सम्झनाको पेटारोबाट ओझेल पर्दैछन् । म पहिलोपटक बालाई खोज्ने नाममा नङ्पो पुग्दा उनको आरन तथा बसोवास मकैबारीमा थियो । त्यस ठाउँमा नेपालीहरूको घना बसोबास थियो । नेपालीहरूले मकैको खेती गर्नेभएको कारणले सायद सो ठाउँको नाम नेपालीहरूले नै मकैबारी राखे । मकैबारीमा रहेको बाको आरन भने खुब चल्थ्यो । तर राजमार्गको छेउँमा बाँसको कप्टेराले बारेको त्यो झोपडीमा मलाई पटक्कै बस्न मन नलाग्नु आदि कारणले आरन र बासोबासलाई नङ्पोस्थित टुकुने दाइको जग्गामा सारिएको थियो । राजमार्गभन्दा केही माथि टिलामा आरन भएको कारणले बटुवाहरूको आँखा त्यति पर्दैन थियो । सोही कारणले बाको आम्दानीमा भने निकै नै कमी आएको थियो ।

अब के गर्ने ? कहाँ जाने ? मनमा जेजस्तो भित्री योजना भएता पनि पार्टीलाई दिएको दुई वर्षको सत्य बचन कसरी पालन गर्ने ? असमय दाँत झरेर उमेर नपुग्दै बुढो देखिँदै गएका बालाई कसरी घर फर्काउने ? “जे जसरी हुन्छ, बालाई घर फर्काउने काम गरे दाइ, आमाले भाइबहिनी हुर्काउँदा साह्रै दुःख पाइछन्” भन्ने साइली बहिनीको बचनलाई कसरी पुरा गर्ने ? बास्तवमा त्यो समय मेरो लागि आत्मदाहको अवस्था थियो । सबै कुरोले भरिपूर्ण हुँदाहुँदै छिनभरमा रित्तिन गएको अवस्था जो थियो मेरो । बोर्डिङ स्कुलको पढाइ, स्कूलदेखि कलेजसम्मको छात्रवृत्तिमार्फत् जोहो हुने खर्च, शिक्षाशास्त्र सङ्कायमा भर्ना भएकाले प्रोत्साहन स्वरुप पीयन क्याम्पसले दिने प्रतिवर्षको दुई हजार रुपैयाँ, युनाइटेड मिसन टु नेपालजस्तो अन्तर्राष्ट्रिय संस्थाको साथ र सहयोग, त्यस संस्थामार्फत प्राप्त हुने प्रतिमहिना रु. पाँचसय, जो सो समयमा पोखरेली चामलको भात खाएर पनि बच्थ्यो, कविता कथा लेखनमा एउटा स्थान प्राप्त गरिसकेको अवस्था, तर सुदूरपूर्व मेघालयको नङ्पोमा बाको आरन, बाको एक्लो ज्यानको घन मार्तुलको ठोकाइबाट दिनभरमा हुने सयपचास रुपैयाँको आम्दानी । २३/२४ वर्ष नकाटेका अल्लारे बेकामी हामी जोइपोइ ! यिनै र यस्तै परिस्थितिको विकराल अवस्थाको कारणले होला मान्छेले आत्मदाहको बाटो रोज्ने । आफैले आफैलाई सिद्ध्याउने र मुक्तिको मार्ग तय गर्ने ।

तर म मर्न चाहँदैनथिएँ । मैले भूमिगत हुँदै माओको जिवनी पढ्ने मौका पाएँ । म्याक्सिम गोर्कीको आमा उपन्यास अनेकौपटक पढेको थिएँ र पाभेलको क्रान्तिप्रतिको अटल विश्वासप्रति नतमस्तक भएको थिएँ । चे ग्वे भराको सङ्घर्षपूर्ण जीवनको वीर गाथा पढेको, सुनेको थिएँ । पहाड पन्छाउने चिनीयाँ मूर्ख बुढोको कहानी कयौं पटक पढेको थिएँ । समकालीन तिसरी दुनियाँमा छापिने तेलंगनाका छापामारहरूको त्याग र बलिदानप्रति म आत्मविभोर हुन्थेँ । नेपाली क्रान्ति, परिवर्तन, सामन्तवादको अन्त्यको लडाईंबाट म पलायन भएको सोह्रैआना सही थियो तर पनि युजे पोत्तरको गीत “एकदिन हामी जित्ने छौं”लाई मेरो आफ्नै भविष्यको कल्पनामा समाहित गर्थेँ र कुनै न कुनै दिन बुटवलमा पिलर सहितको घर बनाएर फर्किने सपनालाई हरेक रातको सपनामा पुनरावृत्त गर्थेँ ।

जाम, कहाँ जाम ? गरुँ, के गरुँ ? फाटेको मनलाई सिलाउन सिलाङ कति जानु ? दाजुहरू तील कार्की जो अखिल भारतीय प्रवासी नेपाली सङ्घको अध्यक्ष हुनुहुन्थ्यो, रामप्रसाद खनाल, ईश्वरी खनाल, कुन्दन भट्टराईकहाँ कति बोझ बन्नु ? कुनै समयको पार्टीसँगको नाताको कारणले साथीहरूलाई बारम्बार सताउन पनि उचित हुने कुरो भएन । एउटा हिन्दी उखान छ, मर्ता क्या नही कर्ता । अथवा नेपालीमा अर्को चर्चित सोही प्रकारको उखान छ- मर्नुभन्दा बौलाउन निको । मैले पनि मर्नुभन्दा बौलाउने नै विचार गरेँ र बासँगसँगै बिहानदेखि बेलुकीसम्म घन ठोक्न थालेँ ।

यसैबीचमा फेरि अर्को उखर्माउलो विचार पलायो मनमा । त्यो थियो भोजपुरे शिरुपाते खुकुरीको उत्पादन र गुवाहाटी तथा सिलाङका हाटबजारहरूमा चम्काएर उत्पात मच्याउने । भयो के भने हप्ताएक दिनमा आरनमा गोल(कोइला) सकिन्थ्यो । कोइलाको जुगाडको जिम्मा मैले लिएको थिएँ । एकबोरा बज्राँठको काठे गोललाई तीसचालिस रुपैयाँ जति पथ्र्यो । उमसिङ यस्तै नाउको ठाउँमा बसट्रक चढेर जान्थेँ म र किनेर फकिन्थेँ । एकदिन अलिपर बडापानीको नजिक नजिक पुगिएछ । बाटोमा निकै ठूलो ढुङ्गाखानी रहेछ । एकजना भर्खरको नेपाली जस्तो देखिने मान्छेले साबल चलाउँदै ढुङ्गाका बडेमानका छप्पनीहरू निकाल्दै गरेको देखेँ । उकालो चढ्दै गरेको ट्रकलाई राेकेर म ओर्लिएँ र ती खानीमा कामगर्दै गरेका मान्छेलाई दाजुको साइनो लगाएर कुरो गर्न थालेँ ।

हाम्रा बाको नङ्पोमा आरन भएको । बाले दाउ, हसियाँ, बन्चरा बनाउन जानेको र म कोइलाको खोजीमा त्यहाँसम्म पुगेको कुरो खोलेपछि उनले पनि आफ्नो घर पूर्व भोजपुर तिर भएको, जात मेरै भएको र भोजपुरे खुकुरी बनाउन जानेको कुरो गर्वकासाथ खोले । अर्को एउटा अभागी जो सिपले खुकुरी बनाउन जानेको छ, तर परिस्थितिको बसमा परेर ढुङ्गाको खानीमा काम गरिरहेको छ, ती अभागी मान्छे मलाई मेरो काममा आउनेजस्तो लाग्यो र प्रस्ताव राखिहालेँ— अहो ! त्यसोभए मिलेर खुकुरी उत्पादन गरम दाइ । हाम्रो आरन छ । सबै औजार छन् । कमाइ गर्दै गएपछि अरु औजार पनि जोरौला ।

भोजपुरे शिरुपाते खुकुरीको चमकसँग म फेरि रङ्गिएँ । ती पूर्वेली सजातीय बन्धुसँग छिनभरमै मेरो गहनदोस्ती भयो । उनले पनि एकाधदिन पछि नङ्पो आएर मलाई भेट्ने बाचा गरे । बेलुकी गोल कोइलाको भारी बोकेर टुकुने दाइको आगनमा आइपुग्दा म कम्मरमा शिरुपाते खुकुरी बोकेर आएको थिएँ ।
एकाध दिनको सीमा तोकेका थिए उनले । उनले तय गरेको समयको त्यो सीमाले नेटो काट्यो । हप्ता दिन बित्यो । गर्दागर्दै पन्द्रदिन बित्यो । तर उनी आएनन् । मेरो शिरुपाते खुकुरीको चमकमा पनि खिया लाग्यो र म कोइलाको भारी खेप्न उमसिङतर्फ जानै छाडिदिएँ ।

उही पुरानै लयमा दैनिकी फेरियो । राम्रै कमाइ हुने मकैवारीको आरनलाई प्रतिष्ठाको विषय बनाएर त्याग गरियो । दाजुहरू रणबहादुर र मोति पाण्डेको नजिकै बास बस्ने मनसायले टुकुनेदाइको टहरोमा बासबस्न आइयो । बाको एक्लो ज्यानको घन ठोकाइबाट जङ्घार तर्न नसकिने महशुस गरी नागाच्यादर बुनेर मालामाल हुने सोँचका साथ तान बुन्ने किला ठोकियो र त्यही किलो ठोक्नेक्रममा घन र किलोको बीचमा बाँया हातको चौरऔलालाई घन बजारेर चटनी बनाइयो । त्यो सपनाको खेती पनि सप्रिएन । आधुनिक कृषि औजार कारखानाको चक्करमा परेर एकडेड महिना बर्बाद गरियो । कर्जा सुरक्षणवापतको जमानत जुटाउन नसक्दा त्यो सपनाको सिरानीले पनि हावा खायो र बिना सोँचविचार पूँजी जुटाउने नाममा दिल्लीको लामो यात्रा गरियो । र अन्तिममा शिरुपाते खुकुरीलाई सान लगाएर चम्काउन खोजियो ।

मेरा कुनै पनि योजना सफल भएनन् । म हरकोणबाट बहिरंग खातामा रुपान्तरण हुन पुगेँ । मेरा जीवनका ती खाताका पानाहरूमा न जम्माको हिसाब थियो । नत खर्चको बेलीबिस्तार नै । न समाउने डालो थियो मसँग, नत खुट्टाले टेक्ने हाँगो नै बचेको थियो ।
२०७९ चैत्र १६
बुटवल ।