काठमाडौँ । अमेरिकामा दिन दिनै आर्थिक संकट चुलिदै गएको छ । अमेरिकाको ठूलोमध्येको एक सिलिकन भ्याली बैंकलाई नियामक निकायले बन्द गरिदिएका छन् । यसलाई सन् २००८ को मन्दीपछि अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको ठूलो संकटका रूपमा समेत हेरिएको छ । सन् २००८ मा वासिंटन म्युचअल टाट पल्टिएको घटनापछि यो सबैभन्दा ठूलो संकट भएको बताइएको छ ।
बैंकले गत बुधबार घाटा पूर्तिका लागि ठूलो हिस्सामा शेयर बेचेको र करिब २.२५ बिलियन बराबरको नयाँ शेयर बेच्ने घोषणा गरेको थियो । बैंकको उक्त घोषणापछि ठूला शेयरहोल्डर र वचतकर्ताले आफ्नो लगानी र वचत फिर्ता लिन सुरु गरेका थिए । त्यसपछि क्यालिफोर्नियामा मुख्यालय रहेको बैंक संकटापन्न अवस्थामा पुगेको नियामक निकायको भनाइ छ । नियामक निकायले सबै वचतकर्ताको पैसा सुरक्षित भएको बताएको छ । फेडेरल डिपोजिट इन्स्योरेन्स कोर्पोरेसन (एफडीआईसी) ले करिब १७५ बिलियन डलर बैंकमा डिपोजिट रहेको जनाएको छ ।
३१ डिसेम्बर २०२२ सम्म बैंकको कुल सम्पत्ति २०९ बिलियन डलर बराबरको भएको बताइएको छ । एफडीआईसीका अनुसार क्यालिफोर्निया र म्यासाचुसेट्समा गरी बैंकका १७ शाखा रहेका छन् । सिलिकन भ्याली बैंकले मुख्यगरी प्रविधिकेन्द्रित स्टार्टअप व्यवसायमा लगानी गर्दै आएको थियो । बिहीबार मात्र सिलिकन भ्याली बैंकको प्यारेन्ट कम्पनी एसभीबी फाइनान्सियल ग्रुपको शेयरमा ७० प्रतिशतसम्म गिरावट आएको थियो ।
सिलिकन भ्याली बैंक टाट पल्टिनुको आंशिक कारण संघीय रिजर्भ बैंकले गत वर्ष ब्याजदर वृद्धि गर्नु पनि भएको सीएनएनले जनाएको छ । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले पछिल्लो घटनाक्रमलाई सावधानीपूर्वक हेरिरहेको बताएकी छिन् । उनले नियामक निकायका उच्च अधिकारीलाई भेटेर वित्तीय क्षेत्रको यथावत सञ्चालनका लागि आवश्यक कदम चाल्न पनि निर्देशन दिएकी छिन् ।
सन् १९८३ मा क्यालिफोर्निया बैंकका रूपमा स्थापना भएको सिलिकन भ्याली बैंक पछिल्लो १ दशकमा तीव्र विस्तार भएको हो । यस बैंकका विश्वका विभिन्न देशमा गरी करिब ८ हजार ५ सय कर्मचारी रहेका छन् । सिलिकनमा देखिएको संकट वैश्विक अर्थतन्त्रमा समेत पर्ने सम्भावना रहेको अर्थशास्त्रीहरूको भनाइ छ । उक्त बैंक यस वर्ष बन्द भएको पहिलो एफडीआईसीले सुरक्षण(बिमा) गरेको पहिलो संस्थान हो । साढे २ वर्षअघि अल्मेना स्टेट बैंक बन्द भएको थियो ।
विश्व बैंकको पछिल्लो प्रक्षेपण प्रतिवेदनले समेत सन् २०२३ देखि विश्वका अधिकांश मुलुकमा आर्थिक मन्दी लम्बिने उल्लेख गरेको छ । प्रतिवेदनले विश्वको आर्थिक वृद्धि सन् २०२३ मा १.७ प्रतिशतमा रहने अनुमान गरेको छ ।
विश्वमा विद्यमान मुद्रास्फिति, बढ्दो ब्याजदर र निजी क्षेत्र तथा सर्वसाधारणमा गरिएको लगानी घट्नुले विश्व लामो समय आर्थिक मन्दीमा रहने बैंकको अनुमान छ । कोभिडको असर तथा रुस र युक्रेनबीचको तनावले मुद्रास्फिति बढेको प्रतिवेदनमा उल्लेख छ । ब्याजदर उच्च हुनु र नागरिकप्रति लगानीमा आएको संकुचनले आर्थिक मन्दीलाई बढाउने बैंकको प्रक्षेपण छ ।
यसैबीच, फेसबुक सञ्चालन गर्ने मेता कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले १० हजारबढी कर्मचारी कटौतीको सन्देश दिएका छन् । गत नोभेम्बरपछि मेता कम्पनीले कर्मचारी कटौती गर्न लागेको यो दोस्रो पटक हो ।
जुकरबर्गले सन् २०२३ लाई ‘सक्षम वर्ष’ को घोषणा गर्दैै दिएको उक्त सन्देश फेसबुकलगायत विभिन्न इकाइमा काम गर्ने कर्मचारीमा लागु हुने बताइएको छ । मेता कम्पनीले १३ प्रतिशत कर्मचारी कटौती गर्न लागेको हो ।
कर्मचारी कटौती गर्नुपरेको कारण कोभिड महामारीलगायत विविध कारणले रहेको बताइएको छ ।
त्यस्तै अन्य ठूला भनिएका कम्पनीहरुले पनि भारी मात्रामा धमाधम कर्मचारी कटौती गरिरहेका छन् ।