जुन साँझ घर पस्न
मलाई अबेर हुन्छ
आतुरिएका मेरा कदमहरूभन्दा डराइरहेको मेरो मन
अघि नै घर पुगिसकेको हुन्छ ।
सधैँ यही हातले
खोलिएपछि सुरक्षित अँगालोले
स्वागत गर्ने
मेरो ब्रह्माण्डको दैलोले
यतिखेर
त्रस्त स्वरमा
कानमा खुसुक्क भन्छ-
“किन अबेर गरिस् हँ”
कति ठूलो अपराध गरिस्
किनकि दैलोले राम्ररी जान्दछ
मैले यसरी अपराध गर्ने हुँदैन ।
परिचित जो छ
मेरा अपराधहरू
र
मैले भोग्नपर्ने दण्डहरूसित
जसलाई यसले सीमित राख्ने गरेको छ
आफूमा तालाचाबी लगाएर ।
मलाई नदेखेर होला
चारै कोठाका बत्तीका गुलुपहरू
सधैँ भन्दा अँध्यारो अनुहार लाएर
बलिरहेका हुन्छन्,
भान्साकोठाको बत्तीले त झनै
आँखै उघारेको हुँदैन ।
जुन साँझ घर पस्न
मलाई अबेर हुन्छ
जुठा भाँडाहरू
टेबलदेखि लिएर जुठेल्नासम्म
लबस्तर लडिरहेका हुन्छन् ।
अघि दिनभरि घामले
लाड़े पल्टाइराखेका लुगाहरू
बाहिर तारभरि ठुस्किरहेका हुन्छन् ।
बिहान इष्टदेवलाई पुकारेर जलाएको दियो
निभिसकेको हुन्छ ।
म आत्तिँदै ती सबैलाई सम्हाल्न थाल्छु
थाह छ मलाई
यो आत्तिएको ज्यानले कहिल्यै
तातो चिया पाउँदैन ।
त्यसैले एक गिलास चिसो पानी पिउँछु
र ठुस्केर बसेका
सबै देवीदेउरालीलाई
मानमनितो गर्छु
दर्जाअनुसारको पाती चढ़ाउँछु ।
यो पनि थाह छ मलाई
मेरो पाती सबैले स्विकार्दैनन्
अपराध जो गरेकी छु ।
यतिखेर म अपराधीको भाग
सहर्ष स्वीकार गरिरहेकी हुन्छु ।
यतिखेर म र मेरो माझमा
सिमाना कोरिएको हुन्छ ।
मुस्कानमा सिमाना
भान्सामा सिमाना
र ओछ्यानमा सिमाना ।
म सिमानापारि सिरानीमा ढल्केर
भोलि बिहानको भान्सा सूची
मनमनै तयार गरिरहेकी हुन्छु ।
जुन साँझ घर पस्न
मलाई अबेर हुन्छ
आतुरिएका मेरा कदमहरूभन्दा
डराइरहेको मेरो मन
अघि नै घर पुगिसकेको हुन्छ ।





























