
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल आदिवासी जनजाति महासंघले प्रदेश १ को नामंकरणको निर्णय तुरुन्त खारेज गरी जनताको मनोभावना अनुसारको पहिचानको आधारमा प्रदेशको नामाकरण गर्न जोडदार माग गरेको छ । महासंघका अध्यक्ष पवनमान श्रेष्ठले एक वक्तव्य जारी गर्दै पहिचानको आधारमा पुन: प्रदेशको नामाकरणका लागि प्रदेश १ मा जारी आन्दोलनलाई थप सशक्त बनाउन महासंघ सक्रिय रुपमा सहभागी हुने जनाउनु भएको छ ।
वक्तव्यमा भनिएको छ, “देशका सम्पूर्ण आदिवासी जनजातिहरुको मनोभावना विपरीत अरु प्रदेशहरुको नामाकरण गरेजस्तै १ नं. प्रदेशको सम्पूर्ण आदिवासी जनजातिहरुमा झन् आकोश बढेको छ र १ नं. प्रदेशका मुख्यमन्त्री र माकेका सांसदहरुमाथि आक्रमण भएको छ । हाम्रो महासंघ यसलाई सरकार, सांसदहरुको गैरजिम्मेवारी गतिविधिको स्वभाविक परिणामको रुपमा लिन्छ ।”

वक्तव्यमा गत फागुन १७ गते १ नं. प्रदेश सभाले प्रदेशको नामाकरण त्यहाँका आदिवासी जनजातिको मनोभावना विपरीत माके, कांग्रेस, एमाले र राप्रपाको मिलोमतोमा कोशी भनेर गरेको उल्लेख गरिएको छ ।