काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेमसंघ (क्रान्तिकारी), नेकपा (बहुमत) निकट अखिल नेपाल महिला संगठन र नेकपा (मशाल) निकट अखिल नेपाल महिला संघले संयुक्त रुपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै छन् । उनीहरुले बुधबार रत्नपार्क शान्तिबाटिकामा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन लागेका हुन् ।
‘स्वाधीनता, समानता र जनगणतन्त्र प्राप्तिका लागि संघर्ष गरौं, ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भब्यताका साथ सफल पारौं’ भन्ने मूल नाराका साथ मनाउन लागिएको कार्यक्रममा पार्टी नेतृत्वहरुले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको अनेमसंघ (क्रान्तिकारी)की अध्यक्ष अम्बिका मुडभरीले जानकारी दिनुभयो ।
विश्वमा महिला त्यसमा पनि बिशेष गरेर श्रमजीबी महिलाहरूमाथिको निर्मम शोषण र अन्यका बिरूध्द खाशगरी श्रमजीबी महिलाका मुद्दामा केन्द्रित गर्दै अन्तर्राष्ट्रिय महिला दिवस मनाउने ऐतिहासिक महत्वको निर्णय १९१० मा कोपनहेगेनमा आयोजित समाजवादी महिलाहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा लिइएको थियो । त्यो निर्णय पछि पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा लाखौँ लाख महिलाहरुले सडकमा प्रदर्शन गरेका थिए । यो क्रममा अगाडि बढ्दै गएर छ बर्षपछि १९१७ मा पुग्दा रुसी महिलाहरुले युद्धको बिरोध गर्दै र रोटी र शान्तिको माग गर्दै चार दिनसम्म ठूलो हडताल गरेका थिए । त्यसपछि नै रुसका निरंकुश शासक जारले सत्ता छोड्नु परेको थियो । त्यसपछि बनेको रूसको अस्थाई सरकारले महिलाहरुलाई पनि मतदानको अधिकार दिएको थियो । त्यो सफल हडताल रुसी पात्रो अनुसार २३ फेब्रुअरी र अग्रेजी पात्रो अनुसार ८ मार्चमा परेको थियो । त्यसैले प्रत्येक वर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो । अर्थात, यसका पछाडि एउटा महिला मुक्तिको सन्दर्भ रहेको छ ।