काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको दबाबमा प्रहरीले भूमि अभियन्ता हुकुमबहादुर लामा र नारायण परिश्रमीलाई प्रहरीले पक्राउ गरेको छ । अभियन्ता हुकुमबहादुर लामालाई शंखमूलस्थित आफ्नै निवासबाटै साँझ गिरफ्तार गरेको लामाका छोरा मोती लामाले जानकारी दिए ।
प्राप्त जानकारी अनुसार सिभिल ड्रेसमा आएका प्रहरीहरुले निवासबाटै गिरफ्तार गरेर राष्ट्रिय सुुकुम्बासी पार्टीका अध्यक्ष समेत रहेका लामालाई जिल्ला प्रहरी कार्यालय टेकुमा राखिएको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले पनि लामा पक्राउ परेको पुष्टि गरे । उनले मंसिर १२ गते थापाथलीस्थित सुकुम्बासी बस्तीमा भएको घटनालाई लिएर काठमाडौं महानगरले दर्ता गराएको उजुरीको आधारमा पक्राउ गरिएको बताए ।
जिल्ला प्रहरी परिसर, काठमाडौंबाट हुकुमबहादुर लामाको नाममा जारी गरेको पक्राउ पुर्जीमा “काठमाडौं महानगरपालिकाको पत्र जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तपाई समेत भएको ज्यान मार्ने उद्योग गर्न नहुने समेत कसूर मुद्दामा तपाइएंको नाममा सम्मानित काठमाडौं जिल्ला अदालतबाट मिति २०७९/०८/१६ गते पक्राउ पुर्जी जारी भएको छ ।” प्रहरीका अनुसार प्र.स.नि. विक्रम लामाको नेतृत्वमा गएको टोलीले अभियन्ता लामालाई गिरफ्तार गरेको हो ।
त्यसैगरी, आजै अर्का भूमि अभियन्ता नारायण परिश्रमीलाई प्रहरीले पक्राउ गरी टेकु प्रहरी परिसरकै हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरका प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा विना स्थायी विकल्प थापाथलीस्थित सुकुम्बासी बस्तीमा जोडर लगाएर उठिबास लगाउन खोजेपछि सुकुम्बासीहरुले सशक्त प्रतिरोध गरेका थिए । प्रतिरोधका क्रममा महानगरका प्रहरी प्रमुख पाण्डेसहित तीन दर्जन बढी नगर प्रहरी घाइते भएका थिए । तीनवटा डोजर लिएर सुकुम्बासी बस्तीमा जोडर लगाउन पुगेका नगर प्रहरी र सुकुम्बासीहरुका बीच झडप भएको विषयलाई लिएर महानगरका मेयर साहले सुकुम्बासी आन्दोलनका नेताहरु तथा भूमि अभियन्ता हुकुमबहादुर लामा, नारायण परिश्रमी, अर्जुनजंग कुँवर र राजु तामाङका विरुद्ध मुद्दा दाहेर गरेका थिए ।
मेयर बालेन साह आफैले राष्ट्रिय भूमि आयोगसँग कार्यसहमतिका लागि हस्ताक्षर गरी लगत संकलनका लागि ३५ दिने सूचना समेत जारी गरिसकेको अवस्थामा सहमति, सहकार्य र समन्वयबाट समस्याको स्थायी समाधान खोज्ने भन्दा पनि जबर्जस्त उठिबास लगाउन खोजेपछि उपत्यकाका सुकुम्बासीहरुले निरन्तर रुपमा संघर्ष गर्दै आएका छन् ।
मेयर बालेनले सुकुम्बासीहरुका विरुद्ध प्रतिशोध साँध्ने हिसाबले निरन्तर राज्यलाई दबाब दिंदै सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको अगुवाई गर्ने नेताहरुलाई झुठा मुद्दा लगाएर पक्राउ गराएका छन् । यसको विरुद्धमा सुकुम्बासीहरुले तीव्र विरोध गर्दैै सशक्त कार्यक्रम गर्ने तयारी गरिरहेका छन् ।