
“व्यवहार,ज्ञान,फेरि व्यवहार र फेरि ज्ञान । यो क्रम अनन्त रुपले दोहोरियर रहन्छ र प्रत्येक आवृत्तिका साथै व्यवहार र ज्ञानको सारतत्व माथिल्लो स्तरमा पुग्दछ । यो नै सम्पूर्ण द्वन्द्वात्मक भौतिकवादी (माक्र्सवादी )ज्ञान–सिध्दान्त हो, र यो नै बोध र कार्यको एकता सम्बन्धि द्वन्द्वात्मक भौतिकवादी सिध्दान्त हो ।” – माओ त्सेतुङ, संकलित रचनाहरु, भाग – १,पृष्ठ २४६, सिर्जनशील प्रकाशन,मैतदेवी,काठमाडौं,दोस्रो संस्करण,२०५७ मंसिर,अनुवादक : कृष्णदास श्रेष्ठ ।
माक्र्सवादी(द्वन्द्वात्मक भौतिकवादी) ज्ञान–सिध्दान्त बृहत विषय हो । द्वन्द्वात्मक भौतिकवादी ज्ञान–सिध्दान्त दर्शन शास्त्रको मौलिक प्रश्नसित सम्बन्धित विषय हो । त्यसैले द्वन्द्वात्मक भौतिकवादी ज्ञान–सिध्दान्तका अनुसार सत्ता र चिन्तनका बीच द्वन्द्वात्मक एकता एकता हुन्छ । यहाँनिर हामीले बुन्ने कुरा के हो भने संसार अज्ञेय होइन ज्ञेय छ, मानिसको चेतनाले संसारलाई प्रतिबिम्बन गर्ने सामथर्््य राख्दछ । विश्वलाई त्यसको सारतत्व तथा नियममा बुझ्न र बदल्न सकिन्छ भन्नु नै माक्र्सवादी (द्वन्द्वात्मक भौतिकवादी ) ज्ञान – सिध्दान्तको मूल तत्त्व हो ।
(१) ज्ञानको श्रोत :
ज्ञानको श्रोत वस्तुगत जगत र सामाजिक व्यवहार हो । ज्ञानको श्रोत के हो ? ज्ञानको उत्पत्ति कसरी हुन्छ ? यी प्रश्नहरु ज्ञान सिध्दान्तको क्षेत्रमा प्राथमिक महत्त्वका छन् । यसबारे माक्र्सवाद–लेनिनवाद–माओवादको सिधा र स्पष्ट जवाफ छ – ज्ञानको श्रोत भौतिक विश्व हो,पदार्थ जगत हो र ज्ञानको उत्पत्ति मान्छेका उत्पादन सम्बन्धि गतिविधिहरुका बीचबाट हुन्छ । उत्पादनका लागि संघर्ष, वैज्ञानिक प्रयोग र वर्गसंघर्ष सम्बन्धि व्यवहारबाट ज्ञानको उत्पत्ति र विकास भएको हो ।
त्यसैले ज्ञानको प्रारम्भिक विन्दु मान्छेको सामाजिक व्यवहार हो । यस विषयमा कमरेड माओले भन्नुभएको छ,“ मान्छेले आफ्ना भौतिक आवश्यकताहरु पुरा गर्न उत्पादनमा लाग्दछन् । मानव ज्ञान विकसित हुने प्राथमिक श्रोत यही नै हो ।“– माओ त्सेतुङ,संकलित रचनाहरु,भाग १,पृष्ठ २६८, सिर्जनशील प्रकाशन, मैतिदेवी, काठमाडौं, २०५७ ।
द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्त भौतिक संसार र चेतना बीचको सम्बन्धको आधारभूत सवालको अर्को महत्त्वपूर्ण पक्षसित सम्बन्धित छ । आफू रहेको संसारलाई हामी जान्न सक्छौ कि सक्दैनौं ? के त्यो यथार्थको ठिक प्रतिबिम्ब हुन सक्छ ? के सत्ता र चिन्तनको मेल हुन सक्छ ? यी प्रश्नहरुको जवाफ पनि भौतिकवाद र आदर्शवादले एकदमै भिन्न भिन्न ढंगले दिएका छन् । यस विषयमा दार्शनिकहरु दुई खेमामा विभाजित छन् । यो संसार ज्ञेय छ , बुझ्न र जान्न सकिने मात्र होइन यसलाई बदल्न सकिन्छ भन्ने दार्शनिकहरु भौतिकवादी खेमामा खडा भएका छन् भने यो संसार अज्ञेय छ , यसलाई बुझ्न , जान्न र बदल्न सकिदैन भन्ने दार्शनिकहरु आदर्शवादी खेमामा खडा हुन पुगेका छन् । त्यसैले माक्र्सवादी ज्ञान– सिध्दान्त अज्ञेयवादका विरुद्ध परिलक्षित रहेको छ । माक्र्सवादी ज्ञान – सिध्दान्तले दुनियालाई बुझ्ने मात्र होइन यसलाई बदल्ने हो भन्ने कुरालाई ग्रहण गर्दछ ।
(२) व्यवहार नै ज्ञान प्राप्तिको पहिलो आधार :
द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्तका अनुसार प्रकृति र समाजलाई बदल्न मानिसले गर्ने सक्रिय क्रियाकलापलाई व्यवहार भनिन्छ । श्रम र भौतिक उत्पादन नै त्यसको आधार हो ।
सर्वप्रथम स्वयं ज्ञान नै व्यवहारको आधारमा र मुख्यतया भौतिक उत्पादनको प्रभावले गर्दा उत्पन्न भएको थियो भन्ने कुरा द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्तले प्रमाणित गरिदिएको छ । यस विषयमा कमरेड माओले व्याख्या गर्नुभएको छ ,“ व्यवहारद्वारा सत्य पत्ता लगाऊ र फेरि व्यवहारद्वारा सत्यको पारख गर र त्यसलाई विकसित गर । इन्द्रियग्राह्य ज्ञानबाट सुरु गर र सक्रियतापूर्वक त्यसलाई बुध्दिसंगत ज्ञानमा विकसित गर, अनि बुध्दिसंगत ज्ञानबाट सुरु गर र मनोगत तथा वस्तुगत दुबै संसारलाई फेर्नका लागि सक्रिय रुपले क्रान्तिकारी व्यवहारको पथप्रदर्शन गर । व्यवहार ज्ञान, फेर व्यवहार, फेरि ज्ञान । यो क्रम अनन्त रुपले दोहोरिन्छ र प्रत्येक आपृतिका साथसाथै व्यवहार र ज्ञानको सारतत्व माथिल्लो स्तरमा पुग्दछ । यो नै सम्पूर्ण द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्त हो र यो नै बोध र कार्यको एकता सम्बन्धि द्वन्द्वात्मक भौतिकवादी सिध्दान्त हो । “–माओ त्सेतुङ, संकलित रचना, भाग १, पृष्ठ २४६,उही ।
(३) ज्ञानको दुई छलाङ्को सिध्दान्त :
मानिसले कसरी प्रत्येक्ष रुपमा ज्ञान प्राप्त गर्न सक्छ त ? यो ज्यादै महत्त्वपूर्ण सवाल हो ।
मानिसको ज्ञान ज्ञानेन्द्रियहरु जस्तै – नाक , कान आँखा, मुख , छाला आदिद्वारा रप, रस,गन्ध, स्पर्श शब्द संवेदनाहरुको ज्ञानसितै सुरु हुन्छ । यसै प्रक्रियामा संसारलाई प्रत्येक्ष रुपमा देख्न, बुझ्न र जान्न सकिन्छ । यो नै इन्द्रिय ग्राह्य ज्ञान हो । यस प्रकारको ज्ञान मानिसको निम्ति अझै अधुरो हुन्छ । त्यसैले मानिसको ज्ञानले बुध्दिजन्य ज्ञानमा छलाङ हान्न जरुरी हुन्छ । संवेदना, संस्कार र प्रत्यक्षबाट प्राप्त ज्ञानलाई बुध्दिजन्य ज्ञानमा समृद्ध तुल्याउने काम हुन्छ । यसमा वस्तुहरुको समग्रता , सारतत्व र आन्तरिक सम्बन्धलाई संश्लेषित गरिन्छ । त्यसपछि यसै क्रममा मानिसमा धारणा, निर्णय, निष्कर्ष, नियम वा सिध्दान्तको जन्म हुन पुग्दछ । अनि फेरि यस प्रकारको बुध्दिजन्य ज्ञानले व्यवहारमा छलाङ् हान्नु पर्दछ ।
यस विषयमा कमरेड माओ अगाडि भन्नु हुन्छ , “ इन्द्रिय ग्राह्य ज्ञानबाट आरम्भ गर्नु र त्यसलाई गत्यात्मक रुपले बुध्दिसंगत ज्ञानमा विकसित गर्नु , त्यसपछि बुध्दिसंगत ज्ञानबाट आरम्भ गरेर गत्यात्मक रुपले क्रान्तिकारी व्यवहारको प्रदर्शन गर्नु, जसबाट कि आत्मगत र वस्तुगत संसारमा परिवर्तन ल्याउन सकियोस् ।व्यवहार, ज्ञान, फेरि व्यवहार , फेरि ज्ञान । यो क्रम अनन्त कालसम्म आवृति भइरन्छ र हरेक आवृतिको साथमा ज्ञानको अन्तर्वस्तु अरु बढी उच्चस्तरमा पुग्दै जान्छ । “माओ त्सुङ , संकलित रचनाहरु भाग १ पेज २६७ , सिर्जनशील प्रकाशन , मैतिदेवी, काठमाडौ , २०५७ । अत: व्यवहारबाट र सिध्दानणतबाट व्यवहार यही नै द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्तको दुई छलाङको सिध्दान्त हो ।
(४) सत्यको वस्तुनिष्ठता:
हामीले बुझ्ने कुरा के हो भने मानवीय ज्ञान सत्यको अन्तर्वस्तु वस्तुगत जगत हुन्छ ।हाम्रो ज्ञानको अन्तर्वस्तु विषयी अर्थात् मानिस होइन विषय अर्थात् वस्तुगत संसारमा आधारित हुन्छ । त्यसैले सत्य संधै आत्मनिष्ठ होइन वस्तुनिष्ठ हुन्छ । द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्तका अनुसार मानिसको आत्मा वा मन भन्दा बाहिर प्रकृति या वस्तुजगतको स्वतन्त्र अस्तित्व छ र त्यो मानिआत्मनमा प्रतिबिम्बित हुन्छ । यही नै सत्यको वस्तुनिष्ठता हो ।
(५) व्यवहार नै सत्यको कसौटी :
माक्र्सवादी दार्शनिकहरुले व्यवहारलाई नै सत्यको कसौटी हो भन्ने प्रमाण प्रस्तुत गरेका छन् । द्वन्द्वात्मक भौतिकवादमा सत्य भन्नाले वस्तु सम्बन्धि त्यो ज्ञानलाई बुझिन्छ , जसले त्यस वस्तुको सही प्रतिबिम्ब उतर्दछ र जुन त्यसको अनुरुप हुन्छ । यस विषयमा लेनिनले भन्नुभएको छ , “सत्य भनेको हाम्रो ज्ञानको यस्तो सार हो , जुन मानिसमा भर पर्दैन , मानव जातिमा भर पर्दैन । सत्यको सार तिनै वस्तुगत प्रक्रियाहरुको निरुपित गर्दछन् , जसलाई त्यसले प्रतिबिम्बित गरेको हुन्छ ।“ – लेनिन , संकलित रचना संग्रह , खण्ड १८ , पृष्ठ १३७ ।
सामाजिक व्यवहार मात्र सत्यको कसी बन्न सक्छ । ज्ञान सम्बन्धि द्वन्द्वात्मक – भौतिकवादी सिध्दान्तमा व्यवहारको दृष्टिकोण प्राथमिक र आधारभूत दृष्टिकोण हो ।
(६) ज्ञान सिध्दान्तको विधि :
ज्ञान सिध्दान्तको विधि अन्तर्गत विभिन्न विषय पर्दछन् :
पहिलो : कुनै पनि वस्तु वा प्रकृतिलाई ठीकसित बुझ्न , त्यसका नियम पत्ता लगाउन र त्यसको राम्रो निरक्षण व जाँचबुझ गर्नु पर्दछ । अनि त्यसलाई प्रयोगमा ल्याएर सिध्द गर्नु पर्छ । निरक्षण र प्रयोग परस्पर सम्बन्धित छन् ।
दोस्रो : ज्ञानको विधि निगमन र आगमनको द्वन्द्वात्मक सम्बन्धमा आधारित हुन्छ । निगमनलाई सामान्य र आगमनलाई विशेषका रुपमा बुझ्नुपर्छ । निगमन र आगमनको विधिले सिध्दान्त र व्यवहारको द्वनणद्ववादलाई प्रस्तुत गर्दछ ।।
तेस्रो : ज्ञान मूर्त र अमूर्तको द्वन्द्वात्मक विधिका रुपमा विकसित हुन्छ । चिन्तनको विकास कुनै ठोस वस्तुको मूर्त प्रत्यक्षबाट अमूर्त हुँदै मूर्तमा जाने प्रक्रियाका बीचबनट हुने गर्दछ ।
चौथो : ज्ञानको अर्को विधिको नाम ऐतिहासिक र तार्किक विधि हो । ऐतिहासिक विधिले कुनै पनि वस्तुको तथ्यांकगत विकास प्रक्रियाको तस्बिर प्रस्तुत गर्दछ । अनि तार्किक विधिले त्यस तस्बिरलाई बौद्धिक नियम सङ्गतिमा ढालिदिन्छ ।
पाँचौ : ज्ञान सिध्दान्तको एउटा महत्त्वपूर्ण विधिको नाम हो विश्लेषण र संश्लेषणको एकता हो । कुनै पनि वस्तुलाई अंश अंशमा केलाउनु , वर्गीकरण गर्नु , विविध ढंगका अन्तर्विरोधहरुलाई दर्शाउनु विश्लेषण हो । अंश अंशलाई समग्रमा ल्याउनु , वर्गीकउत वस्तुलाई एकीकृत गर्नु र विभिन्न अन्तर्विरोधहरुलाई समाधान तर्फको बाटो देखाउनु संश्लेषण हो । कुनै पनि क्रान्तिका विशेषताहरुको विवेचना गर्नु विश्लेषण हो भने त्यसको समाधान दिनु संश्लेषण हो ।
अत: समग्रमा भन्नु पर्दा माक्र्सवादी ( द्वन्द्वात्मक भौतिकवादी ) ज्ञान सिध्दान्त अन्तर्गत आत्मगत र वस्तुगत पक्ष , सिध्दान्त र व्यवहार तथा भनाइ र गराइका बीच द्वन्द्वात्मक एकता कायम गर्नु पर्ने कुरामा विशेष जोड दिइन्छ ।
(७) निष्कर्ष : हामी क्रान्तिकारी कम्युनिस्टहरूले माक्र्सवादका विविध पक्षहरुमा गहिरो ज्ञान प्राप्त गर्नका लागि माक्र्सवादी ज्ञान सिध्दान्तले महत्त्वपूर्ण मद्दत गर्दछ । किनभने ज्ञान प्राप्तिको सन्दर्भमा हामी कुन निष्कर्षमा पुग्दछौं भने हरेक वस्तुको विकास छिपछिपृबाट गहिराइतिर , सरलबाट जटिलतातिर , सानोबाट ठूलोतिर , सजिलोबनट अप्ठ्यारोको बाटोबाट मात्र अगाडि बढ्न सक्छ । यो नै माक्र्सवादी ज्ञान सिध्दान्तको प्रमुख आधार हो ।
त्यसैले हाम्रो क्रान्तिकारी जीवनमा माक्र्सवादी ज्ञान सिध्दमन्तको महत्त्वपूर्ण स्थान रहेको छ । किनभने माक्र्सवाद सर्वहारा वर्गको विश्वदृष्टिकोण हो । यसैका आधारमा मात्र हामी संसारलाई बुझ्न र बदल्न र वर्गविहिन , राज्यविहिन साम्यवादी मानव समाजको निर्माण गर्न सक्षम हुन्छौं । त्यसैले हामी माक्र्सवादी – लेनिनवादी – माओवादी क्रान्तिकारीहरुले माक्र्सवादलाई जीवनदर्शनको रुपमा आत्मशातिकरण गर्न जरुरी छ ।