क्रान्तिकारी माओवादीको बैठक सम्पन्न, पार्टी एकता टुंग्याउने म्याण्डेट स्थायी समितिलाई

क्रान्तिकारी माओवादीको बैठक सम्पन्न, पार्टी एकता टुंग्याउने म्याण्डेट स्थायी समितिलाई

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको पूर्ण बैठकले पार्टी एकताको लागि पार्टीको स्थायी समितिलाई म्याण्डेट दिएको छ । केन्द्रीय समितिको बैठकले नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल)बीचको जारी पार्टी एकताको प्रक्रियालाई टुंगोमा पर्‍याउन म्याण्डेट दिएको पार्टीको स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेल प्रतीकले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौंमा फागुन १९–२१ मा सम्पन्न बैठकले तीनवटा क्रान्तिकारी पार्टीबीच एकताको प्रक्रियालाई टुंग्याउन आवश्यक म्याण्डेट दिएको हो ।

उहाँले पार्टी एकताका लागि तीनवटै पार्टीले इमान्दार प्रयत्न गरिरहेकोले चाँडै एकता प्रक्रिया टुंगोमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । क्रान्तिकारी माओवादीको सिंगो केन्द्रीय समितिले पार्टी एकताको पक्षमा मत जाहेर गरेको पनि उहाँले जानकारी दिनुभयो ।

बैठकमा पार्टी महासचिव मोहन वैद्य किरणले चार पृष्ठको सक्षिप्त राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा अन्तर्राष्ट्रि/राष्ट्रिय परिस्थिति, पार्टी कामको समीक्षा र अगामी कामका विषयहरु समेटिएका छन् । बैठकले छलफल पश्चात प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । बैठक मूलत: पार्टी एकताको विषयमै केन्द्रित भएको थियो । बैठकले तीन पार्टीबीचमा मिलेका र नमिलेका सबै विषयहरुमा सहमति जुटाउँदै पार्टी एकतालाई अन्तिम रुप दिने अधिकार स्थायी समितिलाई दिएको हो ।

बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विकराल समस्याका विषयहरुलाई लिएर सडक संघर्षलाई संगठित गर्ने पनि निर्णय गरेको छ ।