फाल्गुन ३, २०७९
मकवानपुर — हिमालयन शेर्पा क्लब हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुगेको गरेको छ । हेटौंडा–५, पिप्लेक्याम्पा रंगशालामा भएको खेलमा वाग्मती युथ क्लब सर्लाहीलाई २–१ ले पराजित गर्दै हिमालयनले फ्रेन्ड्स क्लबसँगको भेट पक्का गरेको छ ।
हिमालयन विदेशी खेलाडी यमीले ३७ औं र निशान लिम्बूले ६४औं मिनेटमा गोल गरे । वाग्मतीका सनम धिमालले ६६ औं मिनेटमा एक गोल फर्काए । वाग्मतीले दुवै गोल डिफेन्डरको गल्तीमा बेहोरेको थियो । निशानले वाग्मतीका गोलरक्षक र डिफेन्डरबीचको तालमेल अभावमा सहजै गोल गरेका हुन् । गोल बचाउनेक्रममा गोलरक्षक अनिश महतो घाइते हुन पुगे ।
सनमले विपक्षी गोलरक्षक किशोर गिरीले फुत्काएको बल नियन्त्रणमा लिँदै गोल गरेका हुन् । वाग्मतीका विजय घलानले गरेको प्रहार गोलरक्षक गिरीले फुत्काएका थिए । खेलको म्यान अफ द म्याच शेर्पाका निशान लिम्बू भए । उनले १० हजार प्राप्त गरेका छन् ।
खेलमा दुवै टोलीले धेरै मौका नै सिर्जना गर्न सकेनन् । अधिकांश समयमा दुवैले मैदानको मध्यभागमै बल होल्ड गरेर खेले । हिमालयनको तुलनामा वाग्मतीका खेलाडी केही थकित समेत देखिन्थे । वाग्मतीका प्रशिक्षक सोनम लामाले दैनिक खेल भएका कारण खेलाडीले खेल्न नसकेको बताए । ‘हामी अहिले तीन प्रतियोगितामा भाग लिइरहेका छौं । दैनिक खेल भइरहेको छ । जसले गर्दा खेलाडीले खेल्न सकेनन्,’ उनले भने । उनले डिफेन्डरको भने प्रशंसा गरे । हिमालयनका व्यवस्थापक विजेन्द्र पुडासैनीले विपक्षी डिफेन्डर बलियो हुँदा खेलमा मौका सिर्जना गर्न नसकिएको बताए । ‘हाम्रा खेलाडीले खेल्नै सकेनन्, विशेषत: फरवार्डले । अर्को खेलमा हामी विदेशी खेलाडी थप्ने छौं,’ उनले भने । हिमालयनका कप्तान तथा फरवार्ड विश्वास श्रेष्ठले ए डिभिजनका लागि भर्खरै मात्र टिम बनाएका कारण समन्वय अभाव देखिएको बताए । ‘हामी टिम बनाउँदै छौं, अझै राम्रो हुन्छ,’ उनले थपे । बुधबार क्यामरुनी क्लब एभिनिएर एफसी र वीरगन्ज युथ एकेडेमीबीच खेल हुनेछ ।