काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शनद्वार लिखित पुस्तक दर्शनको इतिहास परिचर्चा कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सिपी गजुरेलले देशको अस्तित्व बचाइराख्ने हो भने सबै सच्चा देशभक्त, क्रान्तिकारी वामपन्थी शक्तिहरूले सके एउटै पार्टी बनाउनु पर्ने, त्यो नसके एउटा मोर्चा बनाउनु पर्ने आखीर त्यो पनि नभए कार्यगत एकता गरेर भए पनि देश बचाउन लाग्नु पर्ने बताउनु भयो । उहाँले केही घटना घटाएर भयावह स्थिति पैदा गरिदिएर सरकार फेर बदल गर्न सकिने रहेछ, किन राजनीतिक दल र सङ्गठन चाहियो र किन जेल बस्न पर्यो ? अनावश्यक सास्ती भोगेर किन दुःख व्यहोर्न पर्यो ? भन्ने परिरहेको बेलामा क्रान्ति वा परिवर्तनका लागि दर्शन, विचार, दृष्टिकोण चाहिन्छ, त्यही अनुसारको पार्टी संगठन भएपछि मात्र आमुल परिवर्तन सम्भव हुन्छ भनेर स्थापित गर्न कामरेड सुदर्शनजीले यो पुस्तक पुनः प्रकाशन गर्नु भएको उल्लेख गर्दै लेखकलाई धन्यवाद दिनुभयो । उहाँले दर्शनलाई निकै कठीन र विरसिलो विषय जस्तो बनाएर जनताको जीवन व्यवहारबाट अलग्याएर जनताले बुझ्नै नसकिने चाहेर पनि जान्न सिक्न नै नसकिने विषय बन्दै आएको चर्चा गर्दै त्यो परिपाटीलाई यो पुस्तकले एक हदसम्म भत्काउन सक्ने बताउनु भयो । जनताबाट सिकेर जनतालाई दर्शन सिकाएर क्रान्तिलाई अगाडि बढाउन सकिने चर्चा गर्नुहुँदै उहाँले दर्शन अझ सरल तरिकाले जनताले बुझ्न सक्ने हुनुपर्ने बताउनु भयो।
परिचर्चा कार्यक्रममा आफ्नो धारणा राख्दै नेकपा एमालेका उपाध्यक्ष प्रदीकुमार ज्ञवालीले प्रस्तुत पुस्तक दर्शन बुझ्न चाहने सबैको लागि सन्दर्भ सामग्री बन्न सक्ने विश्वास राख्दै कुन उत्पादन प्रणाली अन्तर्गत कुन कुन दार्शनिकले के र कुन दर्शनको विकास गरे भन्ने तर्फ ध्यााकर्षण नपुगेको टिप्पणी गर्नुभयो । उहाँले आजको सन्दर्भ र समस्यासंग लेखकले जोड्न नसकेको जिकीर गर्नुभयो। मार्क्सवाद आजसम्मको विज्ञानले प्रमाणित गरेको दर्शन भएको बताउँदै प्राचीन वोन, शैव, किराँत, बौद्ध दर्शनले विकास गरेको विषयलाई पनि जनतामा पुर्याउन सक्नु पर्ने धारणा राख्नुभयो ।
अर्का परिचर्चाकार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य परी थापाले मान्छे आफैमा धेरै दुःख पाउने र व्यहोर्ने जाति भएकोले आज विश्वविद्यालयमा दर्शन पढ्ने विद्यार्थी जम्माजम्मी सात जना रहेको, त्यो पनि छात्रवृत्ति मार्फत पढ्न आएको स्मरण सुनाउनु भयो । उहाँले यो पुस्तक सूचना मूलक, जानकारी मूलक र उद्दरणमूलक रहेकोले आलोचना खेप्न वाध्य पनि रहेको औंल्याउँदै बधाई दिनु भयो।
त्यसैगरी नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलाले पुस्तक तीनहजार वर्षदेखिको इतिहासहरुको श्रृंखला जस्तो भएको चर्चा गर्दै उहाँले गौतम बुद्ध पनि शुन्यवादी नभएर द्वन्द्ववादी भएको दावी गर्नुभयो ।
त्यसैगरी अर्का परिचर्चाकार नेकपा मसालका नेता समिर सिंहले पुस्तकमाथि चर्चा गर्ने क्रममा बुँदागत रुपमा कतिपय छलफल गर्नु पर्ने, कतिपय सच्याउन पर्ने सुझाबहरु प्रस्तुत गर्नुभयो ।
त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पुस्तकमाथि परिचर्चा गर्दै स्कुलकाल देखिको सहपाठ्ठी भएको र वहाँ पहिलेदेदि नै दर्शनमा अभिरुची राख्ने स्वभाव भएको व्यक्ति भएको र आज उहाँको दर्शनसम्बन्धी पुस्तक आउनु खुशीको विषय बनेको बताउनु भयो । उहाँले कम्युनिस्ट आन्दोलनमा जीवन व्यवहारमा एकरूपता कायम हुनु पर्नेमा त्यसो हुन नसकेकोले समस्या पैदा भएको दावी गर्नुहुँदै कुन दर्शन सिद्धान्तको आधारमा कुन चाहिँ सही र सच्चा पार्टी हो भनेर छुट्याउनै गाह्रो भएको बताउनु भयो। नेपालमा वैचारिक बहस छेड्न जरुरी रहेको ठहर गर्दै मार्क्सवादी दर्शनलाई आदर्शवादमा रुमल्याउने वा जडसुत्रवादमा सीमित बनाउने दुवै प्रवृत्तिका विरुद्ध संघर्ष गरेर आम श्रमजीवी मजदूर किसानको हित रक्षा गर्न लाग्नुपर्ने बताउनु भयो ।
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव आहुतीले पठन संस्कृति ह्रास हुँदै गएको अवस्थामा दर्शन जस्तो जटिल विषयमा पुस्तक प्रकाशन गर्नु राम्रै काम भएको चर्चा गर्दै इतिहासलाई वर्तमानको भुगोलसंग घालघोल गरेर प्रस्तुत गर्न नहुने धारणा राख्नुभयो । प्रस्तुत पुस्तकमा धेरै ठाँउमा त्यस खालको कमजोरी रहेकोले सच्याउन पार्नेमा जोड दिनु हुँदै विभिन्न भौगोलिक क्षेत्रमा विकास भएको दर्शन समावेस गर्न छुटेको र नेपालको सन्दर्भमा विभिन्न समयमा थुप्रै व्यक्तित्वहरुले राम्रो भूमिका खेलेको व्यक्तित्वहरू योग माया, रूपचन्द्र, मुन्धुमको बारेमा खोज अध्ययन गरिरहेका साथीहरू पनि छुटेको बताउनु भयो ।
प्रा डा जगदीशचन्द्र भण्डारीले लेखक आफै वर्गसंघर्ष, जनसंघर्षमा नेतृत्त्व कै भूमिका बाट संलग्न भएर खारिएको व्यक्तित्व भएकोले यो पुस्तक आफैमा चर्चायोग्य रहेको बताउँदै दर्शन दुई ठाँउबाट विकास भएको दावी गर्नुभयो यूनान र हिमालयन प्रायद्वीप बाट । उहाँले भन्नुभयो, दर्शनको विकास श्रृङ्खला एकातिर वस्तुनिष्ट र आत्मनिष्ट आदर्शवाद हुँदै गाएको देखिन्छ भने अर्कोतिर प्राकृतिक भौतिकवाद हुँदै द्वन्द्वात्मक एतीहसिक भौतिकवादमा विकास भएको थियो। पश्चिमतिर आचार मीमांसा, तत्व मीमांसीय दृषटिकोण चरणबद्ध विकास भएको पाइन्छ तर पुर्वतिर ज्ञान मीमांसा, आत्ममीमांसाहरुको चरणवद्ध विकासको स्वरूप नै आजको उन्नत विकास रूप हो । तर विडम्बना आज पठन संस्कृति हराउँदै गाएको अवस्थामा पनि जानकारी मुलक पुस्तक ल्याउनु महत्वपूर्ण कुरा हो ।
अर्का परिचर्चाकार गोपीरमण उपाध्यायले दर्शनमा सरल भाषा प्रयोग गर्नुपर्ने बताउदै इतिहासको भौतिकवादी धारणा (मैले किन दुःख पाएँ ?), उत्पादन पद्वति (मान्छेद्वारा मान्छे कसरी शोषित हुन्छ ?) भनेर छर्लङ्ग देखाउन सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
भुँडी पुराण प्रकाशन गृहका केशब पराजुलीले हिजो एक समय एउटै थलाको दाल भात जस्तो भएर काम गरेकाहरू एउटै मन मस्तिष्क भएर एउटै लक्ष उद्देश्य प्राप्तिका अभियानका अभियन्ताहरू अब एकै ठाउमा हुनु पर्ने सुुझाव दिनुथियो।
पुस्तककार सुदर्शनले सबै परिचर्चाकारहरुको धारणा समेट्ने बताउँदै पुस्तकमाथिको परिचर्चाबाट आफूले धेरै कुरा सिकेको बताउनु हुँदै कतिपय कमीकमजोरी भएको पनि थाहा भएको बताउनु भयो । उहाँले यसलाई दर्शनको समग्र इतिहास नबुझिदिन अनुरोध गर्नुहुँदै माक्र्सवादी ऐतिहासिक भौतिकवादी दर्शनको इतिहासको रुपमा बुझिदिन पनि आग्रह गर्नुभयो ।
कार्यक्रमको आयोजना अखिल क्रान्तिकारी र क्रान्तिकारी युवा संघ नेपालले संयुक्तमा काठमाडौँ घट्टेकुलो स्थित संवाद ड्बलीमा आयोजना गरेको थियो ।
कार्यक्रममा आमन्त्रित अतिथिको रुपमा क्रन्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिती सदस्य त्रय रामसिंह श्रीस, हरिभक्त कंडेल, इन्द्रमोहन सिग्देल, दार्शनिक अध्येता विष्णु प्रभात लगायतको समेत उपस्थिति रहेको थियो।





























