गाईघाट क्लब सेमिफाइनलमा

गाईघाट क्लब सेमिफाइनलमा

चैत्र १, २०७९

विराटनगर — गाईघाट फुटबल क्लबले मंगलबार वीरगन्ज युनाइटेड क्लबलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल तय गरेको छ । गाईघाटले अब बिहीबार दोस्रो सेमिफाइनलमा साबिक विजेता प्रतिभा फुटबल क्लब सिरहासँग प्रतिस्पर्धा गर्नेछ ।
विराटनगर जुट मिलको मैदानमा टाइब्रेकरमा गाईघाटका देवीराज चौधरी, रोशन भुजेल, प्रविण राई र मनीष कटुवालको प्रहार गोलमा परिणत भयो ।

वीरगन्जका निसाद थापा र विश्वास थापाको पेनाल्टी गोलमा परिणत हुँदा कृपा चौधरी र श्याम चौधरीको प्रहार गाईघाटका गोलकिपर निमछिरिङ शेर्पाले बचाएर टिमको सेमिफाइनल यात्रा गराए । उनै गोलरक्षक म्यान अफ द म्याच भए । निर्धारित समयमा दुवै टिमबाट गोलरहित भएको थियो ।
खेल अवधिभर दर्जन बढी अवसर चुकाउँदा वीरगन्ज आफ्नो पहिलो खेलबाटै घर फर्कनुपर्यो । पहिलो हाफसम्म एकपक्षीय खेल पस्केको वीरगन्जका लागि १३ औं मिनेटमा विवेक चौधरीले २५ यार्डबाट टाढाबाट गरेको सशक्त प्रहार बारमा लागेर फर्कनु दुर्भाग्यपूर्ण साबित भयो ।

पहिलो हाफको दुई मिनेट इन्ज्युरी समयमा कृपा चौधरीले वान भर्सेस वानको अवस्थामा लगातार अवसर गुमाउँदा वीरगन्ज निराश बन्नुपर्यो । ४१ औं मिनेटमा गाईघाटका तीर्थ राईले बक्सभित्रबाट गरेको प्रहार बाहिरियो । ५१ औं मिनेटमा वीरगन्जका अमर डंगोल र ५४ औं मिनेटमा विवेक चौधरीको उत्कृष्ट प्रहार बाहिरिएपछि वीरगन्ज हार बेहोर्न बाध्य भयो ।
५५ औं मिनेटमा गाईघाटका देवराज चौधरीले बक्सभित्रबाट गरेको प्रहार बाहिरिँदा खेल टाइब्रेकरमा पुगेको थियो । बुधबार पहिलो सेमिफाइनल धुव्रतारा स्पोर्टिङ क्लब झापा र सहलेस युवा क्लब सिरहाबीच हुनेछ ।